
✍️ समीकरण
सरकारले आगामी मंसिर ४ गते संसदीय निर्वाचनको मिति घोषणा गरेसँगै देश पुन: निर्वाचनमय भएको छ ।
ओली सरकारको प्रतिगमनका विरुद्ध एकजुट भएका पाँच राजनीतिक दलहरू स्थानीय निर्वाचनमा जस्तै संसदीय निर्वाचनमा पनि गठबन्धन कायम राख्न प्रतिवद्द देखिएका छन् । बाबुराम भट्टराई नेतृत्वको नवगठित नेपाल समाजवादी पार्टी ( नेसपा ) र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले नेकपा ( माओवादी केन्द्र ) को चुनाव चिन्हबाटै चुनाव लड्ने निर्णय गरिसकेका छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीले निर्वाचन घोषणापत्र साझा बनाउने तयारी गरेका छन् । यसले सत्ता गठबन्धनलाई झनै मजबुत बनाएको छ भने नेकपा ( एमाले ) थप दबाबमा परेको छ ।
धादिङ जिल्लामा पनि संसदीय निर्वाचनमा सत्ता गठबन्धन भर्सेस एमाले गठबन्धन हुने निश्चितप्राय छ । धादिङ एमाले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग गठबन्धन गर्नुपर्ने बाध्यात्मक परिस्थितिमा छ । उसो त देशव्यापी रूपमा नै एमाले – राप्रपा गठबन्धन निर्माण हुने अवस्था देखिएको छ । एमाले – राप्रपा गठबन्धन निर्माण भयो भने धादिङ जिल्ला निर्वाचन क्षेत्र नं. १ , प्रदेश सभा ( क ) मा एमालेलाई केही राहत पुग्ने देखिन्छ । यो प्रदेश सभामा सत्ता गठबन्धनसँग एमाले एक्लै पनि बलियो प्रतिस्पर्धीको रूपमा देखिएको छ ।
प्रशासनिक विभाजन :
धादिङ जिल्ला , निर्वाचन क्षेत्र नं. १ , प्रदेश सभा ( क ) मा जिल्लाका गल्छी गाउँपालिका , थाक्रे गाउँपालिका र धुनिबेसी नगरपालिका पर्दछन् । जसअन्तर्गत गल्छी गाउँपालिकामा ८ , थाक्रे गाउँपालिकामा ११ र धुनिबेसी नगरपालिकामा ९ गरि जम्मा २८ वटा वडाहरू रहेका छन् ।
स्थानीय निर्वाचन २०७९ को मतभार :
स्थानीय निर्वाचन २०७९ मा वडा अध्यक्षहरूले प्राप्त मतका आधारमा यो प्रदेश सभाभित्र नेकपा ( एमाले ) पहिलो दल बनेको छ । सत्ता गठबन्धनमा सम्बद्ध दलहरूले कतिपय स्थानीय तहमा वडा तहमा समेत साझा उम्मेदवार तय गरेका कारण तथ्यांकमा उनीहरूको मत कम देखिन आएको छ । यस प्रदेश सभाभित्र पनि २८ वटा वडामध्ये नेकपा ( एमाले )ले २८ वटै वडामा वडा अध्यक्षको उम्मेदवार खडा गरेको थियो भने सत्ता गठबन्धनमा आवद्ध दलहरू मध्ये नेपाली कांग्रेसले ९ वटा वडा , माओवादी केन्द्रले १४ वटा वडा र एकीकृत समाजवादीले ७ वटा वडामा मात्रै वडाध्यक्षको उम्मेदवार खडा गरेका थिए । वडाध्यक्षले प्राप्त गरेको मतको आधारमा यस प्रदेश सभामा नेकपा ( एमाले ) ले २३ हजार १ सय ३६ , नेकपा ( माओवादी केन्द्र ) ले ११ हजार १ सय ६९ , नेपाली कांग्रेसले ८ हजार ७ सय ५५ , नेकपा ( एकीकृत समाजवादी ) ले ६ हजार ४ सय ९८ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ८ सय १३ मत प्राप्त गरेका छन् ।
एमालेको अस्तित्व जोगाउने प्रदेश सभा :
स्थानीय निर्वाचन २०७९ मा सत्ता गठबन्धनको बाबजुद पनि नेकपा ( एमाले ) , धादिङले दुईवटा गाउँपालिकामा विजय हासिल गर्न सफल भयो । ती दुवै गाउँपालिका यसै प्रदेश सभाभित्र पर्दछन् । गल्छी गाउँपालिकाका एमाले अध्यक्ष पदका उम्मेदवार केदारनाथ खतिवडाले सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका कृष्णहरि श्रेष्ठलाई पराजित गर्न सफल भए । एमाले उम्मेदवार खतिवडाले ७,३०९ मत ल्याई विजयी हुँदा गठबन्धनका उम्मेदवार श्रेष्ठले ७,०५७ मत प्राप्त गरे । खतिवडाले २५२ मतान्तरले जित निकाल्न सफल भए ।पराजित श्रेष्ठ गल्छी गाउँपालिकाका निवर्तमान अध्यक्ष पनि हुन् । २०७४ सालको स्थानीय निर्वाचनमा श्रेष्ठ एमालेबाट विजयी भएका थिए । एमाले विभाजन पछि एकीकृत समाजवादी पार्टी रोजेका श्रेष्ठले यसपटक जित हासिल गर्न सकेनन् । त्यस्तै , थाक्रे गाउँपालिकाका एमाले अध्यक्ष पदका उम्मेदवार रामकुमार आचार्यले सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामप्रसाद बिडारीलाई फराकिलो मतान्तरले पराजित गर्न सफल भए । एमाले उम्मेदवार आचार्यले १०,३५५ ल्याई विजय हासिल गर्दा गठबन्धनका उम्मेदवार बिडारीले ८,११६ मत मात्र प्राप्त गरे । एमाले उम्मेदवार आचार्यले २,२३९ मतान्तरले विजय हासिल गर्न सफल भए । आचार्य थाक्रे गाउँपालिकामा दोस्रोपटक अध्यक्षमा निर्वाचित भएका हुन् । २०७४ सालको स्थानीय निर्वाचनमा पनि उनी एमालबाटै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । गठबन्धनका बाबजुद पनि एमालेले यस प्रदेश सभाका तीनमध्ये दुई स्थानीय तहमा जित हासिल गरेको छ भने २८ वटा वडामध्ये ८ वटा वडामा वडा अध्यक्ष जितेको छ । एमालेले जिल्लाभरिमा जितेका २१ वटा वडामध्ये ८ वटा वडा यही प्रदेश सभामा पर्दछ । जुन कुल विजयको ३८.०९% हुन आउँछ । एमालेले यस प्रदेश सभामा वडा अध्यक्षतर्फ २३,१३६ र पालिका प्रमुख / अध्यक्षतर्फ २४,२५६ मत प्राप्त गरेको छ । वडा अध्यक्षतर्फ प्राप्त मतका आधारमा निकटतम प्रतिद्वन्दी रहेको माओवादी केन्द्रले पाएको ११,१६९ मत भन्दा एमालेको मत दोब्बर भन्दा बढी अर्थात् ११,९६७ मतले अगाडि छ ।
प्रदेश सभा निर्वाचन २०७४ को नतिजा :
वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन निर्माण गरि भएको २०७४ सालमा सम्पन्न प्रदेश सभा निर्वाचनमा यो प्रदेश सभामा तत्कालीन वाम गठबन्धनका उम्मेदवार नेकपा ( एमाले ) का राजेन्द्रप्रसाद पाण्डे र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका मधुकुमार श्रेष्ठका बीचमा मुख्य प्रतिस्पर्धा रहेको थियोे । जुन निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार एमालेका पाण्डे दोब्बर भन्दा बढी मतको फरकले विजयी भएका थिए । वाम गठबन्धनका उम्मेदवार पाण्डे २७ हजार ३ सय ३२ मतका साथ विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका श्रेष्ठले केवल १३ हजार ६ सय ४७ मत प्राप्त गरेका थिए । जसमा मतान्तर १३ हजार ६ सय ८५ रहेको थियोे । पाण्डे हाल एमालेबाट विभाजित भइ बनेको एकीकृत समाजवादी पार्टीको केन्द्रीय उपाध्यक्ष र वाग्मती प्रदेश सरकारको मुख्यमन्त्री रहेका छन् ।
प्रदेश सभामा सिफारिस अनुहारहरू :
सत्ता गठबन्धनमा यो प्रदेश सभा कुन दलको भागमा पर्छ भन्ने यकिन नभएपनि दलहरूले आ-आफ्नो हिसाबले उम्मेदवार सिफारिस गरेका छन् । प्रत्यक्षतर्फको उम्मेदवारमा नेकपा ( एमाले ) ले नेत्रराज पौडेल , उद्दव लुईंटेल , सुरेश आचार्य र अप्सरा उप्रेतीको नाम सिफारिस गरेको छ । नेकपा ( माओवादी केन्द्र ) ले दिपक लामिछाने , नारायण लामिछाने , रामचन्द्र रिजाल , नकुल थापा र तारा थापाको नाम सिफारिस गरेको छ । त्यस्तै , नेपाली कांग्रेसले अर्जनप्रसाद उप्रेती , कृष्ण रिजाल , जिवनाथ ढकाल , बाबुकृष्ण सापकोटा , मधुकुमार श्रेष्ठ र रविसुदन थापाको नाम सिफारिस गरेको छ । नेकपा ( एकीकृत समाजवादी ) ले रामचन्द्र आचार्य र विनोद पाण्डेको नाम प्रत्यक्षतर्फबाट प्रदेश सभा उम्मेदवारमा सिफारिस गरेको छ । प्रत्येक्षतर्फ सिफारिस नामहरूमध्ये एमालेद्वारा सिफारिस अप्सरा उप्रेती एकमात्र महिला हुन् ।
आगामी निर्वाचनको परिदृश्य १ :
स्थानीय निर्वाचन २०७९ को तथ्यांकलाई विश्लेषण गर्दा यो प्रदेश सभामा सत्ता गठबन्धन र एमालेबीच तिव्र प्रतिस्पर्धा देखिन्छ । राप्रपासँग चुनावी तालमेल नभएको अवस्थामा यहाँ सत्ता गठबन्धनको २६ हजार ४ सय २२ , एमालेको २३ हजार १ सय ३६ र राप्रपाको ८ सय १३ मत रहेको छ । जसअनुसार सत्ता गठबन्धन निकटतम नेकपा ( एमाले ) भन्दा केवल ३ हजार २ सय ८६ मतले मात्रै अगाडि देखिएको छ ।
आगामी निर्वाचनको परिदृश्य २ :
प्रदेश निर्वाचनमा एमाले र राप्रपाको चुनावी तालमेल कायम हुन सक्यो भने सत्ता गठबन्धनसँगको मतदुरी केही घट्ने देखिन्छ । तर राप्रपाको मत नै तीन अंकमा सिमित रहेका कारण एमालेको नतिजालाई यसले खासै फरक पार्ने देखिँदैन । एमाले – राप्रपा गठबन्धन निर्माण भए सत्ता गठबन्धनको मत २६ हजार ४ सय २२ र एमाले – राप्रपा गठबन्धनको मत २३ हजार ९ सय ४९ रहेको देखिन्छ । यस अवस्थामा सत्ता गठबन्धन एमाले – राप्रपा गठबन्धन भन्दा २ हजार ४ सय ७३ मतले मात्रै अगाडि हुनेछ ।
निष्कर्ष :
यो तथ्यांक विश्लेषणमा केही प्राविधिक सीमाहरू छन् । दलहरूले गत स्थानीय तह निर्वाचनमा गठबन्धन गरेका कारण कतिपय वडामा उम्मेदवार नै उठाएका थिएनन् । त्यसैले ती क्षेत्रमा वडाध्यक्षले पाएको मतले त्यहाँ सम्बन्धित दलको वास्तविक भोटको प्रतिनिधित्व नगर्न पनि सक्छ । अर्कातिर संसदीय निर्वाचनमा केही लोकप्रिय व्यक्तिले स्वतन्त्र उम्मेदवार भएर पनि जित्ने / दलहरूकै केही मत प्रभावित पार्नसक्ने सम्भावना नकार्न सकिँदैन । स्वतन्त्र वडाध्यक्षका उम्मेदवारले प्राप्त भोट संसदीय निर्वाचनमा कुन दलको उम्मेदवारले लैजान्छ भन्ने यकिन हुँदैन । नयाँ मतदाता थपिएका कारण नयाँ / युवा मतदाताको स्वविवेक कता / कसरी प्रयोग हुन्छ त्यसले पनि मत परिणामलाई प्रभावित पार्न सक्ने ल्याकत राख्दछ । यस्तै, स्थानीय निर्वाचनमा होस् वा संसदीय निर्वाचनमा , उम्मेदवारको व्यक्तिगत प्रभाव , उचाइ र लोकप्रियताले पनि मत प्रभावित हुन सक्नेतर्फ नजर अन्दाज गर्न सकिँदैन ।