धादिङ । धादिङबाट यो तिहारमा दुईपटक यूएईको दुबईमामा सयपत्री र मखमली फूलको माला निर्यात भएको छ । धादिङबेसीमा प्रकाश दुवाडीको संचालनमा रहेको प्रारम्भ एग्रो नर्सरीले दुई पटक गरेर सयपत्री र मखमली फूल दुबई निर्यात गरेको हो ।
हामीले मार्केट विस्तारको लागि अहिले उक्त फूल दुबई पठाएका हौं । माग भए अनुसार अर्को साल उत्पादन गरेर पठाउने तयारी स्वरुप अहिले १८ हजार माला पठाईएको हो उक्त माला दुबईमा अशाेक भट्ट राजकुमार लम्साले बजार व्यवस्थापनमा सघाउनु भएको प्रारम्भ एग्रोका संचालनक दुवाडीले बताए ।
विगतका वर्षहरुमा यस नर्सरीले उत्पादन गरेको फूलमाला देशभित्र मात्रै विक्रि हुने गरेकोमा यस वर्ष देखि विदेशमा समेत निर्यात सुरुवात गरेको संचालक दुवाडीले धादिङपोष्टलाई बताए । प्लाष्टिक जन्य फूलमाला हानिकारक हुने भएकोले सरकारले विक्रि वितरणमा रोक लगाएकोले अहिले बजारमा सयपत्री र मखमलीको उच्च माग भईरहेको उनी बताउँछन् ।
१५ रोपनी जग्गामा विभिन्न जातका फूलहरु खेती गरेका छौं । हामीले मात्रै हैन धेरै किसानहरुले सयपत्री र मखमली फूल उत्पादन गरेका छन् देशका विभिन्न बजारहरुमा फूलमाला पुगि सकेका छन् । यो वर्ष फूलमाला अभाव नहुने ठानेको छु उनले भने ।
धादिङबेसी पुछार बजारमा विरुवाहरु प्रदर्शनी तथा विक्रि गर्दै आएको प्रारम्भ एग्रो नर्सरीले विभिन्न जातका विरुवाहरु उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको छ ।