अन्तर्राष्ट्रिय धादिङ समाजको महाधिवेशन पछिको टिप्पणी

Avatar photo
Dhadingpost
बुधबार, अशोज २३, २०८१

भूकम्प र कोरोनाका समयमा बेसाहाराहरूको सहारा बनेर धादिङका गाउँ गाउँमा कुनाकुनामा चिनिएको संगठन अन्तर्राष्ट्रिय धादिङ समाज, जसको तेस्रो अन्तर्राष्ट्रिय महाधिवेशन आज धादिङबेसीमा सम्पन्न भयो । अन्तर्राष्ट्रिय धादिङ समाज तेस्रो अधिवेशन हुँदै गर्दा अलि परिपक्व भइसकेको जनमानसमा भिजिसकेको, सामाजिक विकासमा टेवा पुर्‍याइसकेको हिसाबले पनि अन्तर्राष्ट्रिय धादिङ समाजप्रति धादिङ जिल्लाले अपेक्षा गरेका धेरै कुराहरू छन् ।

संगठनको प्रकृति प्रवासीहरूको सदस्यता र नेतृत्व हुने भएकाले पनि यो अलि हतारो, अलि हतास, र अलि ढङ्ग नपुगेको हुनसक्छ तर पनि महाधिवेशनका सन्दर्भले संसारभर छरिएर रहेका धादिङहरूको प्रतिनिधिहरू उपस्थित भई आयोजना गरिएको अन्तर्राष्ट्रिय महाधिवेशन अर्थात् सम्मेलनले केही महत्वपूर्ण क्रियाकलापहरू गर्न छुटाएको अनुभव भएको छ । सन्दर्भ विशेषले अमेरिका क्यानडा अस्ट्रेलिया युरोप कतार दुबई लगायत देशहरूबाट विभिन्न क्षेत्रमा उल्लेख्य अनुभव हासिल गरेका साथीहरु उपस्थित भई सम्पन्न भएको उक्त कार्यक्रमले जिल्लामा ठूलै हलचल र आयामहरु थप्न सक्थ्यो । त्यो कमसल देखिएको अनुभूति भयो ।

आधा पनि नभरिएको हल, बेखबर सरकारी निकाय, अनिच्छुक राजनीतिक दलहरू, तिरस्कृत युवाहरू, प्रचारप्रसारका हिसाबले, मिडिया हाउसमा गरिने संवाद परिसंवादका हिसाबले, युवाहरूमा ल्याउनुपर्ने जागरण कार्यक्रमका हिसाबले, अग्रजहरूसँग बसेर आगामी कार्यदिशा र कार्यक्रम निर्धारण गर्ने हिसाबले, राजनीतिक दलका मुख्य नेताहरूसँग बसेर गर्नुपर्ने छलफलका हिसाबले, जिल्ला स्थित सरकारी कार्यालय तथा गैरसरकारी संघसंस्थाहरू मार्फत आगामी कार्यदिशा निर्धारणका हिसाबले संगठनले आफ्नो छुट्टै पहिचान निर्माण गर्न सक्थ्यो त्यसमा संगठन र संगठनको नेतृत्व चुक्यो ।

अन्तर्राष्ट्रिय सम्मेलन मार्फत महाधिवेशनका कार्यक्रममा मात्रै संकलन भएको रकम पनि एउटा विशेष उद्देश्यका लागि खर्च गर्ने गरी लगानी गर्ने गरी तय गर्न सकिन्थ्यो- त्यसमा पनि संगठन चुक्यो । त्यति मात्र होइन अन्तर्राष्ट्रिय क्षेत्रबाट चुनिएर जानुभएका प्रतिनिधिहरू संलग्न हुने उक्त कार्यक्रम भव्य तथा सभ्य रूपमा सञ्चालन गर्न आयोजक पक्षले यथोचित रुपमा जिल्लामा कार्यरत राजनीतिक दल संगठन संघ संस्था सरकारी कार्यालय युवा समग्र क्षेत्र जुरुक्कै उठाएर आफ्ना कार्यक्रमहरू भावी रणनैतिक योजनाहरू का सारा फेहरिस्त बुलन्द रुपमा राख्न सक्थ्यो, त्यसमा पनि संगठन चुक्यो ।

यसअघिको आलेखमा मैले जिल्लामा कार्यरत पत्रकार साथीहरू त्यसैगरी समाजसेवीहरु साहित्यकारहरु अब्बल विद्यार्थीहरु खेलाडीहरु लगायत लाई सम्मान गर्ने विषयको पनि कुरा उजागर गरेको थिएँ त्यो पनि एकाध (पत्रकारिता) बाहेक अब्बल स्तरमा अन्य भएको देखिएन, खेलाडीहरुको जिल्लाका रुपमा चित्रित हुँदै गरेको धादिङका एक जना खेलाडीलाई समेत अधिवेशनमा सम्झिएको देखिएन । त्यसमा पनि संगठन चुक्यो । अझै संगठनले भावी दिनहरूमा नेतृत्वहरूको विकास गर्दै लैजाने सन्दर्भले कार्यसमितिमा महिलाहरू, दलितहरू तथा पिछडा वर्गको सम्मानजनक सहभागिता बनाउन पनि संगठन चुक्यो ।

साथै कार्यसमिति बनाउँदै गर्दा पदाधिकारीभन्दा थोरै सदस्य सङ्ख्या निर्धारण गर्दा यसले भोलि भविष्यमा निर्णय प्रक्रियामा बहुमत अल्पमतको विषयमा समेत असर पर्ने गरी तय गरियो । यसमा मनोनितहरूको प्रतिशत झन्डै ४०% भन्दा बढी हुनु नकारात्मक पक्ष हो। आसन्न अधिवेशनका सन्दर्भले जोडिन चाहनुहुने नयाँ साथीहरू समेत जोड्न फुर्सद नपुग्ने साथीहरु नै नेतृत्वमा फेरि पनि चयन हुनुभएको छ। यसले भोलिको दिनमा संगठन निर्माणमा अर्थात् नयाँ सदस्यहरू थपेर लैजाने सन्दर्भले कति उचाइ लेला हेर्न बाँकी छ ।

भित्रभित्रै मन पोलेको र नलेखिनुहुने अर्को एउटा कुरा पनि छ । सन्दर्भ विशेषले अन्तर्राष्ट्रिय धादिङ समाजको यो अन्तर्राष्ट्रिय सम्मेलनमा सिंगो भूगोल युरोपबाट धेरै साथीहरु प्रतिनिधि भएर जानुभएको छ। हलमै पनि उपस्थित हुनुहुन्थ्यो । तर सिङ्गो युरोपको प्रतिनिधिसमेत कार्यसमितिको सदस्य समेत नरहदा अत्यन्त दुःख लागेको छ । अन्तर्राष्ट्रिय धादिङ समाजले वास्तवमै भन्ने हो भने सबै महादेशहरूबाट संयोजक स्वरूप काम गर्ने गरी उपाध्यक्षहरू तोक्नुपर्ने हो । नत्र भने यति धेरै उपाध्यक्ष किन चाहियो ? सिङ्गै युरोपलाई तिरस्कार गरी बनेको यो कार्यसमितिले कति स्वच्छ भई काम गर्न सक्ला कसरी सफल होला ? इतिहासले यो एकदिन पक्कै मूल्याङ्कन गर्नेछ ।

कार्यक्रम तडकभडकका साथ नगर्न खोजेको भन्ने हो भने पनि जिल्लाकै ठूलो रिसोर्ट सभ्य रिसोर्टमा कार्यक्रम सम्पन्न भएको छ । फेरि पनि संगठनले उस्तै प्रकृतिको सांगठनिक प्रतिवेदन मार्फत भावी कार्यक्रमहरू तय गर्न सकेन भन्ने मलाई लाग्छ । यति ठूलो अन्तर्राष्ट्रिय सम्मेलनले धादिङ जिल्लामा अन्तर्राष्ट्रिय महाधिवेशनको घोषणापत्र जारी गर्न सकेन । यो अर्को विषयमा संगठन चुक्यो । तथापि पेश गरिएको भावी रणनैतिक कार्यक्रम सानो समूह छलफल गरिएको भए तापनि आगे दिनहरूमा यसले संगठनलाई चुस्त दुरुस्त राख्दै समग्र धादिङको सर्वाङ्गिण विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने अपेक्षा राख्न सकिन्छ ।

संगठनले आगे दिनहरूमा आयोजना गर्ने सबै कार्यक्रमहरूले गरिब दुःखी पिछडा वर्ग र पिछडिएको समाजलाई अग्रभागमा उठाई समग्र धादिङको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ र छुटेका जति पनि विषयहरु छन् ती सबै छुटेका विषयहरूप्रति गम्भीर रूपमा समीक्षा गरी योजना तर्जुमा गर्नेछ भन्ने विश्वास राख्दै कोर्स करेक्सन समेत गरेर अघि बढ्न यो अन्तर्राष्ट्रिय सम्मेलन कोसेढुङ्गा सावित हुनेछ। नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको हार्दिक शुभकामना !