जनयुद्वको अवधिमा धेरै फौजी मोर्चाहरूमा सहभागी भएँ । सबै मोर्चाहरूका भिन्नाभिन्नै अनुभव र अनुभूतिहरू मानसपटलमा सजिएका छन् । ती लडाइँका मोर्चाहरूमध्ये२०६१ साल मङ्सिर १ गते पृथ्वीराजमार्ग अन्तरगत धादिङ जिल्लाको कृष्णभिर मोर्चा ऐतिहासिक रहन गयो ।
हाम्रो बटालियन म्याग्दी जिल्लाको सदरमुकाम बेनी मोर्चाबाट फर्केपछि नुवाकोट जिल्लाको ४ नं. इलाका साल्मे, भाल्चे फिकुरीतिर स्थानीय पार्टी सङ्गठनसँगै जोडिएर सङ्गठन सुदृढ तथा जनसम्बन्ध विस्तार अभियानमा सहभागी भएको थियो ।
दुई दिनभित्र गोर्खा गुम्दा आइपुग्नू भन्ने खबर ब्रिगेड कार्यालयबाट आएपछि हामी हतारहतार गोर्खा गुम्दा पुग्यौंँ । हामी पुग्दा वासु स्मृति ब्रिगेडअन्तर्गतका सबै बटालियन कम्पनीहरू आइसकेका थिए । गुम्दाको चहलपहल देख्दा हामी ठुलै लडाइँको तयारीमा छाँै भन्ने लागेको भए पनि कहाँको ब्यारेकमाथिको आक्रमण हो भन्ने कुरा थाहा थिएन । तहगतअनुसारका कमान्डर, सहकमान्डरहरूको छुट्टाछुट्टै बैठक अनि प्रशिक्षण र प्राविधिक तयारी (लडाइँमा चाहिने बम गोलाको निर्माण)का लागि विभागका साथीहरू दिनरात खटिनु भएको थियो ।
छलफल र प्राविधिक तयारीको बिचमा गोर्खाघ्याम्पेसाल र आरुघाटबाट शाही सेनाहरू गस्ती गर्दै लापुबेसीमा आइपुगेको खबर इन्टेलिजेन्स विभागका साथीहरूले ल्याउनु भयो । कमान्डरहरूले हतार हतार फाइट फर्मेसन बनाएर टिम विन्यास गर्नु भयो । हाम्रो प्लाटुन फस्ट एसल्टमा परेको थियो । हामी गुम्दाबाट हिँडेर लापु पुग्दा शाही सेनाहरू ब्यारेकतिर नै फर्किसकेका रहेछन् । हामी फेरि गुम्दा नै फर्कियौं । त्यहाँ केही दिन बसेपछि हाम्रो यात्रा सुरु भयो । हामी कतै नजिकै रहेको शाही नेपाली सेनाको ब्यारेक आक्रमणमा जाँदै त छैनौं ? भन्ने हाम्रो अनुमान पनि फेल खायो । गोर्खा गुम्दाबाट सुरु भएको हाम्रो यात्रा लापुबाट बुढीगण्डकी तरेर मान्बु, धादिङको फुलखर्क, सल्यानकोट, सल्यानटार हुँदैै पुनः गोर्खा फुजेलमा पुग्यो । फुजेल गाउँमा एक दिन बसेपछि हामी दर्बुङफाँटबाट उकालो चढेर दर्बुङगाउँमा पुग्यौं ।घ्याल्चोकबाट त्रिशूली नदी पार गरेर चरौँदी बजारपृथ्वीराजमार्ग क्रस गरी धादिङ धुसा उकालो लाग्यौं ।
धादिङ धुसा भन्दा माथिको कान्दा गाउँ जहाँ ६-७ ओटा मात्र घरहरू रहेका थिए । समग्र टिमको व्यवस्थापनमा चितवनबाट अनक मगरको टिम र धादिङबाट ढुण्डुबहादुर सिलवाल (क.रुद्र) को टिम, स्थानीय पितालाल श्रेष्ठले पनि धेरै नै सहयोग गर्नु भएको थियो । हामी ४-५ दिन बसेर लडाइँको अन्तिम प्राविधिक तयारी, टिमको विन्यास, भूगोलको रेक्की साथै बाँकी तयारी पूरा ग¥यौँ ।
पार्टी केन्द्रको योजना र मध्य डिभिजनको निर्देशनमा वासु स्मृति ब्रिगेडको सबै टिम र बेथान स्मृति ब्रिगेडबाट कम्पनी सहकमान्डर सुवास राना (क.रञ्जन) को कमान्डमा एक सेक्सन लडाइँमा सहभागी हुने र समग्र लडाइँको कमान्ड ब्रिगेड कमान्डर यामबहादुर अधिकारी (प्रतीक्षा) र सहकमान्ड प्रकाश रिजाल (वसन्त) ले गर्नु हुने छ भनि जानकारी गराउनु भयो । (प्रकाश रिजाल को २०६२ सालमा रोल्पाको एक लडाइँमा मृत्यु भैसकेको छ ।)
पोखराबाट एक वर्ष अगाडि गिरफ्तार भई धादिङ गजुरी सैनिक हिरासतमा बेपत्ताको अवस्थामा रहनु भएका देवीप्रसाद ढकाल (रवीन्द्र), बुद्धि पाण्डे, बद्री खड्का लगायतका ७ जना कमरेडहरू हिजो मात्र धादिङ गजुरी शाही सेनाको हिरासतबाट डिउटी बसेको सिपाहीलाई आकस्मिक आक्रमण गरी ३ थान हतियार र ५ ओटा ग्रिनेड कब्जा गरी मकवानपुर पार्टी सम्पर्कमा पुगेको खबर गोर्खाका नेता ब्रिगेड कमिसार हितराज पाण्डे (उत्तम) ब्रिगेड रोलकलमा जानकारी गराउँदा हामी खुसीले उफ्रेका थियौँ ।
२०६१ साल मङ्सिर १ गतेको बिहान चरौंदी त्रिशूली पारी सबै तिर कुहिरो लागेको थियो । मङ्सिरको महिना भएकाले पनि चिसो हुने नै भयो । अन्तिम सेल्टर कान्दाबाट अघिल्लो दिन राति ११ बजे नै हामी कृष्णभिर आइपुगेका थियौँ । रातभरी सबै टिम माइन फिट गर्न मै व्यस्त थियो । १४ ओटा माइन राखिएको थियो । हाम्रो टिमले लहरै गमला माइन राख्यो । बिहानपख माइन राख्दैगर्दा रिमोट माइन विष्फोट भयो । विष्फोट भएपछि शाही सेनाले थाहा पायो । अब कुनैपनि समयमा आइपुग्न सक्छ । छिटै सबै तयारी पूरा गरेर आफ्नो आर्क क्लियर देखिने गरी पोजिसन लिन कमान्डर प्रतीक्षाले कासन गर्नु भयो । गजुरी ब्यारेकबाट शाही सेना गाडीमा निस्क्यो ।
कमान्डरको सञ्चार सेटमा गुप्तचर विभागका साथीहरूले खबर गर्नु भयो । हामी कृष्णभिर रोडभन्दा अन्दाजी १५-२० मिटरमाथि ढिस्कोमा बसिराखेका थियौँ । ल अब मलेखु आइपुग्यो । विशालटार आइपुग्यो भन्ने खबर हामीले पनि सुन्यौँ । कमान्डरले हाते माइकबाट सबै टिमलाई एलर्ट गराउँदै शाही सेना अबको केही समयमै हाम्रो आर्कमा आइपुग्ने छ भन्ने जानकारी दिनु भयो ।
हामी फरक खाले लडाइँमा सहभागी हुँदै छौं । त्यो पनि केन्द्रीय राजधानी काठमाडौं नजिक अनि पृथ्वी राजमार्गमा । हाम्रो प्लाटुनलाई आइपरेको जिम्मेवारी कसरी पूरा गर्ने भन्ने बारेमा टिमका साथीहरूलाई सचेत गराएँ । अन्दाजी बिहानको ८ बजे गजुरीबाट सरकारी सेनाको ट्रक आयो । झन्डै पचास मिटरको दूरीमा पछि-पछि बख्तरबन्द गाडी पनि आइरहेको रहेछ । कमान्डरले माइन चार्ज भनेर कासन गर्नु भयो ।
माइन राखेको आर्क भित्र सेनाको गाडी आइपुग्ने बितिकै निसाना बनाएर माइन डयाम्म विस्फोट भयो । कृष्णभिर धुलोको कुहिरी मण्डल भित्र छोपियो । ट्रक हाम्रो बमको निसानामा परे पनि बख्तरबन्द चाहिँ फुत्कियो । सेनाहरू कराउँदै अन्धाधुन्द जि.पि.यम.जि हतियार चलाउन थाले । धुलोभित्र रनभुलमा परेका शाही सेना भएको स्थानमा हामी फस्ट एसल्टमा भएका सबै टिम दौडेर पुग्यौं। उनीहरूको भागाभाग अनि खेदाखेद सुरु भयो । डयाम्म पटटटटटट डुम्म्म्म्म्ममम बम र गोलीको आवाजले वरिपरिको वातावरण नै थर्कियो । सेनाहरू ढलेका र घाइते भएका छरपस्ट थिए । उक्त लडाइँलाई नेपाल वान टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो । आम नेपाली जनसमुदायले घरमै बसेर शाही नेपाली सेना र जनमुक्ति सेनाको प्रत्यक्ष लडाइँ हेरेका थिए । लडाइँमा हामीले भारी मात्रामा शाही सेनाहरूको हतियार कब्जा गरी गाडीमा आगजनी गरेर कब्जामा आएका सेनाहरूलाई नेपाल वानका पत्रकारलाई जिम्मा लगाएर छाडेका थियौं ।
जनमुक्ति सेनातर्फ रोल्पाका कम्पनी कमान्डर रूपलाल वली (लखन) र चितवन भरतपुर १६ फूलबारीका कम्पनी सहकमान्डर दिनेश थापा मगर (अविनाश) सहिद हुनु भयो भने रोल्पाका लालसिंह बुढा मगर (प्रकाश), धादिङ बसेरीका सविन न्यौपाने (अग्नि), चितवन भरतपुरका विश्वनाथ चौधरी (महेश) घाइते हुनु भएको थियो । गम्भीर घाइते साथीहरूलाई प्राथमिक उपचारपछि थप उपचारका लागि भरतपुर लैजान भनि डोको, स्टेचरमा बोकेर चरौंदी बजारमाथि धुसा हुँदैै भरतपुर लैजान पठाएपछि हाम्रो टिम पनि गोर्खा जान घ्यालचोक पुल तरेर उकालो लाग्यो । शाही सेनाको २ ओटा हेलिकप्टरले पिछा गर्दै बमबारी गरिरहेको थियो । उसको आक्रमणबाट बच्दै सुरक्षित सेल्टरमा पुग्नका लागि हामी उकालो लागि रहयौँ लागि रहयौँ । (लेखक–तात्किालिन जनमुक्ति सेनाका बटालीयन सहकमान्डर हुन् )
(यो संस्मण जनयुद्धमा धादिङ पुस्तकबाट साभार गरिएको हो । ०५२–०६२ को अवधिमा धादिङमा राज्यपक्ष र माओवादी पक्षबाट मारिएकाहरुको जिवनी, संस्मरण ऐतिहासिक तस्वीर समेटिएको जनयुद्धमा धादिङ पुस्तक पढ्न इच्छुकहरुले 9851191181 मा सम्पर्क गर्न सक्नु हुनेछ । -सम्पादक)