उपनिर्वाचनका लागि आज मनोनयन

Avatar photo
Dhadingpost
सोमवार, चैत्र २०, २०७९

काठमाडौं । १० वैशाखमा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । चितवन २, तनहुँ १, बारा २ मा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । चितवन २ र तनहुँ १ मा सत्तारूढ गठबन्धन, एमाले र रास्वापबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । बारा २ मा भने जनमत पार्टीलाई पनि मुख्य प्रतिस्पर्धीका रूपमा हेरिएको छ । चितवन २ मा सत्तारूढ गठबन्धनबाट कांग्रेसका जितनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने र रास्वपाका रवि लामिछाने उम्मेदवार बन्ने तय भएको छ । तनहुँ १ मा सत्तारूढ गठबन्धनबाट कांग्रेसका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खनाल र रास्वपाका स्वर्णिम वाग्लेले उम्मेदवारी दर्ता गर्दै छन् ।

बारा २ मा सत्तारूढ गठबन्धनबाट जसपाका उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र कुसवाह र रास्वपाबाट रमेश खरेल उम्मेदवार बन्दै छन् । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले आइतबार मात्रै यादवलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छ । लोसपाले वरिष्ठ नेता राजेन्द्र महतोलाई उम्मेदवार बनाउने तयारी गरे पनि अन्ततः यादवलाई समर्थन गर्ने निर्णय गरेको छ । एमालेले उम्मेदवार टुंग्याउन बाँकी छ । एमालेले बारा २ को उम्मेदवार छान्ने जिम्मा अध्यक्ष केपी ओलीलाई दिएको छ ।

निर्वाचन आयोगका अनुसार गत ४ वैशाखको निर्वाचनमा भन्दा आगामी उपनिर्वाचनमा चितवन २ र बारा २ मा मतदाता बढेका छन् भने तनहुँ १ मा मतदाता घटेका छन् । चितवन २ मा चार सय ७०, बारा २ मा दुई सय ३७ मतदाता थप भएका छन् भने तनहुँ १ मा भने एक सय ८५ जना मतदाता घटेका छन् । गत निर्वाचनमा चितवन २ मा १ लाख २४ हजार दुई सय १५, बारा २ मा एक लाख पाँच हजार ११, तनहुँ १ मा एक लाख २३ हजार चार सय ९० मतदाता थिए ।

निर्वाचन आयोगका अनुसार चितवन २ मा ४३ वटा मतदानस्थलमा एक सय ३८ मतदान केन्द्र, बारा २ मा ८२ मतदानस्थलमा एक सय ३७ मतदान केन्द्र र तनहुँ १ मा ६९ मतदानस्थलमा एक सय ५२ मतदान केन्द्र रहनेछन् । चितवन २ र तनहुँ १ मा गत निर्वाचनमै रहेका मतदानस्थल र केन्द्र यथावत् रहेका छन् भने बारा २ मा एक मतदान केन्द्र थपिएको आयोगले जनाएको छ ।