
प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचन आउन झण्डै दुई महिना बाँकी छ । दलहरु तिब्रताका साथ जनता आफ्नो पक्षमा पार्न फेरि अर्को विभिन्न योजनाहरुको खाका अघि सार्दै छन, भलै ती सबै जनता भुलाउने चुनावी चावी मात्र किन नहुन । त्यसो त जनता पनि आ-आफ्नो निकटको दलहरुको समर्थन र अन्यको आलोचनामा सामाजिक संजाल तताईरहेकै छन । समग्रतालाई हेर्ने हो भने लोकतान्त्रिक ब्यबस्थामा बहुदलिय प्रतिस्पर्धा स्वभाविक नै हो तर प्रतिस्पर्धात्मक जित मार्फत ती दलहरुले जन अपेक्षालाई कत्तिको न्याय गरे त्यो महत्वपुर्ण हुन्छ । तर हामी कहाँ दसकौको दलिय हालीमुहालीबाट जनता कत्ती संतुष्ट बन्न सकेका छैनन् । जुन कुरा गत स्थानिय निर्वाचनमा स्वतन्त्र प्रतिको जनमोहले नै देखाईसकेको छ ।
त्यसो त स्थानिय निर्वाचनको परिणामले स्वतन्त्र प्रतिको जन आकर्षण र स्वतन्त्रहरुको उम्मेदवारी घोषणाको लर्को नै चलेको छ । स्थानिय निर्वाचनमा केही शहर केन्द्रित स्वतन्त्र अभियानले अहिले गाउँ घरसम्मै प्रभावको बिगुल फुकिसकेको छ । बैशाखमा सम्पन्न स्थानिय निर्वाचनमा काठमाडौं महानगरपालिका, धरान र धनगढी उपमहानगरपालिका लगायत केही स्थानिय निकायमा स्वतन्त्र नेतृत्वले जित हासिल गरे ।
त्यसो त काठमाडौका वालेन र धरानका हर्क साम्पाङले त छोटो समयमै आफ्नो कार्यगत क्रियाशिलता मार्फत जनमानसमा सकारात्मक सन्देश प्रवाह गरिसकेका छन भने धनगढीका मेयर पनि सोही यात्रामा छ। स्वतन्त्र नेतृत्वको यो क्रियाशिलताले जनमानसमा साच्चै एउटा सुचना प्रवाह गरेको छ ! त्यो हो दलगत स्वार्थ भन्दा स्वतन्त्रहरु देश र जनताको सवालमा उदार बन्ने रहेछन । जसको लहर आगामी संघ र प्रदेशको निर्वाचनमा उल्लेख्य हुने स्वतन्त्रहरुको पछिल्लो उम्मेदवारी घोषणाले देखाई सकेको छ । हुनत यश अघिका निर्वाचन हरुमा पनि स्वतन्त्रको आगमन नभएको होईन जो बिशुद्द भने थिएनन् । र उनिहरुले तात्विक छाप छोड्न भने सकेनन् ।
यसपटक जुरमुराएको स्वतन्त्र अस्तित्व भने आसा लाग्दो यो मानेमा पनि छ कि, दलहरुको स्वार्थ र अराजकताबाट आजित जनता कुनै न कुनै क्षत्रमा दक्षता र निपुणता हासिल गरेका ब्यक्ती पहिचानमा छन र सोहि अनुरुप उम्मेदवारी दिदै पनि छन् । त्यसो त स्थानिय निर्वाचनमा स्वतन्त्रहरुले दलको गड मानिएको क्षत्रमा नै अप्रत्यक्ष जित निकालेपछि हाम्रो दलिय राजनितिमा एक प्रकारको कम्पन भने सुरुवात भैसकेको छ ।
त्यस्तै दल भित्रै असन्तुष्ट हरु पनि स्वतन्त्र लडाईमा होमिनाले आगामी निर्वाचन दलहरुको लागि सहज भने छैन। आगामी संघ र प्रदेश निर्वाचनको लागि त स्वतन्त्रहरु सबै संगठित भएर लाग्ने देखिएका छन् ! जुन जनताको लागि उत्साहको बिषय हो भने दलहरुको लागि खतरालो घण्टि । अहिले सम्मको अवस्थालाई नियाल्दा मात्र पनि आगामि निर्वाचनमा स्वतन्त्रहरुले दलहरुलाई बलियो धक्का दिने आकलन गर्न सकिन्छ । दलहरु स्वयं पनि स्वतन्त्रको आगमनलाई कमजोर ठान्न नहुने मानसिकतामा पुगिसकेका छन् ।
आत्मकेन्द्रीत दलिय स्वार्थको उपज
हामिकहा बिगत देखि नै विभिन्न काल खन्डमा विभिन्न बहानामा राजनितिक उथल पुथल हुँदै आईरहेको छ । चाहे ०३६ साल होस वा 0४६/०४७ ! चाहे ०५२-०६२ को जनयुद्ध नै किन नहोस । यी सबै परिवर्तनको नाममा गरिएको राजनितिल स्वार्थनै थियो । हुन त समय काल खन्डमा भएका यस्ता उथलपुथल बाट केही पनि परिवर्तन नभएको भन्न मिल्दैन केही परिवर्तनको आभास पक्कै भएको छ तर जुन सवालले न्याय पाउनु पर्ने हो त्यो भने पुर्णता हुन सकेको छैन । त्यसो भए के आत्मकेन्द्रीत दलिय स्वार्थकै कारण अहिले स्वतन्त्र लहर चलेको हो त ? पक्कै यहि हो। ठुला राजनितिक दलका नेताहरु स्वयं स्विकार्छन कि राजनैतिक बैमानिको कारण जनताले बिकल्प खोजे! जसको सुरुवात स्वतन्त्रबाट हुँदै छ । आफ्नो क्षमता र अनुभवलाई देश निर्माणको नितिगात तहमा पुगेर प्रदर्सन गर्ने स्वतन्त्र जमात बढ्दै जादा यो एक फेसन भन्ने जमात पनि नभएको होईन तर के फेसन मात्रकै लागि स्वतन्त्र युवाहरु जुर्मुराएका हुन त ? के उनिहरु निर्वाचन पछि क्षमताबिहिन बनेर दलगत हबिमै जाने हुन त ?
भन्ने प्रश्न उठ्न सक्छ र उठ्नु पर्छ पनि! तर हामिले उब्जाएको प्रश्नको उत्तर स्थानिय निर्वाचमा जित निकालेका केही उम्मेदवारहरुले दिसकेका छन् र त जनता स्वतन्त्रको पक्षमा खुलेर वकालत गर्दैछन। दलहरुले आन्तरिक लोकतान्त्रिक प्रक्रियामा सुधार ल्याउन नसक्नु, पाटक पटक चुनिएर पनि जनता संग निकट बन्न नसक्नु , पटक पटक सरकारमा जादा समेत देश र जन भावनलाई उचित सम्बोधन गर्न नसक्नु , भ्रष्टाचार र अराजकतालाई प्रोत्साहन गर्नु जस्ता कारण जनता दलहरु बाट आजित छन् । साच्चै भन्ने हो दलहरुको कार्यशैलीका कारण जनतामा नेता प्रती एक प्रकारको बितृष्णा नै पैदा भएको छ । जसको परिणा स्वरुप जनता स्वतन्त्र तर्फ आकर्शित बनिरहेका छन् । हुन पनि बिकासले फड्को मार्नु पर्ने समयमा आर्थिक रुपमा देश टाट पल्टने अवस्थामा पुग्दा समेत कुनै ठोस परिकल्पना गर्न नसक्ने दलिय परिपाटी जनताले कहिले सम्म सहेर बसोस ।
सत्ता र सरकार बदलिरहने तर जनताले सरकार भएको अनुभूति गर्न नपाउने अनि सरकार जनताको अभिभावकिय भुमिकाबाट टाढा भैसकेपछि जनता बिकल्पको खोजिमा लाग्नु स्वभाविक मान्न सकिन्छ । देश श्रीलंकाको बाटोमा जादैछ भन्ने चौतर्फी आवाज उठिरहदा आर्थिक मजबुतिको कुनै योजनाको तर्जुमा नहुनु, महङ्गिको चरम प्रवाह, भ्रस्टाचार , ब्यभिचार, अराजकता जस्ता किस्सा हरु निरन्तर बढ्दै जादा आखिर दलिय नेतृत्वले किन अकर्मन्यता प्रदर्शन गर्दैछन । यस्तोमा जन बितृष्णाको उपज बिकल्प जरुरत थियो जुन सुरुवात भएको छ।
लोकतान्त्रिक गणतन्त्रको सुनौलो ब्यबस्थामै जनता बिकल्प खोज्ने अवस्थामा पुग्नु साच्चै निरासाजनक छ । जनता किन दलहरूको विकल्प खोज्न बाध्य भए ? दलहरूकै प्रभाव क्षेत्रमा किन स्वतन्त्रहरू सजिलै निर्वाचित भए ? जनता किन अप्रत्याशित रुपमा स्वतन्त्रप्रति आकर्षित भए र हुदैछन ? यति लामो राजनितिक अभ्यासमा गर्न नसकेका काम स्थानिय निर्वाचनमा जितेका स्वतन्त्र उम्मेदवारहरुले कसरी सजिलै गरेर जनताको मन जित्न सके ? अब पनि यी दलहरुले यो प्रश्न हरुको मिहिन समिक्षा गरेनन् भने दलहरुको दरिलो बिकल्प स्वतन्त्र अभियान हुने पक्का छ l तसर्थ स्वतन्त्र उम्मेदवारीको लहर रहरको फैलिँदो प्रवाह र प्रभावबाट पाठ सिकेर दलहरु सच्चिएनन भने अब ढुक्क भए हुन्छ दलिय राजनिती बिस्थापनको यत्रामा लाग्ने पक्का छ।
हामी संसदीय प्रणाली अंगीकार गरेको संविधान पढिरहेका छौं, जहाँ बहुलवादमा आधारित बहुदलीय व्यवस्था प्रचलनमा छ र संविधान त हुनुपर्ने पनि यहि नै हो। तर पछिल्लो समय जुर्मुराएको स्वतन्त्रको जवर्जस्त उपस्थितिले दलीय लोकतन्त्र जोखिममा पर्ने अवस्था न आउला भन्न सकिदैन । संरचनागत हिसाबले स्थानीय तहमा निर्दलियता कल्पना गर्न सकिने भए पनि संसद् भने स्वतन्त्रहरूको थलो बन्न नसक्ने तर्क यदा कदा न उठ्ने होईन तर के संगठित स्वतन्त्रहरुको संसदमा जबरजस्त उपस्थितिले दलहरुको ठाउँ लिन सक्दैन ? मजाले सक्छ । संसदमा बसेर देश र जनहितमा आवाज बुलन्द गर्दै सोही अनुरुपको काम गर्न स्वतन्त्र हुँदै गर्दा अझ सहज हुन सक्छ।
हुनत दलीय व्यवस्थामा दलहरूको विकल्प दलहरू नै हुन् । अरु कल्पना नहोला तर दलहरु सिद्धान्तगत हिसाबले गलत बाटोमा लागिसकेपछी कुनै न कुनै कालखण्डमा बिकल्प आवश्यक पर्छ नै । हो अहिलेको नया उत्साह पनि दलहरूको अकर्मण्यता र आत्मकेन्द्रित स्वार्थगत सोचको परिणाम नि हो । जहाँ दलहरु माथि व्यापक प्रश्न उठाउदै देशव्यापी स्वतन्त्र उम्मेदवारहरूको प्रभाव बढ्दै गएको छ । यो दलहरुको भन्दा पनि दलहरुको कार्यशैलीको उत्तम बिकल्प भएर उदाउने देखिदै छ। अझ भनौ फलहरुको कार्यशैलीमा स्वतन्त्रहरुको दरिलो प्रहार हुदैछ।
हामिले बहुलबादमा आधारित लोकतन्त्र आत्मसात गर्दै गर्दा दलिय ब्यबस्था बिना लोकतान्त्रिक ब्यबस्था कायम रहन सक्ला ? भन्ने प्रश्न पनि उठ्न सक्छ ! तर के प्रणालिकै लागी बहुदल/ बहुलबादकै पछि लागेर देश र जनताको आवश्यकता र चाहनलाई धुमिल पार्न पनि त सकिदैन। दलिय होस वा दलबिहिन आखिर स्वच्छ छबिको कुनै पंक्ति आउँछ भने प्रणाली आफै सुरक्षित रहन्छ। अहिले दलहरूप्रति जनतामा देखिएको वितृष्णालाई क्यास गर्न जसरी स्वतन्त्र उम्मेदवारी दिने लहर चलेको छ, यसले समस्याको निकास निक्लेला वा ननिक्लेला त्यो त गर्भमै छ भन्दा हुन्छ तर केही हद सम्म जनताले राजनितिक एकाधिकार बाट चाहिँ राहत महसुस पक्कै गर्नेछन ।