धादिङ । धादिङको खनियाबास गाउँपालिका वडा नम्बर ५ सत्यदेवीमा चैत्र २७ गते देखि संचालन भएको अन्तरपालिका स्तरीय प्रथम सेक्के स्मृति कप भलिबल प्रतियोगिता आयोजक खनियाबास गाउँपालिका रातोले नै जितेको छ ।
प्रथम हुन सफल खनियावास गाउँपालिका खेलाडीहरु
१. योहान तामाङ
२. सोम ब। तामाङ
३. शिरिस तामाङ
४. मिलन घले
५. बुद्धिमान तामाङ
६. राजकुमार तामाङ
७. सुजन तामाङ
८. सुन सागर तामाङ
९. रमेश तामाङ
५ का वडा अध्यक्ष रवीन कुमार तामाङको सभापतित्वमा भएको उक्त प्रतियोगिता समापन समारोहमा गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङको प्रमुख आतिथ्यता रहेको थियो भने गाउँपालिकाका उपाध्यक्ष सेक्केमान तामाङको विशेष आतिथ्यता सँगै नि. प्रमुख प्रशासकीय अधिकृत नबराज श्रेष्ठको उपस्तिथि रहेको थियो ।
१० टिम सहभागी भएको प्रथम रामबहादुर तामाङ (सेक्के) स्मृति कप अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधी आयोजना टिम खनियाबास रातोले जित्दै १ लाख नगद पुरस्कार सहित ट्रफी, मेडर र प्रमाणपत्र प्राप्त गर्यो भने दोस्रो स्थान रुवीभ्याली गाउँपालिकाले प्राप्त गर्दै ७५ हजार नगद पुरस्कार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो भने तेस्रो स्थान सिद्वलेक गाउँपालिकाले प्राप्त गर्दै ५० हजार नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाणपत्र हात पारेको थियो । धादिङपोष्टका लागि तस्बिर सौजन्यः दुर्गा शाही ठकुरी
सेक्के तामाङबारे जानकारी
गोपाल फ्युबा तामाङ
पश्चिम एक नं को किसान विद्रोह आफैमा एक शक्तिशाली क्रान्ति भएर निस्कियो । वि पि सरकार अपदस्त गर्ने कारणहरु मध्ये एक बन्न गयो । टक्सार, मार्पाक, खनियावास, दार्खामा भएका विद्रोहकै कारण स्थानीय तामाङहरुको आर्थिक अवस्था सुध्रिएका थिए । कम्तिमा अनुचित श्रम शोषण र चर्को व्याजबाट बचेका थिए । यी विद्रोहहरु मध्ये खनियावास विद्रोहका एक अगुवा थिए, रामबहादुर तामाङ उर्फ सेक्के ।
को हुन् त सेक्के ?
पिता जितराम र माता उर्कितका सन्तान हुन् सेक्के । वि।स। १९९० भदौ २० गते हालको सत्यदेवी गाविस वडा नं ६ मा जन्मिएका हुन् । गरिव परिवारमा जन्मिएका उनी १२ वर्षकै उमेरमा स्थानीय सामन्तहरुको घरमा ठाडे हली बसेका थिए । उनले आइती तामाङसँग बैवाहिक लगनगाठो कसेका थिए । उनका १ छोरा र १ छोरी सन्तान भए । सानैदेखि दमन, उत्पीडन र अपहेलनामा परेका सेक्केसँग साहुँ बाजेहरुसँग रिस बाहेक केही थिएन ।
चेतनाको चिराग
गाउँमै गुमनाम रहेका सेक्के लाहुरेहरु मार्फत देशको परिवर्तनको खवर पाउथे । प्रजा परिषदले गरेको राणा विरोधी अभियान र शहिद बनाएको कुरा सामन्तहरु सुनाउथे । केही खुकुलो राणानीति मात्र हैन २००४ सालदेखि त श्री ५ र जनता एक भइ श्री ३ को विरुद्ध लडाइ लडेको थाहा पाउदथे । नभन्दै जनता जागे जस्तै शक्तिशाली सत्ता पनि ढाल्दो रैछ भन्ने चेतना सेक्केमा बढ्दै गयो । उनी काममा अटेरी गर्न थाल्दथे । साहुँ गाली गर्थे एक न एक बहाना गर्थे । शोषण भएको उनलाई थाहा थियो तर प्रतिकारै गर्ने आट भने उनमा थिएन । तै चेतनाको चिराग भने बलेकै थियो ।
चोरको आरोप
एकदिन उनी बाधा बसेको घरमा रु ३०० हरायो । खोजी गर्यो भेटिएन । सबैलाई केरकार गर्यो भेटिएन । अन्नतः पारिवारिक वैठक बस्यो, शंका सेक्केमा गयो । एक मतोले उनी चोर बनाइए । किलामा बाधे, पिटे मरणसन्न हुनेगरी । अहँ उनी बोलेन । काधमा डोरीको सहाराले जातो झुन्ड्याइयो । खड्कुलोमा पानी राखेर सिस्नो झालेर हानियो । लगातार ३ दिन यातना दिदा पनि चोरी आरोप स्विकारेन । पछि काट्ने निधो गरी तरवार निकाल्यो । बचे केही गरौला भन्ने ठानी बच्नको लागि उनले आरोप स्विाकारे । आफुसँगै मुखियालाई पनि मुछ्यो । त्यसबेला भोग्टेनी, आर्चेत, ठुलो आर्चेत र पर गोन्बोङमा चार मुखिया थिए । सबैसँग बाँडेको भनेको आरोप गाउँभरी फैलियो । मुखियाहरु रिसले रन्किएर आए । अर्धलाश सेक्केको गाला चट्काए । सेक्केले भित्रि स्वासले भने, मुखियासाब चोर म पनि हैन तपाई नि हैन, ३ दिनसम्म मेरो यो हाल पार्दा नि कसैले हेर्न नआउदा त्यति भनेको हुँ । माफ पाउँ धन्य तपाइहरुले हेर्नु भो । यत्ति भने । तब मुखियाहरु उनको साहुँसँग रिसाए । अब मर्यो भने तपाईको जिम्मा भनेर मुखियाहरु हिडे ।
मरणबाट मुक्ति
मार्नलाई तयार पारिसकेको सेक्के यातना बढी खप्नु परे पनि मुखियाहरुको आगमनले बन्धनबाट उन्मुक्ति पायो । गाउँमा कसैलाई नभन्ने सर्तमा उनी घर आए । घर आउदा खुट्टा टेक्न सक्ने अवस्था थिएन । शक्ति पनि थिएन, घिस्रिदै घिस्रिदै पुगे घर । केही दिन लास झै सुते । मुखियाहरु हेर्न आए । ए मार्न त मारेन छ । अब तग्रिंने गरी तिउन खाउ भन्ने सुझाव पाए । तर उनीसँग खुराक खाने केही थिएन । मनमा बदलाको भावना मात्रै आइरह्यो । हिडडुल गर्नसक्ने दिनको प्रतिक्षामा रहिरहे ।
काटकुट भैसी
सेक्केले कसैलाई सुनाएन आफ्नो कहानी । आफ्नी श्रीमती र उपचारमा संलग्न बोम्पोलाई बाहेक । यो कुराले बाहुन खुसी भए । उनीहरुको अनुमानको ठिक विपरीत । त्यसैले हप्तादिन पछि भेट्न आए । सेक्केले अब म भैसी पाल्छु, हजुरकोमा काम गर्न सक्दिन । दुध घिउ खाने रहर सुनाए । बाहुनले हुन्छ नि । अहिले पाल मल बनाउ पछि ब्याएपछि ३ महिना पछि मलाई देउ भने ।
भोलिपल्ट सेक्के बाहुनको घरमा गए । भैसी ल्याए । गोम्बोङको चौतारोमा बाँधेर गाउँले बोलाए मासु लिन । मैले बाहुनको भैसी ल्याएको छु, मासु खाउ भनेर दिएको । लौ आउ घरै पिच्छे एकजना । तर कोही निस्किएन । एक दुई जना युवा आए । तर अभिभावकले तुरुन्तै फर्काएर लगे । एक्लै कसाही बने ।
पागल सेक्के
२०१२ सालमा चोर आरोपमा यातना पाएपछि सेक्के विद्रोही बने । भैसी काटेकोमा कचहरी बस्यो । पागल भएको भन्यो । बाहुनहरु आफुले दिएको यातनाको पोल खोल्ला भनी सहमत भए । उनी हातमा मट्यमंग्रा बोकेर हिड्थे । कुनै निहुँ पाउनसाथ बाहुनसँग झम्टिन्थे । टाढाबाट ढुंगा हान्ने नजिक भए चिथोर्ने गर्न थाले । उनलाई सबैले पागल भन्न थाले । कार्य पनि सोही किसिमको गर्न थाले । स्थानीय सामन्तहरु उनीसँग जोगिएर हिड्नु पथ्र्यो । तर केही आन्दोलनकारीलाई सेक्केले प्रशिक्षण दिदै थिए ।
परबु काण्ड
सेक्केले पागलपन देखाउदै थिए । उनी योजनावद्ध पागल बनेका थिए । स्थानीय सामन्तहरु र उनका मतियार मुखियाहरु सेक्केसँग डराउथे । धेरैले पिटाइ खाइसके पनि मुद्धा भने हालिएको थिएन । पागलको काममा के मुद्धा भन्ने ठान्थे । यही बेला परबुबाट धान चोरी गरेको आरोप ६ जना महिलामाथि आरोप लाग्यो । प्लेन्तोङस्या ९पुतली तामाङ०को नेतृत्वमा भएको भनिएको सो चोरी काण्डको आरोपीहरुलाई रुखमा बाँधी वेइज्जत गरियो । गाउँमा गरे सेक्के आउने डरले खुलुलु गङको लाकुरी चौतारीमा नै कचहरी गरियो । सेक्केले यो खबर पाउनासाथ दौडेर गइ कचहरी बिथोले । आचार्य नामको एक दमको रोगी भेटाइ उनलाई कारबाही स्वरुप कालोमोसो दलेर गाउँ घुमाए ।
अवज्ञा चरण
सेक्केको विद्रोही अवरोधको रुप बढ्न थाल्यो । स्थानीय युवाहरु बिस्तारै सेक्केको पागलपनको वास्तविकतासँग परिचित हुन थाले । एक दुई तिन हुँदै विद्रोही मानसिकता बढ्न थाले । स्थानीय सामन्तहरुको हेपाइ र पेलाइको उत्कर्षमा पुगेको थियो । कुनै पनि परिवार शोषणबाट अछुत थिएन । त्यसैले झारा पर्म तिर्न नजान थाले । काममा नजान थाले । बाधा बसेकोहरु भाग्न थाले । हलीहरु रातारात काम नगर्ने भए । सेक्केले साथ पाउदै गए । उत्साह बढ्दै गए ।
चुनावी नारा मुक्ति र घर
२०१५ सालको आम चुनाव भयो । स्थानीय साहुमहाजनहरु बाहेकमा घरको चिन्ता थियो । खानाको चिन्ता थियो । ऋणको चिन्ता थियो । आफ्नो घरखेतको तमसुक र राजीनामा स्थानीय महाजनहरुको खल्तीमा थियो । त्यसैले उनीहरु क्रान्तिकारी नारा बोकेका कांग्रेससँग नजिक भए तर चुनाव चिह्न गोरखा परिषदको घर भएकोले ललितमानको जीत भयो । सेक्के मुक्तिको पक्षमा थिए तर जीत घरको भयो । चुनावी परिणामले स्थानीय तहमा खासै फरक पारेन । सेक्के लगायतकाहरु नियमित अभियानमै थिए । महत्वपूर्ण विद्रोहको लागि तयारी गर्दै थिए ।
सेक्केको लाहुरे भेट अभियान
सेक्केले यो बुझे की तालिमबिनाको गोदाइले सक्दैन । योजना महान रहे पनि तयारी गर्न मजबुत हुनुपर्ने ठानी छुट्टीमा आउने लाहुरे भेट गर्न थाले । प्रत्यक्ष आक्रमण गर्न नसेकेको कुरा गरे । गाउँमा आएका एक दुईजना लखाटेर अन्याय अत्याचार र शोषण बाट मुक्ति नहुने बताए । सोही क्रममा दामन पाख्रिनसँग पनि भेटेका थिए ।
वाहिरी अन्न टिप्न आह्वान
ज जसले जुन जुन खेत रोपेको हो त्यस्को कोदो टिप्न आह्वान गरे । जनताले सो बमोजिम गरे । पशु धनमा पनि विस्तारै हैकम जमाउन लागे । जस्ले पालेको हो उसैको घरमा रहने भो । त्यस्को अगुवा सेक्केले गरे । भौतिक कार्वाहीमा दामन झन कडा निस्किए । दिनहुँ कोही न कोही कारबाहीमा पर्न थाले । पक्रने गाउ घुमाउने, तर्साउने, धम्क्याउने गर्न थाले । प्रतिकार गर्नेहरुले झन कडा पिटाइ भेटे । सेक्के कस्लाई कुन किसिमको कार्वाही गर्ने भनि किटान गर्थे । सोही बमोजिम हुँदै गए ।
खनियावास काण्ड
२००४ सालदेखिको उकुसमुकुस २०१६ मंसिरमा देखिने भयो । जाली तमसुक स्वयं नष्ट गर्न दिएको म्याद कटेपछि २०१७ असारमा घर घरमा समेत आक्रमण गर्न पुगे । त्यहाका स्थानीय रिजालहरु घर छोडी जानै पर्ने भो । एक पछि अर्को घरमा रहेको तमसुक खोजी गर्न थाल्यो । अनियन्त्रित भिडले तमसुक मात्र हैन धन सम्पत्ति पनि लान थाले ।
लुटपिट मुद्धा
अन्तत्वगत्वा सेक्केलाई खनियावास काण्डको मतियारको रुपमा पक्राउ गरियो । पछि मेलमिलाप गरियो । फर्कियो तर पुनः पक्राउ गरी जेलमा राखियो । ७ वर्ष जेलमा बसि फर्कियो । त्यसपछि उनी गुमनाममा बसे ।
जिन्दगी मुद्धामा
वाहिरी दुनियामा नेतृत्वमा आएनन् सेक्के । आफ्ना आन्दोलनकारी साथीहरु नेपाली कांग्रेस निकट राजनीतिमा लागे । कोही बेपत्ता भए कोही शहिद भए । निर्वासनमा गए , तर सेक्के आफ्नै घरवार सम्हाल्न बसे । आफु बसेको घर पनि आफ्नो नाममा थिएन । धेरै तामाङहरुले आफ्नै घरजग्गा पनि मूल्य तिरेर लिए । तर सेक्के पैसा पनि तिरेन घरबारी पनि छोडेन । बरु मुद्धा लडे । मुद्धामा सहयात्रीहरुले नसघाएको उनलाई तितो लाग्थ्यो । अन्तत मुद्धा जिते ।
गाउँ छोडेर अर्को गाउँमा
बुढेसकालमा साहारा सुविधाको खोजिमा धादिङ सदरमुकाम नजिक सांकोषमा बसाइ गर्न थाले । एउटा महत्वपुर्ण आन्दोलनका अगुवा गुमनाम विरानो भए । न कसैले खोजे न कसैले सोधे । धुमधुमती बाचिरहेको जीवन १६ वर्ष अघि दुःखत निधन भए ।
अन्त्यमा
उनको निधन दुःखत थियो । योभन्दा बढी दुःख त उनका परिवार थिए, आन्दोलन गरेकै कारण कहिल्यै क्षेत्रीबाहुनको आफ्नो नभएको उनलाई पञ्चायतले पनि पेल्यो । पञ्चायतमा लागेका आफ्नै गाउलेले दिएको पीडा स्मरणीय छ । मुक्तिको लागि लगातार लागेर जेलमा समेत परेका सेक्केको उचित सम्मान गर्न चुकेकै हो । अहिलेको पुस्ताले उनको बारे सकारात्मक धारणा बनाउनु पर्दछ । उनको सम्मानार्थ थप खोज अध्ययन गरिनु आवश्यक छ ।