धादिङका वोधराज पाठक इन्टेग्रिटी आइकन २०२४ मा छनोट

Avatar photo
Dhadingpost
मङ्लबार, माघ १, २०८१

धादिङ । एकाउन्टविलिटी ल्याब नेपालले सञ्चालन गर्दै आएको इन्टेग्रिटी आइकन नेपाल २०२४ मा धादिङका बोधराज पाठक सहित ५ जना छनोट भएका छन् ।

देशभरिबाट ३४९ वटा मनोनयन प्राप्त मध्य विभिन्न छनोट प्रक्रिया पूरा गरेर निर्णायक समितिले धादिङ बेनीघाट रोराङका स्थानीय शिक्षा अधिकारी समेत रहेका बोधराज पाठक सहित पाँच जना इन्टेग्रिटी आइकन छनोट गरेको हो ।

छनोट समितिले सार्वजनिक गरेको अभिलेख अनुसार धादिङका पाठक
एउटा मात्र होइन, सिंगो पालिकाभरिका ५९ वटै विद्यालयको गुणस्तर वृद्धि एक व्यक्तिको सोच र अग्रसरताले पनि सम्भव छ भन्ने उदाहरण हुन् बेनिघाट रोराङ गाउँपालिका, धादिङका शिक्षा अधिकृत बोधराज पाठक । यसका लागि उनले शैक्षिक गुणस्तर वृद्धि गर्न ८८ बुँदे मार्गचित्र तयार गरी लागू गरे l नजिकैका विद्यालयहरूले एक अर्काको अनुभव र अभ्यास सिक्न सकून् भनेर २०७७ सालमा “Leadership School” को अवधारणा ल्याएर लागू गरे । कुनै विद्यालयमा शिक्षकको अभाव हुँदा २४ घन्टाभित्रै सम्बन्धित विद्यालयमा शिक्षकको आपूर्ति गर्न “शिक्षक बैंक” को अवधारणा अघि सारेर लागू गरे। यसले गर्दा कुनै पनि विद्यालयमा शिक्षकको अभावले विद्यार्थीको पढाइ रोकिएको छैन । विद्यालयहरूमा सुशासन कायम गर्न र त्यहाँको अवस्था मापन गर्न ६७ वटा सूचक समावेश गरिएको विद्यालय स्वमूल्यांकन औजार निर्माण गरी लागू गरेका छन् । राम्रो नतिजा ल्याउने विद्यार्थी, शिक्षक र विद्यालयलाई प्रोत्साहन गर्न हरेक वर्ष शिक्षा दिवसको दिन पालिकाको तर्फबाट सम्मानको व्यवस्था गरिएको छ । एक अर्काको अभ्यास सिक्न, सिकाउन, र सहकार्यलाई बढावा दिन उनले “Teacher Exchange” कार्यक्रम पनि लागू गरेका छन् । यी सबै योजनाहरू ल्याउँदा र लागू गर्दा उनले सम्पूर्ण सरोकारवालाहरूलाई सहभागी गराएका छन् । यसले गर्दा सबैमा अपनत्वको भावना बढेको छ र हरेक अभ्यास कार्यान्वयन गर्न सहज भएको छ ।

पाठक संगै छनौट हुने अन्यमा
सर्मिला सुवेदी, जन स्वास्थ्य निरिक्षक, आधारभुत स्वास्थ्य सेवा केन्द्र, नेपालगन्ज – ११
मनपुरण चौधरी, शाखा अधिकृत, हात्ती प्रजनन तथा तालिम केन्द्र, चितवन राष्‍ट्रिय निकुञ्‍ज कार्यालय, चितवन
मीरा कुमारी यादव, प.हे. न. अधिकृत, जिल्ला स्वास्थ्य कार्यालय, पर्सा
मनहर कडरिया, वरिष्ठ कृषि विकास अधिकृत, पोखरा महानगरपालिका रहेका छन् ।