नोहक गुफामा बेनीघाट रोराङको कार्यपालिका बैठक सम्पन्न (फोटो फिचर)

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन २०, २०७९

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका ८ स्थित एशियाकै ठुलो नोहक गुफामा गाउँ कार्यपालिकाको बैठक आज विहान सम्पन्न भएको छ । नोहक गुफा प्रवद्र्धनका लागि राजनीतिक दलका प्रतिनीधि, विभिन्न संघ संस्थाका प्रतिनीधि र संचारकर्मी सहित १५० जना भन्दा बढी जम्बो टोली शुक्रबार गाउँपालिका कार्यालयबाट नोहक गुफाको लागि यात्रा गरेको थियो ।

बाटोको बीच बीचमा टोलीलाई स्थानीयहरुले भव्य स्वागत गरेका थिए । उक्त टोली शुक्रबार साँझ घाङवाङ पुगेर बास बसेको थियो भने शनिबार बिहान ८ बजे गुफा पुगेको थियो । गुफा परिसरमा कार्यपालिकाको बैठक बसेर नोहक गुफा प्रचार प्रसारको लागि जोड गने, आगामी वर्ष नोहक गुफा महोत्सव गर्ने, महोत्सव अगाडी नै घाङवाङ गाउँलाई होमस्टेका रुपमा विकास गर्ने निर्णय गरेको थियो ।

बैठकबाट नोहक गुफाको विकास, पर्यटन प्रवर्द्धन, विकास तथा विस्तारका लागि गाउँपालिकाले नोहक गुफा विकास समितिको गठन गर्ने निर्णय गरेको छ । बैठकमा गुफा र गुफासम्म पुग्ने बाटो, खानेपानी, विद्युत्, सञ्चार लगायत भौतिक पूर्वाधारहरूको विकास गर्ने, गुफाको प्रचारप्रसार गरी पर्यटकहरूमाझ पुर्‍याउने र पर्यटन प्रवर्द्धन गर्ने लगायत विषयवस्तुहरूमा छलफल भएको थियो।

निर्णयहरु सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया विवेकले ९९ करोड प्रदेश सरकारबाट बजेट विनियोज भैसकेकोले एक वर्षको अवधिमा नोहक गुफा नजिक सम्म सडक विस्तार हुने हुँदा यात्रा सहज बन्ने बताएका थिए । धादिङ बेनीघाट रोराङमा रहेको एशियाकै ठुलो गुफा प्रचार प्रसार हुन नसकेकोले प्रचार प्रसारमा जोड गरिदि आग्रह गरेका थिए ।

वैठकमा गाउँपालिकाका उपप्रमुख टाप बहादुर श्रेष्ठले गुफाको प्रचारप्रसार गरी पर्यटनको प्रवर्द्धन गर्न सके गाउँपालिकाको मात्रै नभएर देशकै गरिमा बढ्ने र गाउँपालिकाको आर्थिक विकासको मेरुदण्ड बन्ने बताए । स्थानीय अति सीमान्तकृत चेपाङ समुदायको जीवनस्तर उकास्नका लागि गुफा वरदान भएको उनले बताए ।

बैठकमा राय राख्दै नेपाली कांग्रेस बेनीघाट रोराङका सभापति ऋषिनाथ त्रिपाठीले गुफाको प्रचारप्रसार र आवश्यक भौतिक पूर्वाधारहरूको विकासमा गाउँपालिकाले विलम्ब गर्न नहुने बताए । गुफाको प्रवर्द्धन गरी पर्यटनबाट गाउँपालिकाको आर्थिक विकासमा टेवा पुग्ने हिसाबले कार्यक्रमहरू अगाडि बढाउन सभापति त्रिपाठीको सुझाव थियो ।

नेकपा माओवादी केन्द्र, बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष राजेन्द्र कँडेलले गुफाको प्रचारप्रसारमा टेवा पुर्‍याउने हिसाबले गाउँपालिकाले गाउँ कार्यपालिकाको बैठक गुफामा राख्नु ऐतिहासिक कदम भएको बताए । बैठक गुफाको प्रचारप्रसार र पर्यटन प्रवर्द्धनमा कोशेढुङ्गा साबित हुने अध्यक्ष कँडेलको भनाइ थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी, बेनीघाट रोराङका अध्यक्ष सन्तोष धरेलले गुफाको बारेमा अझै पनि थुप्रै खोज अध्ययन अनुसन्धान जरुरी रहेको बताए । गुफाको प्रचारप्रसार, प्रवर्द्धन र विकासका लागि निरन्तर लागिपर्न आवश्यक रहेको उनको भनाइ थियो ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङको चरौँदी बजारबाट करिब २४ किलोमिटरको दुरीमा गुफा अवस्थि छ । अहिले करिब १५ किलोमिटर, दुमपाङसम्म बाटो बनेको छ । दुमपाङबाट तीन करिब ३ घण्टाको पैदल यात्रापछि घाङवाङ भन्ने गाउँमा पुग्न सकिन्छ । घाङवाङबाट १ घण्टाको पैदल यात्रापछि गुफामा पुग्न सकिन्छ ।

पर्यटकहरूले स्थानीय पथप्रदर्शक विना गुफामा भ्रमण गर्न मिल्दैन । गाइडविना गुफामा प्रवेश गर्दा हराउने सम्भावना हुन्छ । घण्टौँसम्म घुम्दा पनि नटुङ्गिने गुफाभित्र थुप्रै मार्गहरू रहेका छन् । स्थानीय चेपाङ समुदायले पथप्रदर्शकको काम गर्दछन् । त्यसबापत केही शुल्क लिने गरेका छन् ।