दशैंमा खेलिने पिङको इतिहास

Avatar photo
Dhadingpost
आइतवार, अशोज १६, २०७९
बन्दीपुरमा पिङमा मच्चिदै एक महिला २०२३ साल असोज

धादिङ । पिङलाई नेपाली बृहत् शब्दकोशमा (रूखका हाँगामा वा चारतिर चारवटा बाँस गाडी तिनका टुप्पामा बाँधिएका गरालामा डोरी झुन्ड्याएर झुलेर वा मच्चाएर खेल्ने साधन) भनेर लेखिएको छ । नेपालका गाउघरमा हवाईजहाज बन्नुभन्दा पहिले र अझै पनि हवाईजहाज चढ्न नसक्नेहरूले वर्षमा एकपटक भएपनि दशैंमा टिका लगाए पछि पिङ खेलेर जमीन छाड्नुपर्छ भन्ने चलन छ । विशेषगरी दशैंको बेलामा पिङको महत्त्व छुट्टै रहेको पाइन्छ ।

पिर्के पिङ जसलाई अर्को भाषामा रंगते पिङ पनि भनिन्छ । एक प्रकारको नेपाली चलन चल्तिमा रहेको संस्कृति हो भने एक किसिमको मनोरञ्जनको समेत साधन हो । पिर्के पिङ विशेषगरि दशै, तिहारमा बनाइने गरिन्छ । हाल यो लोप उन्ज्मुख छ ।

नेपालमा खेलिने रोटे पिङको सुरुवात नेपालबाटै भएको हो भन्ने भनाइ छ । नेपालमा पहिलाका मान्छेहरुले पिङका रुपमा काठमा खोपेर र काठका टुक्रालाई जोडेर दुई खम्बामा ठड्याउने गरेका थिए । रोटेसनमा घुम्ने भएकाले यो पिङलाई रोटे पिङ भन्ने गरिएको छ । पहिले–पहिले काठका रोटेपिङ हुन्थे भने अहिले आधुनिक र ठूलो रोटे पिङ बनाएर मेला पर्वमा शुल्क लिएर खेल्ने गरेका छन् । जुन पिङ शहरबजारमा राखिन्छ । त्यो रोटेपिङ खेल्नका लागि भने मानिसको भीड नै लाग्ने गर्छ । तर काठबाट बनाइएको रोटेपिङ भने लोप हुने अवस्थामा पुगेको देखिन्छ ।

पिङलाई नेपालमा भन्दा भारतमा केही फरक तरिकाले हेरिने गरिएको छ । पौराणिक काल खण्डमा कृष्ण रोएको अवस्थामा उनलाई भुलाउनका लागि पिङ जस्तो बनाएर हल्लाइएको थियो । यसरी हल्लाएपछि उनी चुपचाप लागे र यसैको विकसित रूप नै पिङ हो भन्ने बुझाइ छ । यो परिमार्जन हुँदै लिंगे पिङ, रोटे पिङको अवस्थामा आइपुगेको हो।

कहिले देखि सुरुभयो पिङ खेल्न
डेढ सय वर्ष पुरानो फोटोहरु सहित एक लाखभन्दा बढी तस्वीरहरु सुरक्षित राखेका इतिहास खोजकर्ता सुनील उलकले दसैँको पिङ र चङ्गा बारेमा लेखेका छन् । पिङको विश्व इतिहास खोतल्न थाल्यौँ भने इसापूर्व पाँचौँ शताब्दीमा ग्रीक सभ्यताको अन्वेषण गर्ने क्रममा महिला तथा बच्चाहरू पिङमा रमाउँदै गरेको चित्र कोरिएको माटोको भाँडा भेटिएको थियो । जसले गर्दा पिङ ग्रीक सभ्यतासँग गाँसिएको तथा इसापूर्व पाँचौँ शताब्दीभन्दा अगाडिदेखि नै पिङ खेल्न थालिएको प्रमाणित हुन्छ ।

तर, पिङ भने गीतगोविन्दको रचनाले पनि प्रचलित हुन गएको थियो । १२औँ शताब्दीमा जयदेवले रचना गरेको गीतगोविन्दमा पहिलोपटक राधाको चर्चा तथा राधाकृष्ण झुलाको वर्णन गरिएको थियो । राधा पूर्ण रूपमा जयदेव कृत गीतगोविन्दको काल्पनिक पात्र हुन् । तर, धार्मिक आस्था बोक्नेहरू राधाको जन्मदिनसमेत मनाउने गर्छन् । यसरी झुला अर्थात् पिङको प्रवेश भारत तथा नेपालमा भएको थियो ।

पिङ र दसैँ
पिङसँग प्रत्यक्ष रूपमा मनोरञ्जन गाँसिए पनि यो खेल स्वास्थ्यसँग गाँसिएको छ । पिङ खेल्दा शरीर स्फुर्त र ताजगी रहन्छ । साथै, शरीरका मांसपेशीहरू सबै अन्य खेलमा झैँ चलायमान हुन्छ । साथै, पिङ खेलले पाचनमा पनि मद्दत गर्नुका साथै मस्तिष्कलाई पनि चुस्त बनाउँछ । पिङमा खुट्टाको सहायताले केही उल्टो दिशामा गएर शरीरलाई अगाडि धकेल्दा वा कुनै अन्य व्यक्तिको सहायताले अगाडि धकेल्दा यसको विपरीत गुरुत्वको बलले अगाडि पछाडि हुन मद्दत गर्छ । साथै, हरेकपटक शरीरलाई अगाडि धकेल्ने प्रयत्न गर्दा त्यति नै पछाडि धकेलिन्छ र पिङ मच्चिँदा अझ रोमाञ्चित हुने गर्दछ ।

पिङ भने ठूलाहरूले सामूहिक रूपमा बनाउने गरिन्छ । पिङमा मच्चिने ठूलासाना सबै हुने गर्दछन् । पिङमा मजाले मच्चिएर आएपछि भोक मज्जाले जाग्ने तथा भोज खाएर पिङ खेलिएमा खाएको मज्जाले पच्ने हुँदा पनि पिङको आवश्यकताको महसुस दसैँमा विशेष हुन्थ्यो । साथै, ठिटाठिटीहरूको जिस्किने तथा जिस्क्याउने खेल पनि पिङ भएको मैदानमा नै हुन्थ्यो । यसरी पिङ खेल्ने मैदानमा भेटिएका ठिटाठिटीको कतिपय अवस्थामा प्रेम भई विवाह पनि हुने गर्थ्यो । यसरी पिङको मैदान मन परेको खोज्न र हेर्न आउने स्थल पनि बन्ने गर्थ्यो ।