धादिङबेसीमा पहिलो पटक सहकारी बजार सुरु

Avatar photo
Dhadingpost
बिहिबार, पुस १४, २०७९

धादिङ । धादिङ जिल्ला मै पहिलो पटक कृषि ज्ञान केन्द्र र सहकारी संघ धादिङको समन्वयमा जिल्ला स्तरीय सहकारी बजार संचालनमा आएको छ । सहकारी महासंघका केन्द्रीय अध्यक्ष मिनराज कडेलले एक कार्यक्रमका बीच आज उद्घाटन गरे सँगै धादिङबेसीमा पहिलो पटक सहकारी बजारको संचालनमा आएको हो ।

बागमती प्रदेश सरकारले कृषि ज्ञान केन्द्रको प्रशिक्षण केन्द्र रहेको ३ रोपनी जग्गा सहकारी बजार संचालन गर्न दिने निर्णय गरेसँगै पुरानो भौतिक संरचनालाई मर्मत गरि ७० लाख खर्चेर पूर्वाधार निर्माण गरिएको थियो ।

दशैं लग्गतै बजार संचालन गर्ने भनिए पनि ढिलाई गर्दै आजबाट औपचारिक रुपमा बजार सुरुगरिएको जिल्ला संघका राजेश अधिकारीले धादिङपोष्टलाई बताए । स्थानीय कृषि उत्पादनलाई सिधै सहकारी बजारसँग जोडिने छ । किसान र उपभोक्त बीचको दलाली दलालीकरण अन्त्य हुने छ जसले किसानले उचित मुल्य पाउने र उपभुक्ताले सुलभ मुल्यमा खरिद गर्न सकिने उनले धादिङपोष्टलाई बताए ।

सहकारी बजार संचालनको लागि कृषि ज्ञान केन्द्रका प्रमुख संयोजक, कृषि ज्ञान केन्द्रको योजना शाखा प्रमुख सदस्य सचिव, सहकारी संघको अध्यक्ष पदेन सदस्य र प्रारम्भिक सहकारीहरु मध्यबाट २ जना रहने गरि बजार संचालक समिति बनेको बताईएको छ ।

नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र यूएनडिपीको संयुक्त कार्यक्रम ‘सहकारी बजार विकास कार्यक्रम (सीएमडीपी) को आर्थिक सहयोगमा यो जिल्ला स्तरीय सहकारी बजार संचालनमा आउन लागेको हो । स्थानीय कृषि उत्पादन फलफूल तथा तरकारीमा हाल कायम बिचौलिया प्रणालीको अन्त्य गर्दै कृषक र कृषि उपजको सिधै बजारसम्म पहुँच स्थापित गर्ने उद्देश्यले सीएमडीपी कार्यक्रम सञ्चालनमा ल्याइएको हो । सीएमडीपी परियोजना स्थानीय कृषकका लागि भनेर छुट्याइएको कार्यक्रम हो ।