- बि.सं.२०१९ साल पुस २ गते स्वीकृत
- कटुसको स्याउलाको छानो
- एक शिक्षक बराबरको मासिक रु.३०।– मात्रै
श्री निरञ्जना माध्यमिक विद्यालय धादिङ जिल्ला भित्रकै एक गौरव ईतिहास बोकेको विद्यालय हो । यो धादिङ जिल्लाको उत्तरी पूर्वी भेग साविकको मार्पाक गाविस वडा नम्बर २ र हाल नेत्रावती डवजोङ गाउँपालिका वडा नम्बर १ मिलनबजार मार्पाकमा रहेको छ । निरञ्जनादेवीको नाउँबाट बि.सं.२०१९ साल पुस २ गते तत्कालिन जिल्ला शिक्षा निरीक्षकको अफिस धादिङको च.नं.५४ को पत्रअनुसार ‘‘श्री सेक्रेटरी निरन्जना प्राईमरी स्कूल मार्पाक, तपाईको मार्पाक पञ्चायतको निरन्जना प्रा.स्कूललाई मिति २०१९/०२/२१ देखि स्वीकृती दिईएको छ । शिक्षा मन्त्रालय विभाग प्राथमिक शिक्षा उपशाखाको रुल नियम बमोजिम पढाई चालू गर्नुहुदैं’’ भनेर निमित्त जिल्ला शिक्षा निरीक्षक कमलीकान्तबाट प्राप्त पत्रको आधारमा स्थापना भएको विद्यालय हो ।
भारत सरकारको भारतीय शिशुबोर्डको आर्थिक सहयोग वार्षिक अनुदान रु ९००।– ( ने.रु.) एक शिक्षक बराबरको मासिक रु ७५।–प्राप्त गरी अध्ययन गरिन्थ्यो । तर तत्कालिन विद्यालय संचालक समितिका सदस्य एवम् समाजसेवी स्व.नोट्मान सिंह थापाको भनाईलाई उद्धृत गर्दै त्यस बेला पढाउने शिक्षक स्व.कृष्ण बहादुर कार्कीलाई धान, कोदो, मकै र हुने खानेले सुका, मोहर संकलन गरी रु ३०।–(तीस रुपैयाँ) बराबर मासिक तलव दिने गरेका थिए । विभिन्न शक्ति संघर्षका बाबजुद १–५ कक्षा संचालन गर्ने स्वीकृती प्राप्त भएपछि शिक्षकको अभाव हुन थाल्यो, बाहिरबाट शिक्षक खोजेर ल्याउने क्रममा २०२८ सालमा गोर्खा जौबारीका कक्षा १० कक्षा उत्तीर्ण यमनाथ सापकोटा सक्षमता र लगनशिलताले स्थायित्वको रुप लिन थाल्यो । त्यस बेलाको विद्यालय संरचनामा १–३ प्रा.वि.,४–७ नि.मा.वि. र ८–१० मा.वि. कक्षा संचालन हुन थाल्यो र यस बिद्यालयले २०३४ सालमा नि.मा.वि. कक्षा संचालन गर्ने अनुमति प्राप्त भएपछि योग्यता पुगेका शिक्षकहरुको अभाव झन खट्कियो । जब मैले २०३५ सालमा आई.एड. पूरा गरें । म निमार्चोक प्रा.वि.मा कार्यरत रहेकोले २०३६ मा मलाई निरञ्जना नि.मा.वि. हालको निरञ्जना माविमा सरुवा गरियो ।
२०३६ साल भाद्र २० गते देखि निरञ्जनाको शैक्षिक विकासमा निरन्तर लागि रहँदा त्यहाँका अभिभावकहरुको न्यानो माया, शिक्षक साथीहरुको साथ र सहयोग, छात्र–छात्राहरुको स्नेह र राजनीतिक नेताहरुको सहयोग र प्रेरणा, जिल्ला शिक्षा कार्यालयको प्रोत्साहनबाट ०४२ सालमा मा.वि. अस्थायी रुपमा संचालन स्वीकृती र २०५२ साल पौष ९ गते स्थायी स्वीकृती प्राप्त भयो । अस्थायीकै क्रममा २०५१ सालमा सामुदायिक विद्यालयहरु मध्ये एस.एल.सी.परीक्षामा जिल्ला प्रथम हुने अवसर पनि यस विद्यालयलाई प्राप्त भयो । विद्यार्थी संख्या ५०० भन्दा बढी निजी श्रोतबाट भएपनि अभिभावकहरुको साथ र सहयोगबाट बिद्यार्थी अनुपातमा शिक्षकको व्यवस्थाका कारण २०६५/०६६ बाट कक्षा ११ र २०६६/०६७ मा कक्षा १२ संचालन गरी राम्रै नतिजा अनुसार हाल २०७७ देखि प्राविधिक धार सिभिल इन्जिनियर पढाई हुनु बिद्यार्थी र अभिभावकलाई सन्तुष्टि प्राप्त र त्यस क्षेत्रमा शैक्षिक उन्नयनले फड्को मारेको अनुभूति सबैमा भएको छ ।
त्यस विद्यालयमा शुरु देखि प्र.अ.को रुपमा स्व.कृष्णवहादुर कार्की, यमनाथ सापकोटा, २०२८ देखि २०३६ भाद्र, केशरीप्रसाद पन्त २०३६ देखि २०७० असार, २०७० असार देखि २०…. सम्म दिव्येश्वर अधिकारी र हाल विकास थापा मगर कार्यरत हुनुहुन्छ भने संचालक समिति/व्यवस्थापन समिति मा संस्थापक अध्यक्ष स्व.लालबहादुर अधिकारी, स्व.नोट्मान सिंह थापा, स्व.गणेशबहादुर कार्की, जीतबहादुर गुरुङ, धनबहादुर गुरुङ, जनक अधिकारी, तेजबहादुर अधिकारी, चन्द्रबहादुर अधिकारी, शुक्रबहादुर तामाङ, उत्तम अधिकारी र हाल डोलबहादुर अधिकारीहरुको विद्यालय प्रतिको योगदान महत्वपूर्ण देखिन्छ ।
साथै विद्यालयलाई समस्या परेको अवस्थामा सहयोग पु¥याउनुहुने राष्ट्रिय पञ्चायतका सदस्य स्व.योगेन्द्रसिंह थापा, भू.पू.गृहमन्त्री बुद्धिमान तामाङ, जिल्ला शिक्षा अधिकारी राज्यलक्ष्मी नकर्मी र उहाँका बुबा सानुमान नकर्मी लगायत विभिन्न तह र तप्काका सम आदरणीय विद्यालय प्रति उज्ज्वल भविष्यको कामना गर्नुहुने शुभचिन्तकहरुको योगदानले गर्दा आज यो निरन्जना माध्यमिक बिद्यालय कटुसको स्याउलाको छानोबाट ठूला–ठूला भवनहरुमा परिणत भै शिक्षाको गुणस्तरीय बृद्धिमा राष्ट्रको एउटा बलियो खम्बाको रुपमा उभिएको छ । आशा गरौं भविष्यमा यो विद्यालय उच्च शिक्षा दिन सफल हुनेछ । जय निरञ्जना!!!