धादिङबेसीमा सहकारी बजारको लागि भवन निमार्ण जारी

Avatar photo
Dhadingpost
बिहिबार, साउन १९, २०७९

धादिङ । धादिङमा जिल्ला पहिलो पटक कृषि ज्ञान केन्द्र र सहकारी संघ धादिङको समन्वयमा जिल्ला स्तरीय सहकारी बजार संचालनमा आउने भएको छ । दशैं लग्गतै बजार संचालनमा आउने गरि भौतिक संरचना निमार्णकार्य सुरुभएको सहकारी संघ धादिङका दोलख गुरुङले बताए ।

सहकारी बजार संचालनको लागि कृषि ज्ञान केन्द्रका प्रमुख संयोजक, कृषि ज्ञान केन्द्रको योजना शाखा प्रमुख सदस्य सचिव, सहकारी संघको अध्यक्ष पदेन सदस्य र प्रारम्भिक सहकारीहरु मध्यबाट २ जना रहजे गरि बजार संचालक समिति बनेको र भौतिक संरचना निमार्ण भए लग्गतै दशैं पछि समितिले बजार संचालन गर्ने बताईएको छ ।

नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र यूएनडिपीको संयुक्त कार्यक्रम ‘सहकारी बजार विकास कार्यक्रम (सीएमडीपी) को आर्थिक सहयोगमा यो जिल्ला स्तरीय सहकारी बजार संचालनमा आउन लागेको हो ।

स्थानीय कृषि उत्पादन फलफूल तथा तरकारीमा हाल कायम बिचौलिया प्रणालीको अन्त्य गर्दै कृषक र कृषि उपजको सिधै बजारसम्म पहुँच स्थापित गर्ने उद्देश्यले सीएमडीपी कार्यक्रम सञ्चालनमा ल्याइएको हो । सीएमडीपी परियोजना स्थानीय कृषकका लागि भनेर छुट्याइएको कार्यक्रम हो तर बागमती प्रदेशका नुवाकोट, धादिङ, मकवानपुर, चितवन, ललितपुर र काभ्रेपलाञ्चोक सहकारी संघले उक्त वजेट आफ्नो भवन निर्माणमा खर्च गरिरहेका छन् ।

नुवाकोट, चितवन र काभ्रेपलाञ्चोकले सोही कार्यक्रमको पैसाले व्यावसायिक भवन बनाई सक्दा धादिङ र मकवानपुर सहकारी संघले आवश्यक जग्गा तथा उपयुक्त स्थान नमिल्दा केहि समय होल्डिङमा रहन पुगे तथापी बागमती प्रदेश सरकारले कृषि ज्ञान केन्द्रको प्रशिक्षण केन्द्र रहेको ३ रोपनी जग्गा सहकारी बजार संचालन गर्न दिने निर्णय गरेसँगै यो कार्यक्रम अगाडी बढेको हो ।

बजार संचालनमा आए सँगै जिल्ला उत्पादन भएका तरकारी तथा फलफुल बजारमा होलसेल मुल्यमा किनबेच गर्न सकिने बताईएको छ । यद्यपि, पाँच वर्षका लागि सञ्चालित यो कार्यक्रम आगामी ३१ जनवरी, २०२३ मा सकिदैछ । स्थानीय कृषि उत्पादनलाई सिधै बजारसँग जोड्ने गरी परियोजना अघि बढाएपनि सो परियोजनाको उद्धेश्य पूरा भई नसकेको र लक्ष्यमा पुग्न पनि यसको निरन्तरता खाँचो रहेको जिल्ला संघहरुदे बताउँदै छन् ।