चेपाङ समुदायले आज छोनाम (न्वाङ्गी) पर्व मनाउँदै छन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा मनाइने हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने चलन छ । नौ महिनासम्म जंगली कन्दमुल खाएर पेट भर्दै आएका चेपाङ जातिले भदौ महिना देखि केही दिनलाई भने पनि नयाँ अन्न खाएर मुख फेर्ने चलन छ । प्रत्येक वर्ष भदौ पूर्णिमाको रातमा बज्ने एक पाखे ढ्याङग्रोको आवाजसँगै चेपाङले बादर लड्ने भिरमा उत्पादन भएको अन्न बालि खाने गर्दछन् ।
धादिङ जिल्लाको नाम पनि चेपाङ (प्रजा) भाषाबाटै राखिएको भन्ने कथन रहेको छ। ‘धा’ भनेको ‘आगोको ज्वाला’ र ‘दिङ’ भनेको ‘देवी–देउता’ हो। यसैलाई मिलाएर धादिङ नाम बसेको बताइन्छ । चेपाङहरू मुख्यगरी प्रकृति धर्म मान्छन् । उनीहरू जंगलका गिठा–भ्याकुर खाएर जीवन धान्ने भएकाले वनजंगलसँग राम्रो साइनो गाँसिएको हुन्छ। त्यसैले प्रकृतिको पूजा उनीहरूका लागि महत्वपूर्ण हुन्छ ।
भदौ पूर्णिमाको रातलाई नेपालको अत्पसख्यक अति सिमान्तकृत आदिवासी चेपाङले नयाँ बाली भित्रयाउने दिनका रुपमा यस पर्वलाई धुमधामसँग मनाउछन् । उक्त दिन प्रत्येक चेपाङको घर परिवार समाजमा एउटा नयाँ खुशी भित्रिएको हुन्छ । विसं २०६३ सालदेखि चेपाङ सङ्घको पहलमा सामूहिक रूपमा उत्सवकै रुपमा न्वाङ्गी मनाउँदै आइएको छ । भदौ २२ गते सामूहिक रुपमा न्वाङ्गी मनाउँदै आए पनि आफ्नो कुलअनुसार चेपाङ समुदायले भदौको पूर्णिमादेखि महिनाभर न्वाङ्गी मनाउने परम्परा छ । यसपटक गोरखाको गण्डकी गाउँपालिका–६ तोमनडाँडामा भेला भई नाचगानगरी पर्व मनाउन लागिएको छ । गत वर्ष धादिङ गजुरी गाउँपालिका–५ च्याङ्लीमा सामूहिक रुपमा भेला भएर न्वाङ्गी मनाइएको थियो ।
चेपाङहरुको जंगली कन्दमुल खाएर टर्रो भएको मुखमा नया घैया चामलको भात र मकै कोदोको ढिडो पर्छ । खोलाको शिरमा र जंगलको काखमा महाभारत पहाडको टुप्पोमा बसोबास रहेका चेपाङले खोरिया खनि खोसी उत्पादन गरेको मकै, कोदो, धान र विभिन्न खाद्यान्न भित्रयाउने समय यही महिना हो ।
भदौ पूर्णिमाका दिन चेपाङहरुले नयाँ बालीको अन्न खानका लागि चेपाङ जातिकै झाक्रि पान्दे घरमा बोलाएर न्वाङ्गी अर्थात चेपाङ भाषामा छोनाम पर्व रातभर घरमा ढ्याङग्रो ठोकेर मनाउने गर्दछन् । चरम आर्थिक अभावका कारणले टोल छिमेकमा चेपाङहरु मिलेर संयुक्त रुपमा एउटै घरमा उक्त पर्व मनाउने गरिन्छ ।
चेपाङ जातिका लागि यो दिन अन्य जातिको दशै, तिहार जस्तै हो । रातभर एक पाखे ढ्याङग्रो ठोकेर उत्पादन भएका फलफुल र खानेकुरा अगाडि राखेर चेपाङ झाकिले खानाका लागि देवता पितृलाई मन्त्र फलाक्दै बोलाउने गर्दछन् । न्वाङ्गीमा जम्मा भएका युवायुवतिहरु भने नाचगान र रमाइलो गरी रात विताउछन् ।
झाक्रीले चेपाङ जातिको देवतालाई बोलाउदै आयु हुनेलाई राम्रोसंग बाच्न देऊ, नहुनेलाई आयु बढाइदेउ भनी सबैलाई नयाँ भैया धानको अन्नको टिका लगाइदिन्छन् । न्वाङ्गीको टिका झाकीबाट लगाइसकेपछि नयाँ अन्न र फलफूल घर घरमा रमाइलो गरेर खाने गरिन्छ । न्वाङ्गी पर्वको एक हप्तासम्म जग्गा हुनेले आफ्नै उत्पादन नहुनेले छिमेकीसंग अन्न पैचो लिएर खाने चलन छ ।
न्वाङ्गी सकिएपछि चेपाङहरुलाई नयाँ अन्न खाने बाटो खुल्छ । गरिवीमा बाच्न दिवश चेपाङ जाती बढिमा १० प्रतिशत बासिन्दा न्वाङ्गी पछि तीन महिनासम्म नियमित रुपले दुई छाक अन्न खाने हैशियतमा रहन्छन् भने बाकि चेपाङहरु एक दुई महिनापछि नै जंगली कन्दमुल गिठा, भ्याकुरले पेट भर्नु पर्ने बाध्यतामा पुग्छन् ।
नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले सूचि गरेको ५९ जनजातिमध्ये चेपाङ एक हो । २०६८ को जनगणनामा चेपाङको जनसंख्या ६८ हजार ३ सय ९९ थियो भने २०७८ सालको जनगणना अनुसार यिनको जनसंख्या ८४ हजार ३ सय ६४ रहेको छ । तीमध्ये पुरुष ४२ हजार ७ सय ५८ र महिला ४१ हजार ६०६ जना रहेको छ । यिनीहरूको बसोबास ५४ जिल्लामा रहेपनि सबैभन्दा धेरै चितवन, मकवानपुर, धादिङ, गोरखा, तनहुँ र लमजुङमा रहेका छन् ।