द्वन्द्वपछि शिक्षामा के परिवर्तन आयो ?

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज ११, २०८१

दुर्गा सुवेदीज्यूले लेखेको पुस्तक विमान विद्रोह पढ्दै थिऍं । मन एक्कासि भावुक भयो । म लगातार यस्तो पढ्दै थिएँ । २०३१ असोज ४ गतेका दिन वि.पि. कोइरालाले नेपाली काङ्ग्रेसका नाममा अप्रजातान्त्रिक सरकार विरुद्ध सशस्त्र सङ्घर्षको घोषणा गर्नु भयो । कु गरेर आफूलाई सत्ताबाट हटाएको ठिक १४ वर्षपछि २०३१ पुष १ का दिन वि.पि. को निर्देशनमा काङ्ग्रेस कार्यकर्ताले ओखलढुङ्गा कब्जा गर्ने प्रयास गरेका थिए ।

युद्ध सफल पारेर ओखलढुङ्गालाई आधारका रुपमा प्रयोग गर्ने योजना थियो । तर त्यो योजना असफल भयो । राम-लक्ष्मण लगायत होनहार काङ्ग्रेस कार्यकर्ता मारिए । त्यो काण्ड हुँदा म दिल्लीमा थिएँ । त्यो साँझ कोठामा फर्किएर खाना पनि खाइन । सुत्न पनि सकिन । राम-लक्ष्मण संग मेरो आत्मीय सम्बन्ध थियो । मलाई उनीहरु आफ्नो दाजु ठान्थे । जुम्ल्याहा राम-लक्ष्मण प्रत्युत्पन्नमति भएका प्रखर वक्ता थिए ।

सशस्त्र जनसङ्घर्षप्रति आकर्षण पनि नभएका र शस्त्रको तालिम नलिएका राम लक्ष्मणलाई समेत ओखलढुङ्गा आक्रमणमा पठाइएकोमा मेरो मनमा थुप्रै प्रश्नहरू थिए, आक्रोश थियो । माघ महिनाको जाडोमा मैले बि.पि. लाई भेट्ने अवसर पाएँ । हेर ! धेरै साथीहरू मारिए, ठूलो धोका भयो, उहाँले भन्नुभयो । मैले राम-लक्ष्मण मारिएको सन्दर्भमा मनमा बिझेका कुरा उठाऍं । राम लक्ष्मणले सैनिकका तालिम लिएका थिएनन् । शाही सेनासँग भिइन्त गर्नका लागी चाहिने गोली गठ्ठा बोक्न सक्ने ज्यान पनि थिएन । कसरी त्यस हालतमा सामेल हुन पुगे ? वि.पि.ले सङ्क्षिप्त जवाफ दिनुभयो “उनीहरु आफैं जिद्दी गरेका हुन्” । मैले भनेँ, सुजाता, शशाङ्क, शेखरहरू सबै यही पढ्दै छन् । राम-लक्ष्मण मारिए । मलाई साह्रै नराम्रो लाग्यो । वि.पि. ले भन्नु भयो, “क्रान्तिमा यस्तो हुन्छ ।” मलाई झनक्क रिस उठ्यो । मैले भनेँ “त्यसो भए गिरिजा, सुशील र तपाइका सन्तान नजाने, हामी चाहिँ मर्नु पर्ने ?”

त्यसपछि मैले देशभित्रका साथीहरूलाई सम्झेर हाम्रो भविष्य र राम-लक्ष्मणको आत्मोत्सर्ग वारे चिन्ता व्यक्त गर्दै पत्राचार गर्न थालेँ । ती पत्रहरुमा मैले ओखलढुङ्गा हमलामा जिम्मेवार राजनैतिक नेतृत्वलाई सामेल नगराई गरिब जनताका सन्तानको जीवनसँग खेलवाड भएको, कोइराला सन्तान र अरु नेताहरुलाई किन नपठाइएको ? राम-लक्ष्मणलाई किन पठाइयो ? भन्ने सवाल पनि मैले चिठीमा उठाएको थिएँ ।

त्यसको केही दिनपछि वि.पि.लाई भेट्न जाँदा उहाँले मलाई भेट्न चाहनु भएन । त्यो नेपालका साथीहरूलाई लेखेका पत्र गिरिजाबाबु हुंदै वि.पि.कोमा पुगेछ । केही दिनपछि मलाई फेरि बोलाइयो । म कोठामा छिरेँ । उहाँले “आऊ” भन्नुभयो । “बस” भन्नु भएन । उहाँको हातमा एउटा कागज थियो । त्यो कागज देखाउँदै सोध्नुभयो “यो तिमीले लिखेको चिठी हो ?” मैले हेरेँ । त्यो मैले नेपालको कुनै साथीलाई पठाएको चिठी थियो । मैले हो भनेँ । “यस्तो पनि लेख्ने हो ?” वि.पि. निकै रिसाउनु भयो ।”जे सत्य हो, त्यही लेखेको हुँ”, मैले भनेँ । वि.पि.को रिस झन् वढ्यो । उहाँ झन् रातो हुनुभयो । जुरुक्क उठ्नुभयो र मेरो नजिक आएर ” यसरी पनि क्रान्ति हुन्छ ? यस्तो पनि लेख्ने हो ?” भन्दै मेरो गालामा दुई थप्पड हान्नु भयो । मलाई साह्रै नराम्रो लाग्यो । मेरा आँखा भरि आँसु आए । आफूले जसका लागि भनेर सवै चिज छोडेर हिँडियो । ज्यानकै वाजी लगाएर जहाज अपहरण गरियो । प्रवासमा यत्रो दुःख भोगेर हिंडिएको थियो । त्यही नेताले थप्पड लगाउंदा मन खिन्न भयो । एकदम दुःखी भएर मैले भनेँ “मैले मेरो घर परिवार सबै छोडेर तपाईंलाई नेता र अभिभावक मानेर हिडेँको छु । अव म तपाईको पार्टीमा रहन्न ।उहाँले “जाऊ” भन्नुभयो । अरु केही भन्नुभएन ।

भाग १
“सर माफ गर्नुहोला, हामी हजुरको कक्षामा १० मिनेट पसेर केही भन्न चाहन्छौ । एकछिन हामीलाई कक्षा लिनदिनुपर्यो ” एक्कासि मेरो अगाडि उभिएका ३ जना विद्यार्थी जस्ता देखिने त्यस्तै २० /२१ वर्षका युवाहरूले बोलेको आवाज आएतिर हेर्दै मैले भने “हुन्छ, एसएलसी परीक्षा आउन लागेको छ, धेरै बेर नलिनुहोला है , कोर्स सक्नुछ । म यहीँ बसिरहन्छु ।” २०६० सालको माघ फाल्गुन तिर होला कक्षा १० को विज्ञान पढाउन कक्षा कोठामा पस्न खोज्दा मलाई रोक्दै अनुरोध गरिरहेका मानिसहरूलाई भन्दै थिएँ । उनीहरु कक्षाभित्र पसे । कक्षा १० मा ५० जना विद्यार्थीहरू थिए । उनीहरूले विद्यार्थीहरूलाई के भने, कसरी बोले, ढोका बन्द गरेर बोल्न थाले । त्यो पिरिएड सकियो, दोश्रो पिरिएड सिद्धियो, तेश्रो पिरिएड सकिएर म चौथो पिरिएड खाली भएकोले चौरमा रहेको बेञ्चमा बसिरहेको थिएँ । उनीहरूले बल्ल कक्षा सकेर बाहिर निस्किए । तिनीहरूसँगै१० /११ जना विद्यार्थीहरू पनि यो बुर्जुवा शिक्षा चाहिदैन, हामीलाई वैज्ञानिक शिक्षा चाहिन्छ, माओवादी जिन्दावाद भन्दै हात उठाएर मुठी कस्दै कक्षाबाट बाहिर निस्किए । उनीहरूसँग भएका किताब कापीहरू मेरै अगाडि भुईँमा फालेर हिँडे ।

एकछिन पछि कक्षाका अरु विद्यार्थीहरू लगलग काम्दै डराउदै हामी शिक्षकहरू भएको ठाउँमा आए । के भने नेताहरूले कक्षामा बसेर भनी सोध्दा विद्यार्थीहरू सबैले एकै स्वरमा भन्न थाले ।”तपाईँहरूपढेर आफ्नै जीवन बदल्न चाहनुहुन्छ । त्यसपछि समाज बदल्न चाहनुहुन्छ । अनि सरल र खुशी जीवन बाँच्न चाहनुहुन्छ । तर यो कुरा पढेर मात्र हुँदैन । पढेका जनशक्तिलाई उपयुक्त अवसर दिने राज्य व्यवस्था हुनुपर्छ । जनताप्रति उत्तरदायी सरकार चाहिन्छ । तर हाम्रो राज्यसत्ता सामन्ती प्रवृत्तिको छ । हाम्रो गाउँठाउँमा, हाम्रो जिल्लामा पनि शोषक सामन्तहरू छन् । यसले गरिबको सपनालाई फुल्न दिदैँन । समृद्ध हुन दिँदैन । गरिबको छोराछोरीलाई चुसेर आफूचाहिँ सुखसयल भोग्न चाहन्छन् ।

हामी परिवर्तनको महान उद्देश्य लिएर अघि बढेका छौँ । परिवर्तनको लागि क्रान्ति गर्नु जरुरी छ । विद्रोह गर्नु जरुरी छ । हाम्रो यो महान उद्देश्यको वारेमा तपाईहरुले पनि सोच्नुहोस् अनि सहकार्यको लागि पाइला वढाउनुहोस् । किनभने बुर्जुवा शिक्षाले देश बदलिंदैन । यदि बदलिन्छ भन्ने सोच्नुभएको छ भने यो भ्रम हो । यसले तपाईलाई सक्षम होइन, दास मात्र बनाउछ । त्यसैले अब विद्रोहको विकल्प छैन । यो विद्रोह, यो क्रान्ति तपाईहरुको लागि मात्र होइन, सिङ्गो भावी पुस्ताको लागि, संसारका श्रमजीवीहरुको हितको लागि हो । त्यसैले हामी मिलेर यो युद्ध लड्नु छ, देश बदल्नु छ, संसार बदल्नु छ । ” भनेर कक्षामा साढे दुई घण्टा प्रशिक्षण दिएछन् ।

SLC आउन लागेको बेला, त्यो घनघोटी वञ्चरो गर्नुपर्ने समयमा यी विद्यार्थी भाइबहिनीहरु जसलाई मैले कक्षा ७ देखि नै पढाएको थिएँ, आज २ घण्टाको प्रशिक्षण र बहकावमा किन यस्तो निर्णय गरे होलान् ? त्यत्तिका वर्षसम्म पढाउँदा पनि हामीले शिक्षाको महत्व, शिक्षित हुँदाका प्रभाव किन बुझाउने प्रयास गरिएन । शिक्षाले मानिसको जीवनमा पार्ने सकारात्मक असरको चर्चा किन गर्न सकिएन भन्ने प्रश्न मेरो मनमा उब्जन थाल्यो । एक किसिमले मन अमिलो भयो । यहाँका स्थानीय सरहरु भन्नु हुन्थ्यो- यिनीहरु त १६/१७ वर्षका युवाहरु जनयुद्धमा हिँड्नु स्वभाविकै हो तर ४/५ कक्षामा पढ्ने १० /११ बर्षका केटाकेटीहरु पनि हिंडेंका छन । १० /११ बर्षका बालकहरुमा क्रान्तिको रहर कसरी जाग्यो होला ? उनीहरू क्रान्तिप्रति कसरी मोहित भए होलान् ? उनीहरूले के बुझेका होलान् ? पछि सुनेँ ती मध्ये केही विद्यार्थीहरू अयोग्य लडाकु भनेर फालिएछन् । वालसैनिक भनेर फालिएका ४००८ जना मध्ये तिनीहरु पनि परेछन् । तीन बर्ष सम्म क्यान्टोनमेनमा राखेर अयोग्य ठहराइयो । मरे सहिद हुने, बाँचे संसार जित्ने उत्कृष्ट अभिलाषा लिएर युद्धमा लडाइयो ।

औपचारिक शिक्षाको डिग्रीलाई बुर्जुवा शिक्षा भनेर जनवादी विश्व-विद्यालयको डिग्री हासिल गर्नको लागि कापी कलम र स्कुले झोला मिल्काएर लडाई लडेकाहरु आज घरको न घाटको भएका छन् भन्ने सुनिन्छ । राम्रो जागिर खानको लागि उनीहरूसँग औपचारिक शिक्षाको सर्टिफिकेट छैन । व्यापार गर्नको लागि लगानी गर्ने रकम छैन । के गर्दै होलान् ती विद्यार्थीहरू । अहिले तिनीहरुको जीवन कसरी चलिरहेको होला । उनीहरुसँगै पढेका धेरै साथीहरु आर्मी, पुलिस, निजामति कर्मचारी, शिक्षक, वकिल, प्राध्यापक, ठूला ब्यापारी भएका छन् । कति जापान, जर्मन, अष्ट्रेलिया, अमेरिका गएर पढिरहेका छन् । उनीहरु के गरिरहेका होलान् । त्यसपछि उनीहरु कता गए होलान् ? के गरे होलान् ? उनीहरुको स्थिति अज्ञात रह्यो । केही महिनापछि त्यही मध्येका २/३ जना स्कुलमा आएर हामीलाई पार्टी चलाउन दशैं पेस्कीको ६०% रकम चाहिन्छ भनेर अड्डी कस्दै थिए ।हाम्रो विद्यालयमा यस अघि पनि बस्नेतजी भनेर चिनिने एकजना माओवादीको कमाण्डर आइरहन्थे । एक पटक आएर कक्षा ६ ,७ र ८ मा पढाइ हुने संस्कृत र नैतिक शिक्षाको किताब एक ठाउँमा जम्मा गरेर जलाएर भाषण गरेका थिए । “साथीहरु हामी यो पुरातनवादी सोचलाई त्याग्नुपर्छ । हामीलाई यो संस्कृत शिक्षा चाहिंदैन । यो विद्यालयमा यी विषयहरू पढाएमा भौतिक कारबाही गर्ने छौँ” आदि । त्यसपछि हाम्रो स्कुलमा कहिल्यै ती बिषयहरुको पढाई भएन । परीक्षा नलिइकन नम्बर चढाइन्थ्यो । एक पटक चौरमा विद्यार्थीहरू जम्मा गरेर राष्ट्रियगान गाउँदै थियौँ । एक्कासिउनीहरु आएर बन्द गराए । त्यसपछि कवाज र राष्ट्रियगान पनि कहिल्यै भएन ।

प्रत्येक दशैंको अगाडि र अरु बेलामा पनि समय समयमा बस्नेत जी आइरहन्थे । युद्धकै क्रममा उनलाई उनकी छोरीलाई नेपालबन्दको बेला प्रचा टाँस्दै गर्दा सेनाले देखेछन् । लखेट्दै लखेट्दै छोरीलाई समातेर गोलीहानी निर्मम हत्या गरेछन् । बस्नेतजी चाँहि भाग्न सफल भएछन् भन्ने हल्ला हाम्रो स्कुलमा पनि हामीले सुनेका थियौँ । एकदिन हाम्रो स्कुलमा आएको बेला यही प्रसङ्गमा बस्नेतजीले भने “देशको शासन सत्ता परिवर्तनको लागि, अप्रजातान्त्रिक राज्य सत्ताको अन्त्यको लागि, नेपालको समृद्धिको लागि, शिक्षा र स्वास्थ्यमा राज्यले जिम्मेवारी लिने व्यवस्थाको लागि र समग्र परिवर्तन अनि विकासको लागि मेरो छोरीले वलिदान गरेकी हुन्, शहादत प्राप्त गरेकी हुन् । भोलि सर्वहाराको शासन सत्ता स्थापित भएको दिन, यो देशमा सवै खालका वर्गीय, जातीय, क्षेत्रीय, धार्मिक उत्पीडन समाप्त भएको दिन, सबै जनता समान भएको दिन, उनले बलिदानीको सार्थकता दिएको हुनेछ । उनिहरुले महान उद्देश्यको लागि बलिदानी दिएका हुन् । त्यसकारण उनिहरुको बलिदानीलाई खेर जान दिनुहॅुदैन। हामीले शोकलाई शक्तिमा बदल्नु पर्छ ।आजको देशको अवस्था देख्दा ति बस्नेतजी जिउँदै हुनुहुन्छ भने के सोचिरहनु भएको होला ? उहाँ कति विरक्तिएर रुनुहुन्छ होला ? कति भक्कानिनुहुन्छ होला ? मैले देखेको सपना के यहि थियो ? भनेर कति तड्पिनुहुन्छ होला ? आज दिनदहाडै भ्रष्टचारका प्रमाणहरु नष्ट गरेर तस्करहरुलाई उन्मुक्ति दिईरहंदा, ललिता निवास प्रकरणमा शीर्षनेताहरूको संलग्नता देखिएपछि कारवाही नै फितलो भइरहँदा, नक्कली भुटानी शरणार्थी प्रकरणमा तिनै नेताहरुका संलग्नता र वाहालवाला मन्त्रीकै मिलिमतो देख्दा, लाखौं युवा देशमा आफ्नो भविष्य नदेखेर वाध्यतावस पलायन भइरहंदा, २०३५/३६ सालसम्म कृषिमा निर्यात गर्ने मुलुक अहिले वार्षिक करोडौंको कृषिजन्य पदार्थ आयात भएको देख्दा, १०० किलो सुन प्रकरण त्यसै सेलाउँदै गएको देख्दा, चलिरहेको उद्योग धन्दा एकाएक बन्द भएको देख्दा ती बस्नेतजी के सोचिरहेका होलान् ? ती मेरा विद्यार्थीहरू के सोचिरहेका होलान् ?

उनीहरूले भनेजसरी युद्ध जित्न सकेनन् । जसका विरुद्द एकदशक लडे, उसैसँग सम्झौता गर्नुपर्यो । सम्झौतामा टुङ्गिएको युद्धले घोर निराशाबाट मुक्ति दिन सक्दैन । जुन सुन्दर सपना देखेर युद्धमा होमिएका थिए, द्वन्द्व सकिएपछि जीवन बदलिन्छ भन्ने अपेक्षा थियो तर युद्ध सकिएपछि पनि उनीहरूले सोचेजस्तो समय आएन ।

भाग २
Mathematics दोश्रो वर्षको परीक्षा सकेर २०५७ असोजमा म काठमाण्डौबाट घर आउने क्रममा श्रीमती मनरूपा र ४ महिनाको छोरा विवेकसँग भरतपुरमा भेट भएर माडी जाँदै थियौँ । बाटोमा I.Sc , B.Sc को मेरा Class Mate दिनेश पन्तजीसँग भेट भयो । के गर्दै हुनुहुन्छ ? भन्ने बोलचालको क्रममा भर्खरै M.Sc Exam सकिएकोले अब जागिर खोज्दै छु भन्ने कुरा भयो । दिनेश जी B.Sc Exam दिएपछि ३ वर्ष अघिदेखि धादिङ सुनौला बजारको भैरवी मा. वि. मा पढाउनु हुँदो रहेछ । उहाँले आफ्नै गाउँ माडीको जनजीवन मा. वि. मा नियुक्ति लिएर अव देखि यहीँ पढाउने निर्णय गरिसक्नु भएको रहेछ । उहाँले अब म भैरवी स्कुल छोड्दै छु, तपाई जानुहुन्छ भने म तपाइसँगै राजीनामा पठाउँछु है । पछि भेटौला भनेर बिदाइ भइयो । दशैंको २ /३ दिनपछि दिनेश जी लाई भेट्न खरकट्टा गएँ । दिनेशजीले दिएको राजीनामा लिएर भोलिपल्ट धादिङतिर हिँडेँ। गएको दिन धादिङ बेसीको एउटा होटलमा बसेँ र भोलिपल्ट बिहानै सुनौलाबजार तर्फ पाइला लम्काएँ । सुनौलाबजार भन्ने ठाउँ म पहिला पनि पुगेको थिएँ । B Sc परीक्षा दिएर जागिर खोज्दै जाने क्रममा त्यहाँ शिक्षक चाहिएको छ भन्ने थाहा पाएर म २०५४ सालमा पनि पुगेको तर B Sc पास गरेको चाहिएको भनेर म फर्केको थिएँ । मोटर जाने कच्ची बाटो, कहिलेकाहीं मात्रै ट्रेक्टर चल्ने, भर्खरै वर्षा सकिएकाले खाल्टाखुल्टी , गाडी कुर्ने कुरै भएन । पाइला अगाडि बढाउनै पर्‍यो । एकछिन मोटर बाटो हिँडेँ पछि त्यहाँ दुइवटा बाटो देखा परे । एउटा हिँडेर जाने ठाडै उकालो छोटो बाटो अर्को तर्पाएँ तर्पाएँ लामो मोटर बाटो । मैले हिड्ने छोटो बाटो रोजेँ ।एकछिन पछि २ जना विद्यार्थीहरू पनि स्कुल ड्रेसमा हिँडिरहेको भेटियो । तिनीहरु भैरवी स्कुलका कक्षा १० मा पढ्ने विद्यार्थी हरू रहेछन् । मलाई सजिलो भयो । सुनौलाबजार पुग्दासम्म धेरै नै विद्यार्थीहरूको समुहसँग मेरो भेट भयो। सर सुनौलाबजार आइपुग्यो विद्यार्थीहरूले भने । ऊ त्यो हाम्रो स्कुल हो । भैरवी मन्दिरको डाँडामा पुगेपछि सुनौलाबजार र भैरवी स्कुल स्पष्ट देखिन्थ्यो । केहीबेरमा बजार आयो । “तिमीहरू स्कुल जाउ, म खाना खाएर आउँछु विद्यार्थीहरूलाई भनेर म बजारमै रोकिएँ । बजारमा खाना खुवाउने एउटा होटल छ मल्लको । म २०५४ सालमा सुनौलाबजार जाँदा पनि त्यहीँ खाना खाएको थिएँ ।हेडसरलाई त्यहीनै भेटेर फर्किएको थिएँ । यसपालि खाना खाइवरी विद्यालय तर्फ लागेँ, भैरवी स्कुल पुगेँ। बजारभन्दा अल्ली डाँडामा ढुङ्गाले छाएको, ढुङ्गाको गाह्रोलाई बाहिरबाट खैरो माटोले लिपेको तला नभएका ३ वटा भवन, साँगुरो ठाउँ, सानो चौर । चितवनको जस्तै ठुला ठुला बिल्डिङ, खुल्ला चौर जस्तो कल्पना गर्दै थिएँ ।तर विद्यालयको त्यो भौतिक अवस्था देखेर अचम्मित् भएँ । हेडसर आज काम विशेष सदरमुकाम जानु भएको रहेछ । कृष्णराज अधिकारी सहायक प्र.अ.लाई सबै कुराको अनुरोध गर्दै दिनेशजीको राजीनामा पनि बुझाएँ । कृष्णराज सरले सबै सरहरुलाई जम्मा गर्नु भो र शिक्षक त तुरुन्तै चाहियो पढाउन शुरु गर्नुस् भन्नु भो । भोलिपल्टबाट पढाउन शुरु गरेँ । तर नयाँ शिक्षकको नियुक्ति नेपालभरि नै रोकिएकोले छुट्टै कपिमा हाजिर गरेर २ महिनाजति विद्यालयबाट तलब खाएँ । नियुक्ति खुलेपछि २०५७ कार्तिक १ बाटै लागु हुनेगरी जिल्ला शिक्षा कार्यालय बाट नियुक्ति पत्र आयो बल्ल सहज महसुस गरेँ ।

भाग ३
धादिङ जिल्लाको सदरमुकामबाट कच्ची सडक १७ किलो मिटर मात्र अथवा पैदल हिँड्दा पनि साढे दुई घण्टामा पुग्न सकिन्छ, पुरानो सदरमुकाम सुनौलाबजार । कच्ची हिलाम्य बाटो ट्रेक्टर र हिउँदमा बलेरो जिपहरू पनि जान्थे। सानो लाम्चो परेको बजार त्यहाँ डेरा बस्नको लागि व्यवस्थित घरहरू थिएनन् । बिरानो ठाउँ, चितवनको मान्छे, अनकन्टार पहाडी भूभाग सुनौलाबजार । हुन त यो धादिङको पुरानो सदरमुकाम हो । वि. सं २०३२ सालमा धादिङबेँसीमा सदरमुकाम नसरेको भए अहिले यो ठाउँमा छुट्टै चहलपहल हुन्थ्यो होला । त्यहाँका स्थानीय बुद्धिजीवीहरूले सुनौलाबजारका बारेमा व्याख्या गर्थे ।भैरवी मन्दिरले ख्याति कमाएको गाविस होयो सुनौलाबजार । पृथ्वीनारायण शाहले नुवाकोट आक्रमण गर्न यही भैरवी मन्दिर र यस नजिकै करिब १५ मिनेट टाढा रहेको सुनौलाबजार मा बसेर योजना बनाएका थिए रे । सुनौला बजारमा जव पृथ्वीनारायण शाह आउन थाले अनि त्यहाँ जनघनत्वले ठाउँ लिएको बताइन्छ । जव विक्रम सम्वत् १९४७ सालमा धादिङ बेनिघाटको रोराङबाट जङ्गी अड्डा सुनौलाबजार सारियो तव यहाँ सदरमुकामको लागि आधार बनेको बताइन्छ । विक्रम सम्वत् १९४० तिर औलो रोगले महामारीको रूप लिएको थियो । त्यही बेला भैरवी मन्दिर नजिकै उच्च स्थानमा रहेको उपत्यका जस्तो उक्त भूभाग सुन्दर र सुरक्षित स्थान रहेको आभाष गरि बसोवास भएको आकलन गर्न सकिन्छ । उक्त स्थानमा बाक्लो बस्ती रहेकोले पनि पृथ्वीनारायण शाहले कोट कोटमा बासस्थान बनाउने सिलसिलामा यहाँ आएको भन्ने भनाइ पनि पाइयो । १९८० सालमा पहिलो सिडियोको रुपमा विष्णुकुमार बेञ्जु आए त्यस पछि भैरवी मन्दिर र सरकारी कार्यालयहरू बिस्तार भएका थिए ।


अहिले पनि बुढापाकाहरू सुनौलाबजार स्थित पुरानो सदरमुकामलाई पुरानो धादिङका रुपमा चिन्छन् । पुरानो धादिङ भौगोलिक हिसाबले यातायातको पहुँच र ढुवानीको समस्या साथै औलो रोग नियन्त्रण भएकोले बेसी सरेको बताइन्छ । २०३२ सालमा सदरमुकाम धादिङबेसी सरेपछि त्यहाँका ८० प्रतिशत मान्छेसँगै बेसी झरेका थिए । अहिले सदरमुकाममा उनीहरु अरबौँको मालिक बनि सकेका छन् । तर पुरानै धादिङमा बस्ने २० प्रतिशत मानिसहरुको जीवनस्तर गुणात्मक विकास भएको देखिदैँन । भैरवी मा.वि. जिल्लाकै पुरानो विद्यालय हो ।दसैं पछि तिहारसम्म १५ दिनजति पढाइ थियो । सुनौलाबजारमा सरकारी कार्यालयहरू पनि थिए । भेट्नरी, हुलाक, ईलाका प्रहरी कार्यालय, जनस्वास्थ्य कार्यालय, स्वास्थ्य चौकी कार्यालय । बाहिरबाट कोही पाहुना आउँदा बस्नको लागि एउटा गेस्ट हाउस पनि थियो । त्यो स्थानीय सहकारीले चलाएको रहेछ । दिन गनेर पैसा तिर्नु पर्ने । मैले अगाडि मल्लकोमा खाना खाने र त्यही गेस्ट हाउस सुत्ने गरेर १५ दिन पढाएँ । गेस्ट हाउस प्रहरी कार्यालयसँगै जोडिएको थियो ।राती केही कारणले उठ्नु पर्‍यो भने डिप्टीमा रहेको पुलिसले को हो ? भनेर सातो खान्थे । शुरु शुरुमा त डरले गेस्ट हाउसको तारा प्रसादजिलाइ पहिला उठाउँथे र म पछि पछि जान्थेँ ।दुई वर्ष जति नेवारवारी भन्ने गाउँमा त्यही भैरवी मा.वि. को विद्यार्थी लक्ष्मी अधिकारीको घरको धन्सारमा डेरागरी बिताइयो । लक्ष्मी अधिकारी कक्षा ९ मा पढ्थिन ,उनको भाइ विष्णु कक्षा ७ मा पढ्थे । धन्सार अल्ली कोल्टे परेको थियो । २ वर्ष पछि त्यो धन्सार मर्मत गर्न पर्ने भयो र म सुनौलाबजार एकजना शिक्षक कृष्ण बहादुर श्रेष्ठको पक्की घरमा डेरा सरेँ । कृष्ण बहादुर सर पहिला खाल्टेको पञ्चकन्या नि. मा. वि. मा इङ्ग्लिस पढाउनुहुन्थ्यो । पछि भैरवी स्कुलमै सरुवा भएर आउनु भो । सबैले उहाँलाई माओवादीको नजिकको हो भन्थे ।तर उहाँ आफूलाई जनमोर्चाको हुँ भन्नुहुन्थ्यो । सुनौलाबजार भरिमै उहाँको मात्रै थियो पक्की ढलान घर । यो घरमा माओवादीको धेरै नै चहलपहल हुन्थ्यो । राती राती आउँथे खाना खाइवरी जान्थे । तर अरुसँग खासै बोल्दैनथे । मसँग हेलो हाई मात्रै हो खासै कुराकानी कहिल्यै पनि भएन । तिनीहरूको आउजाउ बढेकाले हो कि किन हो ? आफ्नो गोप्यता थाहा नपाउन भनेर हो कि किन हो ? कृष्ण बहादुर सरले बुवा आमा भाइसँग बस्नु हुन्थ्यो, गए राती घर झगडा गरेर भाइ घर छोडेर हिँडेछ । बाआमा मसँग बस्छु भन्नु भाछ सर कोठा मैलाई चाहिने भयो भन्नु भो । २ / ३ दिनमै म स्कुल जाने बाटोमै कुवाको माथिको एकान्त घरमा डेरा सरेँ । त्यो घर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शारदाशङ्कर राजभण्डारीको थियो ।उहाँको आफू बस्ने घर अल्लि पर रानीस्वॅांरा भन्ने गाउँमा थियो ।एक वर्ष जति बसियो । एक्कासि हल्ला चल्यो, मेरो डेरा नजिकै कलवोर्डमा माओवादीले बम राखेका छन् । मैले नियालेर हेर्दा जमिनलाई हँसियाले थोरै छड्के पारेर बिजुलीको तार बिच्छाइएको हो कि जस्तो लाग्यो । यो पुलिस आर्मीलाई थापिएको एम्बुस हो । पुलिस आर्मी त्यहाँ आइपुग्ने बित्तिकै माथि डाँडासम्म लगेको तार जोड्छन्, वम पड्किन्छ भनेर सबैले हल्ला गर्थे । म त्यो सुनेर डराएँ । साँच्चै बममा आर्मी पुलिस परे भने त सबैभन्दा नजिक डेरा मेरो छ, मलाई आक्रोशित पुलिस आर्मीले तत्काल कारवाही गर्छन् भन्ने डर लाग्यो । त्यसताका नेपालका विद्यालयका अधिकांश शिक्षकहरू शारीरिक आक्रमणको त्रास या पेशागत असुरक्षाको मानसिक दबाबबाट थिचिएका थिए । हिंसात्मक द्वन्द्वको क्रममा एकपछि अर्को गर्दै धेरै शिक्षकहरू मारिएका थिए भने हजारौको सङ्ख्यामा अपहरित थिए ।अधिकांश चन्दाको नाउँमा माओवादीलाई महिनावारी बुझाएर ज्यान बचाउन विवश थिए । तर सेना, प्रहरी, निजामती कर्मचारी र राजनीतिक व्यक्ति मारिँदा, अपहरणमा पर्दा उदारतापूर्वक आर्थिक भौतिक सहयोगको थैली खोल्ने सरकार देखि राजनीतिक दल, नागरिक समाज र प्रेस समेत शिक्षकको सवालमा कहिल्यै गम्भीर भएनन् । राज्य र विद्रोही दुवैले अर्को पक्षलाई सघाएको भनेर शिक्षक मार्ने क्रम बढ्दै गयो । माओवादीले ‘सुराकी गरेको’ अभियोग लगाएर अनि राज्यले ‘माओवादीलाई सघाएको’ भनेर शिक्षकलाई मार्ने गरे । माओवादी विद्रोहको नाममा हिंसा र प्रतिहिंसा जति चर्कंदै गयो, शिक्षकहरू मारिने र प्रताडित हुने क्रम त्यसरी नै बढ्यो ।२०५८ मङ्सिरमा सरकारले देशमा सङ्कटकाल लगाएपछि त्यसको सबैभन्दा बढी मार शिक्षकहरूले खेप्नु पर्यो । संवैधानिकतामै असीमित अधिकार पाएको सरकारी सुरक्षा फौज र आफ्ना विरोधीलाई ‘सफाया’ नै गर्ने उग्र नीति अवलम्बन गरेका माओवादी छापामारको दोहोरो च्यापमा शिक्षकहरू परे । उनीहरू माथि देशका कैयौँ ठाउँमा क्रूर र अमानवीय व्यवहार भयो । सङ्कटकाल लागेको तीन महिना नबित्दै ३ माघ २०५८ मा माओवादीले अत्यन्त निर्मम ढङ्गबाट लमजुङ दुराडाँडाका शिक्षक मुक्तिनाथ अधिकारी लाई मारेको घटना देशविदेशसम्म फैलिएको थियो । त्यो घर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शारदा शंकर राजभण्डारीको थियो ।उहाँको आफू बस्ने घर अल्लिपर रानीस्वॅांरा भन्ने गाउँमा थियो ।एक वर्ष जति बसियो । एक्कासी हल्ला चल्यो, मेरो डेरा नजिकै कलवोर्डमा माओवादीले बम राखेका छन् । मैले नियालेर हेर्दा जमिनलाई हँसियाले थोरै छड्के पारेर बिजुलीको तार बिच्छाइएको हो कि जस्तो लाग्यो । यो पुलिस आर्मीलाई थापिएको एम्बुस हो । पुलिस आर्मी त्यहाँ आइपुग्ने बित्तिकै माथि डाँडासम्म लगेको तार जोड्छन्, वम पड्किन्छ भनेर सबैले हल्ला गर्थे । म त्यो सुनेर डराएँ । साँच्चै बममाआर्मी पुलिस परे भने त सबैभन्दा नजिक डेरा मेरो छ, मलाई आक्रोशित पुलिस आर्मीले तत्काल कारवाही गर्छन् भन्ने डर लाग्यो । त्यसताका नेपालका विद्यालयका अधिकांश शिक्षकहरू शारीरिक आक्रमणको त्रास या पेशागत असुरक्षाको मानसिक दबाबबाट थिचिएका थिए । हिंसात्मक द्वन्द्वको क्रममा एकपछि अर्को गर्दै धेरै शिक्षकहरू मारिएका थिए भने हजारौंको सङ्ख्यामा अपहरित थिए ।अधिकांश चन्दाको नाउँमा माओवादीलाई महिनावारी बुझाएर ज्यान बचाउन विवश थिए । तर सेना, प्रहरी, निजामती कर्मचारी र राजनीतिक व्यक्ति मारिँदा, अपहरणमा पर्दा उदारतापूर्वक आर्थिकभौतिक सहयोगको थैली खोल्ने सरकार देखि राजनीतिक दल, नागरिक समाज र प्रेस समेत शिक्षकको सवालमा कहिल्यै गम्भीर भएनन् । राज्य र विद्रोही दुवैले अर्को पक्षलाई सघाएको भनेर शिक्षक मार्ने क्रम बढ्दै गयो । माओवादीले ‘सुराकी गरेको’ अभियोग लगाएर अनि राज्यले ‘माओवादीलाई सघाएको’ भनेर शिक्षकलाई मार्ने गरे । माओवादी विद्रोहको नाममा हिंसा र प्रतिहिंसा जति चर्कंदै गयो, शिक्षकहरू मारिने र प्रताडित हुने क्रम त्यसरी नै बढ्यो । २०५८ मङ्सिरमा सरकारले देशमा सङ्कटकाल लगाएपछि त्यसको सबैभन्दा बढी मार शिक्षकहरूले खेप्नु पर्यो । संवैधानिकतामै असीमित अधिकार पाएको सरकारी सुरक्षा फौज र आफ्ना विरोधीलाई ‘सफाया’ नै गर्ने उग्र नीति अवलम्बन गरेका माओवादी छापामारको दोहोरो च्यापमा शिक्षकहरू परे । उनीहरू माथि देशका कैयौँ ठाउँमा क्रूर र अमानवीय व्यवहार भयो । सङ्कटकाल लागेको तीन महिना नबित्दै ३ माघ २०५८ मा माओवादीले अत्यन्त निर्मम ढङ्गबाट लमजुङ दुराडाँडाका शिक्षक मुक्तिनाथ अधिकारी लाई मारेको घटना देशविदेशसम्म फैलिएको थियो ।

यस्तै कुरा मनमा आउन थाल्यो । एकान्त एक्लो घरमा असुरक्षित अनुभव भयो । म एक्कासि डराएँ । तत्काल डेरा सर्ने निर्णय गरेँ र विद्यार्थीहरूलाई एक एक वटा सामान लिन लगाएर शारदा शङ्करको गाउँको घरमा रहेको धन्सारमा डेरा सरेँ । शारदा शङ्करका २ छोरा थिए। जेठा छोरा सुदर्शन म गएको वर्ष २०५७ सालमा SLC पास गरेर काठमाडौँ तिर बस्थे । उनलाई मैले कक्षा १० मा पढाएको हो भने सानो छोरा नवीन कक्षा ९ मा पढ्दै थिए मेरै स्कुलमा । मेरो परिवार प्रायजसो मसँगै हुन्थे । धादिङ बस्दा बस्दै कान्छो छोरो विपिन पनि जन्मिसकेको थियो । वर्षभरिमा १० महिना धादिङ बस्थेँ र वर्षे बिदा भएपछि MSC का एउटा दुईटा ब्याक Exam दिनको लागि काठमाण्डौमा २ महिना डेरा लिएर बस्थेँ । वर्षभरी कमाएको २ महिना काठमाण्डौमा बस्दा सकिन्थ्यो । २ / ३ वर्षपछि MSC पास गरेँ । स्कुलमा +२ खोल्ने कुराकानी पनि चलिरहेको थियो । तर कसरी खोल्ने ? श्रोत कसरी जुटाउने ? यी चर्चा व्यवस्थापन समिति र शिक्षकहरू बीच पनि चलिरहन्थ्यो । माओवादी द्वन्द्वको चरम अवस्था गुज्रिरहेको थियो । आर्मी आउँथे किन माओवादीलाई पैसा दिएको भन्थे भने माओवादी पैसा नदिए कसरी लिनुपर्छ हामीलाई थाहा छ भन्थे । दोहोरो मारमा हामी गाउँका शिक्षक घुनझैँ पिसिइरहेका थियौँ । जेनतेन दिनहरू चलिरहेकै थिए ।

भाग ४
रानीस्वॅांरा गाउँमा डेरा लिएर बसेका थियौँ । एकरात लगभग ११ बजेतिर ठूलो आवाज आयो । बम पड्कियो जस्तो लाग्यो । तर कहाँनेर भनेर ठम्याउन सकिएन । भोलिपल्ट स्कुल जाँदा बाटोमा एउटा खाडल देखियो । खाडलको छेउमा रगतको टाटो, रगत पुछेको कपाससहित त्यही थियो । एउटा Goldstar जुत्ता थियो । मलाई लाग्यो राती जुन आवाज आएको थियो, त्यो बम फिट गर्न खोज्दा खोज्दै अकस्मात् पड्किएछ । बम फिट गर्न आएको कोही गम्भीर घाईते भयो होला अथवा गम्भिर केही भयो कि ! त्यसपछि त्यसै छोडेर गएछन् । त्यही खाल्टोमा एउटा कुटो पनि त्यहीँ थियो र तार पनि बाहिर देखिन्थ्यो । हामीले यस्तो भएको होला अन्दाज मात्र गरेको ।हामी स्कुल जाँदा त्यो खाल्टो नजिकै पुग्दा सबै डराउँथ्यौँ ।अलि टाढैबाट डराइ डराइ बाटो काट्थ्यौँ । बूढो हामी आज १ बजेतिर बजार आउँछौ है । मेरी श्रीमती मनरुपा मलाई बूढो भनेर सम्बोधन गर्छिन् । ठूलो छोरा विवेक मसँगै स्कुल जान्थ्यो । उ कक्षा १ मा भैरवी मा.वि. मै पढ्थ्यो । सानो छोरा २ वर्षको थियो । स्कुल जाने बेला भएको थिएन । दुई आमाछोरा दिउँसो १ बजे त्यही खाल्टो हुँदै बजार जाने कुरा भएको थियो । दिउँसो १ बजेको थियो । विवेक डेराबाट टिफिन क्यारीमा ल्याएको खाजा खान धारोमा हात धुँदै थियो । स्कुल अलि हाइटमा छ । त्यसको केही तल बाटो छ । बाटोको छेउबाट सानो खोला बगिरहेको छ । एक्कासि पटटट ड्याम्म आवाज आयो । पहाडै थर्किने गरेर । मुटुनै चिर्ने गरेर । विवेक हात धुँदै थियो । मेरो हातमा उसको लागि ल्याएको Tiffin Carry थियो । माथि स्कुलबाट आवाज आएको स्थान प्रष्टै देखिन्थ्यो । हाम्रो नजर त्यतै थियो । ड्याम्म आवाजसँगै उल्टोतिरबाट एउटा रातो चराजस्तो देखिने वस्तु आकासतिर उडेको जस्तो लाग्यो । के होला भन्दा भन्दै खोलापारी ड्याम्म बजारियो । र छटपटाउन लाग्यो । त्यो चरोजस्तो देखिएको त मानिस रहेछ । रातो कपडा लगाएको मानिस । खाल्टोको नजिकै एउटा बालक टुक्रुक्क बसिरहेको थियो । आकासे रङ्गको टिसर्ट लगाएको सानो बालक । सबै विद्यार्थीहरू टिफिन समय भएकोले बाहिरै थिए । कोही नजिकैको सुनौलाबजार तिर गएका थिए । यो दृष्य हेर्न सबै स्कुलको चौरको डिलमा जम्मा भए । स्कुलबाट बजारतिर जाने बाटोबाट यो दृष्य स्पष्ट देखिन्थ्यो । म त्यहीनेर बसेर हेर्दै थिएँ । मुटु एक्कासि बटारियो । मन अमिलो भयो । मेरो छातिभित्र मुटुको गति साबिक भन्दा तेज भयो । एक्कासि भाउन्न भयो । खोलापारी छट्पटाइरहेको त्यो मानिस को होला ? बजारबाट स्ट्रेचर लिएर एउटा ग्रुप त्यही मान्छेको आडमा पुगे । तिनीहरु आउँदासम्म मानिस छटपटाउन छोडिसकेको थियो । मानिस मरिसक्यो भन्ने बुझियो । मेरो होस हवास गुमीसकेको थियो । म टोलाइसकेको थिएँ । मलाई वान्ता आउला जस्तो भयो । मेरो छाती फुट्लाजस्तो गरी दुख्यो । मेरो टाउकोमा चट्याङ परेजस्तो भयो । म बहुला हुँला जस्तो भयो । म उभिन नसकेर छचक्क बसें ।

भाग ५
मनरुपाले म स्कुल निस्कने बेला भनेकी थिइन्, “आज म १ बजेतिर बजार जान्छु, सानो छोरालाई लिएर” त्यही कुरा मनमा आयो । संयोग कस्तो पर्यो मनरूपा छोरालाई लिएर त्यहाँ आउनु पनि, त्यो खाल्टोको बम पड्किनु पनि । हे भगवान यो के दशा आइपऱ्यो । त्यो छेउमा टुक्रुक्क बसेको सानो बच्चा मेरै छोरो विपिन हो र पारी छटपटाईरहेकै रातो कपडा लगाएको मानिस मेरै श्रीमती मनरूपा हुन् । हामीले के गल्ती गरेका थियौँ र हामीलाई नै यो अनिष्ट आइलाग्यो । यो वज्रपात आइलाग्यो । अब म कसरी बाँच्ने । मेरो सहारा आज त्यसरी छटपटाइरहेकी छन् । घटनाक्रम र समयले मलाई १०० % विश्वस्त बनायो ती मानिसहरू तिनै हुन् । आज हेर्दा हेर्दै विवेक टुहुरो भयो । म एक्लो भएँ । जीवनमा सङ्घर्ष गर्दै कति अभावसँग जुध्दै अब त सुख हुन्छ कि भन्ने आशा थियो उनमा । श्रीमान पढेलेखेका हाइस्कुलको Science Teacher छन् । २ वटा छोराहरू छन् । अब त हाम्रा पनि त दिन फिर्लान् नी भन्थ्यौ । तर आज बिरानो ठाउँमा आएर तड्पीतड्पी जीवनलिला समाप्त गर्यो । यस्तै कुरा एक्कासि मनमा आउन थाले र म भईमा लडेँ । म प्रति कसैको ध्यान थिएन । टिफिन समय भएकोले सबै शिक्षकहरू खाजा खान बजार गएका थिए । विद्यार्थीहरू सबैले डिलबाट यही दृष्य हेर्दै थिए । पछाडिबाट एकजनाले मलाई कोट्टयाएको जस्तो लाग्यो । यसो पछाडि फर्किएँ । कक्षा ९ मा पढ्ने विद्यार्थीले सर हजुरलाई धेरै बेर बोलाएँ, सुन्नु भएन, त्यही भएर कोट्याएर बोलाएको, मेडम बजारमा हुनुहुन्छ, हजुर पनि जानु अरे, मेडमले भन्नु भएको ।” मलाई होस आयो, मन हल्का भयो, धन्य भगवान जुन मैले सोचेको थिएँ, त्यो असत्य भयो। म हतार हतारमा उठेँ र बजारतिर गएँ । बजार शुरु हुँदाको पहिलो घरमा किराना र घडी, रेडियो मर्मत पसल थियो । मनरुपा छोरालाई लिएर त्यही उभिएकी रहिछन् । मन शीतल भयो । एकैछिन अघि २ जना मानिस एउटा सानो बच्चालाई लिएर यही बजारबाट रानीस्वारा गाउँतर्फ जाँदै रहेछन् । विपिनले विस्कुट खाएको देखेर त्यो बच्चालेपनि बिस्कुट बिस्कुट भनेछ । एउटा बिस्कुट किनेर दुईजना युवाहरु भर्खरै गएका हुन् । मनरूपा भन्दै थिइन् अर्को एकजना खोई त ? बच्चालाई खाल्टोको डिलमा बसालेर दुईजना युवाहरु त्यही भएको कोदालाले यहाँ के छ भनेर खन्दा त्यहाँ वम विस्फोट भएको रहेछ । ठूलोबुवाले मलाई बाबु यहाँ बस है भनेर आफूले कोदालाले खन्नुभएको थियो । एक्कासि पड्क्यो भनेर बच्चाले सबैलाई भन्दै थियो । बच्चा बसेको हुनाले बमको असर परेनछ । तर तिनीहरु खाल्टोमै भएकाले बमले उडाएछ । एकजना खोलापारी र एकजना कान्लातिर भित्तामा खसेका रहेछन् । स्कुलबाट एकजना मात्र उडेको देखिएको थियो । यो सबै दृष्य विवेकले प्रत्यक्ष देखिरहेको थियो । अब हामीलाई त्यो बाटो हिड्न साह्रै गाह्रो पर्ने भो । २/४ दिन त स्कुलको पछाडिबाट कान्ला कान्लै हिडियो । पछि त बानी परिएछ । जे सुकै होस् बाटैबाट हिँडियो । त्यो दिनदेखि विवेक डराउन थाल्यो । एउटा थाल बज्यो भने पनि बम बम भन्दै कराउँथ्यो । मानसिक रुपमै विछिप्त हुन थाल्यो र धादिङ बस्न मानेन । त्यहाँको स्कुल छुटाएर माडीमा ल्याएर मामाघर राखी पढाउन थालियो । यो घटनाले मलाई पनि साह्रै चोट पुर्यायो । जो मानिसको मृत्यु भएपनि दुःखद हो तर आज मैले मेरै परिवारको मृत्यु देखेँको अनुभव गरेँ । मन हड्बडाउन थाल्यो । परिवार त्यहाँ बस्ने स्थिति बनेन र चितवन फर्कियो । म सबै किसिमको हिंसालाई निरपेक्ष रुपले घृणा गर्छु । आफ्ना सन्ततिलाई पनि हिंसाले ल्याएको परिवर्तन दिगो हुँदैन, हिंसाले प्रतिहिंसालाई जन्माएर एकदिन यो पृथ्वीलाई प्राणीविहिन बनाइदिन सक्छ भन्ने कुरामा विश्वास गर्दै असल मानव बन भनेर प्रेरित गर्छु । म एक्लै बसेर भैरवी स्कुलमा २०६२ मंसिर २ गतेसम्म पढाइरहेँ । एउटा सपनाको मृत्‍यु हुँदैमा जीवन अन्त्य हुँदैन । जीवन भएपछि सपनाहरु जन्मिरहन्छन् । जिन्दगीको सोझो यात्रामा हिँडिरहेको एउटा यात्रीले अनायाशै नयाँ घुम्तीबाट यात्रा गर्नको लागि अगाडि बढ्ने मात्र होइन कि उक्त घुम्तीबाटै नयाँ बाटो पहिल्याइ ट्रयाक मात्र होइन ग्राभेल पछि पिच नै गरेर गन्तव्यलाई सुनिश्चित गर्ने दिशातर्फ उद्धत हुनुपर्दोरहेछ। मैले धादिङ छोडेँ ।

भाग ६
यो त मैले भोगेको प्रतिनिधि घटना मात्र हो । द्वन्द्वले कति बालबालिकाहरूलाई असर गर्यो। कति टुहुरा भए । तर द्वन्द्वपछि शिक्षामा के परिवर्तन आयो ? गणतन्त्रले शिक्षामा के सुधार ल्यायो ? संविधानमा राखिएजस्तै निःशुल्क गुणस्तरीय शिक्षा पाए ? त्यो बेलामा भनेजस्तै निजी विद्यालयहरू बन्द भए ? वैज्ञानिक प्रयोगात्मक शिक्षा लागू गरियो ? अब पढे लेखेका मानिसले आफैँ रोजगार सृजना गर्न सक्ने भए ? विदेशमा पढ्न जानुपर्ने स्थितिको अन्त्य भयो ? बुर्जुवा शिक्षा चाहिदैन भनेर पढ्न छोडेका विद्यार्थीहरू अहिले त ठूला भए होलान् , तिनीहरूको पनि जहान परिवार भए होलान् , के तिनीहरूलाई गाँसबास, कपास, शिक्षा स्वास्थ्य र रोजगारको ब्यवस्था छ ? सधैँ झुटो बोल्ने, सधैँ थमथमाउने ? सधैँ आश्वासन मात्र दिने ? जनतालाई तड्पाउने ? यही पारा हुनु थियो, यही चाला हुनु थियो त किन त्यतिका मानिसलाई प्रताडित गरेको ? किन त्यतिका मानिसको उठिबास गरेको ? अब केही हुन बाँकी छ ? तिम्रा छोरा छोरी चुनाव लड्ने, नेता हुने, राजदूत हुने, व्यापारी हुने, विदेश पढ्न जाने, जनतालाई बुर्जुवा शिक्षा भन्न लगाइ रहने ? आफ्ना छोरा छोरी अमेरिका राख्ने, यहाँ जनतालाई अमेरिकन राजदूतावासमा ढुङ्गा हान्न लगाउने ? द्वन्द्वकालमा कुन नेताका छोरा छोरी कहाँ थिए ? कति पढेका थिए ? कुन कुन नेताको बोर्डिङ स्कुलमा लगानी छ ? जनतालाई थाहा छैन ? यो दोहोरो चरित्र सह्‍य छैन । सावधान आम सर्वसाधारण हामी जनता, दुर्गा सुबेदीले भोगेको नियति अहिले पनि ज्यूका त्युँ नै छन् ।

लेखक पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय शिक्षा विभाग सदस्य हुन् । उनी २०८०/१२/०१ देखि २०८१/०३/२८ सम्म पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठको स्वकीय सचिव थिए)