धादिङबाट प्रचण्डलाई सन्देश

Avatar photo
Dhadingpost
शनिबार, मंसिर १०, २०७९

केपी शर्मा ओलीको असंवैधानिक कदमका विरुद्ध बनेको गठबन्धनले स्थानीय चुनाव हुँदै यो संघ र प्रदेशको चुनाव पार गरेको छ । संविधानको रक्षा र विकास र समृद्धिका लागि एकठाउँमा उभिएका सत्ता साझेदार दलका नेताहरु एक मतका साथ देखिएपनि यो निर्वाचन को नतिजाले गम्भीर प्रश्न उब्जाई दिएको छ ।

अब माओवादी ओली प्रवृत्तिमा अल्झन हुँदैन गठबन्धन आवश्यक थियो त्यो औचित्य पुष्टि भई सकेको छ । तथापी एउटै कारण ओली प्रवृति र ओली अहंकारका लागि गठबन्धन भनिनु सधैं जायन हैन । समयमै यो कुरा नबुझ्दा यो चुनावमा हामी माओवादीलाई योजनावद्ध ढंगबाट हराईएको छ त्यो पार्टी पार्टी नेतृत्व प्रचण्डले बुझन जरुरी छ ।

हिजो गठबन्धन भन्दै हिड्यो, आफ्नो चुनाव चिन्ह विर्सिएर भोट हाल्न तपाईले हामी जस्ता इमान्दार कार्यकर्तालाई वाध्य पार्नु भयो । अहिले गल्ली-गल्लीमा हाम्रो भोटले जितेका उम्मेदवार एकल विजय जुलुस मनाउँदै हिड्न थालेका छन् । हाम्रा उम्मेदवारहरुलाई भोट नहालेको र जानी जानी माओवादी उम्मेदवारलाई हराएको सामाजिक संजालमा कांग्रेस कार्यकताहरुले अभिव्यक्ति दिदा समेत हाम्रो पार्टी बोल्दैन । यो कस्तो खालको गठबन्धन गर्नुभएको कमरेड ।

हामीलाई भोट क्रस गर्दा कार्वाही डर देखाईयो । कांग्रेसमा हामीले हालेनौं माओवादीलाई भोट भन्दा न कांग्रेस बोल्छ न हाम्रो पार्टी । के यो गठबन्धन कलम र रुखलाई जिताउन थियो ? कमरेड प्रचण्ड पार्टी सिध्याएर अरु सँग तालमेलको अर्थ छैन भन्ने चुनावी नतिजाले दिएको अब त यहाँले पनि मनन् गर्नुभयो होला ।

यो चुनावमा जुन ढंगले घण्टीको उदय भयो यो सामान्य सोचियो, हावा वतासका रुपमा लिईयो भने झनै पार्टी कमजोर हुने निश्चित छ । कमरेड प्रचण्ड तपाई नेपाली राजनीतिको कमाण्डर हुनुहुन्छ । अब पनि पार्टीलाई सुदृढिकरण गरेर पार्टी संगठनलाई बलियो बनाउन थाल्लु भएन र फेरि अर्को चुनावमा गठबन्धनको सहारा लिने सोचमा हुनुभयो भने, अर्को हुरी आउने छ त्यो हुरीले हामी सबैलाई उडाउने संकेत अहिले नै देखिई सकेको छ ।

अब संगठन विनाको पार्टी, इमान्दार कार्यकर्ता विनाको संगठन जनताले पत्याउँदैनन् । तसर्थ सत्ता तिर भन्दा पार्टी निमार्ण तिर ध्यान दिन अध्यक्ष कमरेडलाई मेरो सुझाव छ । सत्तामा गएका हाम्रा नेता तथा कार्यकर्ताको अहिलेको आर्थिक हैसियत हर्ने हो भने अपवाद बाहेक सबैको अचम्म पार्ने खालको छ । अनि जनता र पछिल्लो पुस्ताले नयाँ वैकल्पित शक्ति किन नखोज्ने । यस तर्फ गम्भिर समिक्षा होस् र सत्तामा जान हैन पार्टी निमार्णमा ध्यान दिन अध्यक्ष प्रचण्डलाई अनुरोध गर्दछु ।