धादिङ क्रिकेट लिगको उपाधी त्रिपुरासुन्दरीलाई

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक ७, २०७९

धादिङ । धादिङ क्रिकेट संघले आयोजना गरेको जिल्ला स्तरीय अन्तरपालिका टी २० क्रिकेट प्रतियोगिताको उपाधी धुनिबेसी नगरपालिकालाई पराजित गर्दै त्रिपुरासुन्दरी गाउँपालिकाले जितेको छ । धुनीबेसीलाई ४ विकेटले हराउदै त्रिपुरासुन्दरीले उपाधि हात पारेको हो । यो संगै च्याम्पियन त्रिपुरासुन्दरीले १ लाख ३० हजार र उपविजेता धुनीबेसीले ७५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

बिशालटारको चन्द्रोदय खेल मैदानमा भएको फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको धुनीबेसी नगरपालिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११२ रन जोडेको थियो। धुनीबेसीले सुरुवात बाट नै विकेट गुमाउदै गएता पनि ओपनर कौशल रुपाखेतीले क्रिसमा समालेर ब्याटिङ गरे । उनले ५९ रन ७ चौका र ५ छक्काको सहित सर्वाधिक ७६ रनको योगदान दिए । संस्कार पाठकले १२ रन बनाए। अन्य ब्यटरको प्रदर्शन सम्झन लायक रहेन। त्रिपुरासुन्दरी गाउँपालिकाका तिब्रगतिका बलर बिशाल थपलियाले ४ ओभरमा १५ रन खर्चिएर २ विकेट लिए । बुबा र छोराको जोडीले ३ विकेट लिए । बुबा उदय थापाले २ विकेट लिए । छोरा अमृत थापाले १ विकेट लिए ।

११३ चुनौतीपूर्ण लक्ष्य पछ्याएको त्रिपुरासुन्दरी गाउँपालिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११६ रन बनायो । १० ओभरमा २ विकेट गुमाउदै त्रिपुरासुन्दरीले ५० रन बनाएको थियो । १०औ ओभरको दोस्रो र तेस्रो बलमा धुनीबेसीका समिर तिमल्सिनाले उदय थापा र सहिल भण्डारीलाई बोल्ड गर्दै धुनीबेसीलाई खेलमा फर्काएका थिए । ३० बलमा ३० रन आवश्यक रहदा त्रिपुरासुन्दरीले ५औ विकेटको रुपमा सौरब थपलियाले ९ रन बनाएर आउट भए । १४ बलमा १४ रन आवश्यक रहदा त्रिपुरासुन्दरी ६औ विकेटको रुपमा राम बहादुर रानाको विकेट गएको थियो । अन्तिम ६ बलमा ५ रन आवश्यक रहदा २०औ ओभरको पहिलो बलमा कप्तान अमृत थापाले कौशललाई चौका प्रहार गरेका थिए । दोस्रो बलमा बाईको रुपमा चौका हुदा त्रिपुरासुन्दरीले उपाधी जितेको थियो । कप्तान अमृत थापाले ५८ बलमा ७ चौका र ६ छक्काको मद्दतमा ७६ रन प्रहार गरे ।धुनीबेसीका सुनिल बानियाले ४ ओभरमा २५ रन खर्चिएर २ विकेट लिए । समिर तिमल्सिनाले पनि २ विकेट लिए ।

जिल्लाका ८ वटा गाउँपालिकाले भाग लिएको यस प्रतियोगितामा खेलको म्यान अफ द म्याच अमृत थापा भए । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी अमृत थापा बने । त्रिपुरासुन्दरीलाई उपाधी दिलाउन अमृत थापाले ९७ बलमा १३५ रन बनाउदै १२ विकेट लिएका थिए भने प्रतियोगिताका उत्कृष्ट बलर पनि अमृत थापा भए । उत्कृष्ट ब्यटर धुनिबेसीका कौशल रुपाखेती भए । कौशलले प्रतियोगितामा १६८ बलमा २३९ रन बनाएका थिए ।