धादिङ । नीलकण्ठ बह्मुखी क्याम्पसको गणित, स्वास्थ्य तथा साधारण शिक्षा विभागले नीलकण्ठ ८ स्थित देउराली चौतारामा आयोजना गरेको निशुल्क स्वास्थ्य परीक्षणमा १ सय २५ जना लाभान्वीत भएका छन् । स्वास्थ्य परीक्षणमा सहभागी ब्यक्तिहरुको सुगर, प्रेसर जाँच गर्नुका साथै B.M.I. (बडी मास्क इन्डेक्स) चेकजाँच गरी विशेषज्ञ डाक्टर मार्फत आवश्यक परामर्श दिइएको थियो ।
कार्यक्रममा धादिङ अस्पतालका विशेषज्ञ चिकित्सक डा. दिनेश रेग्मीको नेतृत्वमा स्वास्थ्यकर्मीहरु संगीता छत्कुली र सुजिता सिलवालले विरामीहरुको स्वास्थ्य परीक्षण गरेका थिए । स्वास्थ्यमा समस्या देखिएका ब्यक्तिहरुलाई थप उपचारको लागि धादिङ अस्पतालको ओपीडीमा सेवा लिन सुझाव समेत प्रदान गरिएको डाक्टर रेग्मीले बताए ।
क्याम्पस र समुदायको सम्वन्ध थप विस्तार गर्नको लागि समुदाय स्तरमा स्वास्थ्य परीक्षण कार्यक्रम राखिएको र यस्ताखाले स्वास्थ परीक्षण कार्यक्रम क्याम्पसको कार्यक्षेत्र भित्रका अन्य ठाउँहरुमा समेत आगामी दिनमा सञ्चालन गरिने नीलकण्ठ क्याम्पसको गणित स्वास्थ्य तथा साधारण शिक्षा विभागका प्रमुख हरि लंसालले बताए ।