धादिङ अस्पतालले ल्यापारोस्कोपिक टावरको प्रयोग गरी सर्जरी सेवा प्रदान गर्ने

Avatar photo
Dhadingpost
बिहिबार, पुस ४, २०८१

धादिङ । धादिङ जिल्ला सिद्दलेक गाउँपालिका आरुबास टोल (साविक सलाङ गाउँ विकास समिति) मा जन्मिएका डा. कमल राज अर्यालको विशेष पहलमा धादिङ अस्पतालमा ल्याप्रोस्कोपी टावर मेसिन प्राप्त भएको भएको छ । करिब ८० लाख रुपैयाँ मूल्य पर्ने यो टावरको प्रयोग गरी शल्यक्रिया गर्दा बिरामीहरूको उपचार प्रक्रिया छोटो हुन गई छिटो आफ्नो काममा फर्किन सहज हुने कुरा धादिङ अस्पतालका नि. अस्पताल निर्देशक डा. गगन अधिकारीले बताए ।

परम्परागत शल्यक्रिया पद्धतिमा पेटमा ठूलो चिरा लगाएर शल्यक्रिया गर्दा निको हुन धेरै समय लाग्ने हुन्छ । तर, साना चिरा लगाएर की–होल सर्जरी गर्न सकिने हो भने बिरामी छिटो निको भई काममा फर्किन सक्छन् । त्यसको लागि यो ल्यापोरोस्कोपिक टावरको प्रयोग गरी शल्यक्रिया गर्नुपर्ने हुन्छ । यो महत्वपूर्ण मेसिन प्राप्त भएसँगै अब १ महिनाभित्र ल्यापारोस्कोपिक टावरको प्रयोग गरी धादिङ अस्पतालमा शल्यक्रिया शुरु हुने कुरा डा. गगन अधिकारीले बताए ।

हाल जेम्स पागेट विश्वविद्यालय अस्पतालमा कन्सल्टेंट सर्जनको रूपमा कार्यरत तथा पूर्वी इङ्गल्याण्ड विश्वविद्यालयको एसोसियेट प्रोफेसर र नेपालिज डक्टर्स एसोसिएसन युकेका पूर्व अध्यक्ष समेत डा. अर्यालले आफ्नो गृह जिल्लालाई यो सानो सहयोग गर्न पाउँदा खुसी महसुस भएको बताए ।

कोभिड माहामारीको समयमा पनि धादिङ अस्पताललाई दुई ओटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेका डा. अर्यालले यो महत्वपूर्ण टावर धादिङ अस्पताललाई उपलब्ध गराउन डा. जेरेमी वार्ड र हेल्थ एक्सचेन्ज नेपाल यूके संस्थाले सहजीकरण तथा व्यवस्थापन गरेको बताए ।

ल्यापारोस्कोपिक टावरको प्रयोग विभिन्न प्रकारका आधुनिक सर्जरीहरूमा गरिन्छ । यसको मुख्य उपयोगहरू निम्न छन्:

  • साना चिराहरूबाट सर्जरी (की–होल सर्जरी):
    परम्परागत रूपमा ठूलो चिरा लगाएर गरिने सर्जरीलाई यसले साना चिराहरूबाट गर्न सहयोग गर्छ ।
  • सटीक सर्जरी:
    यसले उच्च रिजोल्युसन भएको क्यामेराको मद्दतले सर्जरीको क्षेत्रलाई ठूलो रूपमा देखाउँछ, जसले सटीकता र प्रभावकारिता बढाउँछ ।
  • छिटो निको हुने समय:
    साना चिराहरूका कारण बिरामी छिटो निको हुन्छन्, कम पीडा हुन्छ, र अस्पतालमा बसाइको समय पनि छोटो हुन्छ ।
  • जाँच र उपचार:
    पेट, पाठेघर, पित्तथैली, आँपेंडिक्स, आन्द्रा, र अन्य अंगहरूको जाँच र उपचार गर्न यसलाई प्रयोग गरिन्छ ।
  • गाउँरग्रामीण क्षेत्रका बिरामीहरूको सहजता:
    ग्रामीण क्षेत्रमा काम गर्ने बिरामीहरूलाई छिटो सर्जरी र निको हुने सुविधा उपलब्ध गराउँछ, जसले उनीहरूलाई आफ्नो काममा छिटो फर्कन मद्दत गर्दछ ।
  • कम रगत बग्ने सर्जरी:
    यसले सर्जरी गर्दा कम रगत बग्ने बनाउँछ, जसले बिरामीको स्वास्थ्य सुधार गर्न सहयोग गर्छ ।

ल्यापारोस्कोपिक टावरको प्रयोगले ग्रामीण र दुर्गम क्षेत्रका अस्पतालहरूमा पनि गुणस्तरीय सर्जरी सेवा उपलब्ध गराउन र विरामीहरुलाई छिटो निको भई आफ्नो काममा फर्कन महत्त्वपूर्ण भूमिका खेल्दछ ।