युवावर्ष मोती पुरस्कार धादिङका केदारलाई

Avatar photo
Dhadingpost
शनिबार, भदौ ८, २०८१

धादिङ । राष्ट्रिय युवा सेवा कोषले २०८१ सालको युवावर्ष मोती पुरस्कार धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका निवासी रंगकर्मी केदार श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ ।

प्रा. रामकुमार पाँडेको संयोजकत्वमा गठित मूल्याकन समितिको सिफारिसमा कोषले ४० हजार राशीको पुरस्कार धादिङका केदारलाई दिने निर्णय गरिएको कोषका सदस्य सचिव डा. विष्णुबहादुर भण्डारीले धादिङपोष्टलाई बताए ।

को हुन् केदार श्रेष्ठ
धादिङ ज्वालामुखी स्थायी ठेगाना भई हाल बूढानीलकण्ठ काठमाडौंमा बसोबास गर्दै आएका केदार श्रेष्ठ बालसाहित्य सर्जक र कथा–कथक हुन् । उनका ५ बाल पुस्तकहरु मध्य आइसक्रिम सपना, गुलियो स्याउ बाल साहित्य क्षेत्रमा चर्चित छन् ।

प्रतिवद्ध युवा रङ्गकर्मीका विशिष्ट रुपमा परिचित उनी रङ्गमञ्चमा नाटककार, परिकल्पनाकार, अभिनेता तथा निर्देशकको रुपमा सक्रिय छन् । दर्जनभन्दा बढी नाटकको लेखन, परिकल्पना तथा निर्देशन गरि सकेका उनको व्यवसायिक रङ्गमञ्चमा नाटकहरु उपियाको निवन्ध, करेसा कन्सर्ट, मान भर्सेस मती, बदरङ्ग, भोको घर, जामुनको रुख, शिरि रङ्गमञ्चीय पहिचान दिलाउने नाटकहरु हुन् ।

पछिल्लो चर्चित नाटक पारिजातको शिरिषको फूलमा आआधरित नाटकको परिकल्पनाकार समेत उनै हुन् ।
२०७१ सालमा स्थापना भएको नियमित नाटक मञ्चन गर्ने नेपालको छैटौं नाटकघर थिएटर मलको संस्थापक तथा कला निर्देशक समेत रहे केदार । काठमाडौंमल सुनधारामा स्थापना भएको यो नाटकघर हाल यो कीर्तिपुरमा थिएटर मलकीर्तिपुर रङ्गमञ्चको नाममा सञ्चालित छ ।

बालरङ्मञ्चको महत्व र अपरिहार्यता महसुस गर्दै २०७० मा स्थापना थिएटर सेन्टर फर चिल्ड्रेन नेपाल’का संस्थापक तथा कला निर्देशक समेत रहेका उनी यसअघि राष्ट्रिय बाल नाटक महोत्सवको संयोजक भइसकेका थिए भने सो महोत्सवको परिकल्पनाकार मध्येका उनी एक थिए ।

उनी हाल प्रतिष्ठित नाट्य महोत्सव, नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०२५’को लागि संयोजकको जिम्मेवारीमा, बालवाङमय तथा अनुसन्धान केन्द्रका सचिव, नेपालबाल साहित्य समाजकाआजीवन सदस्य, बालरङ्मञ्चको अन्तर्राष्ट्रिय छाता संगठन आसितेजको नेपाल केन्द्र आसितेज नेपालका महासचिव छन् ।

चलचित्र क्षेत्रमा पनि थुप्रै अन्तराष्ट्रिय पुरस्कार विजेता उनी लघु चलचित्र, जुनुको जुत्ता’को निर्देशक, पछिल्लो समयमा अन्तर्राष्ट्रिय महोत्सवमा पुरस्कृत तथा चर्चा कमाएको कथानक चलचित्रहरु ऐना झ्यालको पुतली’ र गाउँआएको बाटो’को कास्टिङ निर्देशक हुन् ।