गल्छीको किराञ्चोक रणकालिका मन्दिरमा किराँतकालिन संस्कृति प्रवर्द्धन गर्न आज बेलुका धार्मिक मेला

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक २९, २०८१

धादिङ । धादिङको गल्छी गाउँपालिका-४ मा रहेको किराञ्चोक रणकालिका मन्दिरमा संस्कृति प्रवर्द्धन गर्नका लागि आज बेलुका धार्मिक मेला लाग्ने भएको छ । धार्मिक दृष्टिकोणबाट ऐतिहासिक महत्व बोकेको यस मन्दिरको प्रचार प्रसारको लागि आज बेलुका बृहत मेला तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

२५ वर्षअघिसम्म किराञ्चोक, पीडा, बैरनीका स्थानीयले सो मन्दिरमा नियमित रुपमा हरेक घरबाट बत्ती बाल्ने, भाकल बत्ती र फूलको डोली ल्याइथ्यो । पछिल्लो समय यो चलन हराउँदै गएकाले पुर्नजागरण गर्न जात्रा आयोजना गरिएको मन्दिर संरक्षण समितिका अध्यक्षले शंकर भण्डारीले बताए ।

ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्व बोकेको रणकालिका मन्दिर किराँत कालमा स्थापना भएको विश्वास गरिन्छ । रणकालिका मन्दिरमा भाकल गरेमा आफूले सोचेको मागेको पूरा हुने जनविश्वास रहेको छ । पृथ्वीराजमार्गको मासटारबाट छ किलोमिटरमा दुरीमा रहेको रणकालिका मन्दिरमा यात्रायातको साधन सजिलै पुऱ्याउन सकिन्छ । पुरानो मन्दिर २०७२ को भूकम्प पछि पुर्ननिर्माण गरी थप व्यवस्थित र सुविधा सम्पन्न बनाइएको छ ।

धादिङ जिल्लाका विभिन्न भागका साथै चितवन, गोरखा, तनहुँ, कास्की, मकवानपुर, नवलपरासी, नुवाकोट, काठमाडौं, ललितपुर र देशका अन्य जिल्लाबाट पनि यो मन्दिरमा भाकल पूरा गर्न भक्तजन आउने गर्दछन् । विशेष तिथि र पर्वमा मात्रै नभइ मन्दिरमा पुजा गर्न टाढा टाढादेखि दिनहुँ मानिसहरु आउने गरेका छन् ।

किराँत चोकबाट अपभ्रंश हुँदै मन्दिरको नाम किराञ्चोक हुन पुगेको जानकारहरुको भनाइ छ । साविकको किरञ्चोक र बैरेनी गाविस तत्कालिन किराञ्चोकमा पर्थ्यो । यस भेगबाट बसाइ सरेर अन्यत्र गएकाहरुले अहिलेपनि जन्मथलो किराञ्चोक भन्ने गरेका छन् । यहाँबाट पनि किराञ्चोक र किराँत चोकको सम्बन्ध स्पष्ट हुन्छ । किराञ्चोक कालिकाका नाममा चर्चा कमाएको कालिका देवताको नाम पछि रणकालिका बनाइयो ।

रणकालिका मन्दिर इष्ट देवीको रुपमा र दैवी शक्तिको रुपमा प्रख्यात रहेक छ । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको यस रणकालिका मन्दिर ३०० वर्ष अगाडि पृथ्वीनारायण शाहले नेपालको एकीकरणको अभियानमा सहभागी हुन जाँदा आशीर्वाद मागेर र युद्धमा सामेल हुँदा सफलता मिलेको किम्बदन्ती रहेको छ।

रणकालिका मन्दिरमा संस्थागत रुपमा आयोजना गरिएको पहिलो जात्रा हो । यसअघि भक्तजनले आफूखुसी तिथी मिलाएर आउने गरेका थिए । वार्षिक रुपमा २० हजारको हाराहारीमा पुजा हुने गरेको छ । यसलाई अझ व्यवस्थित र रोचक बनाउन जात्रा आयोजना गरेको अध्यक्ष भण्डारीले बताए । जात्रामा गल्छी र गजुरी गाँउपालिकासहित विभिन्न जिल्लाबाट नियमित, भाकलको बत्ती बाल्नका साथै पर्यटकको बाक्लो उपस्थित हुने छन् । समाचार स्रोत राजेन्द्र बस्नेत