आठ महिनामा ५० हजार नेपाली भिजिट भिसामा युएई, आधा फर्केनन्

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ १०, २०७९

काठमाडौं । भिजिट भिसामा पछिल्लो करिब आठ महिनामा ५० हजारभन्दा धेरै नेपाली संयुक्त अरब इमिरेट्स (युएई) पुगेका छन् । घुम्न भनेर जानेमध्ये अधिकांशलाई रोजगारीको प्रलोभनमा त्यहाँ पुर्‍याइएको र कतिपयलाई समस्यामा परेपछि उद्धार गरेर फर्काइएको छ ।

विमानस्थलस्थित अध्यागमन कार्यालयको तथ्यांकअनुसार गत १ जनवरीदेखि २४ अगस्टसम्म ५० हजार ५६ नेपाली भिजिट भिसामा युएई पुगेका छन् । यीमध्ये आधाभन्दा धेरै फर्किएका छैनन् । उनीहरूलाई मानवतस्करले सेटिङ मिलाएर त्यहाँ पुर्‍याइएको प्रहरी आशंका छ ।

भिजिट भिसामा जाने हजारौँ नेपाली समस्यामा परेपछि गृह मन्त्रालयले केही महिना कडाइ गरे पनि जेठयता ठूलो संख्यामा खाडी देश गएका छन् । यसमा अध्यागमनमा समेत सेटिङको आरोप लाग्दै आएको छ । त्यहाँ पुगेका कतिपय महिलालाई विभिन्न संघसंस्थाले उद्धार गरेर ल्याउनुपरेको छ ।

भिजिट भिसामा युएई पुगेकी एक महिलालाई दुई साताअघि मात्र माइती नेपालले उद्धार गरेको थियो । दलालले आकर्षक रोजगारीको प्रलोभनमा ती महिलालाई दुबई लगेको माइती नेपालकी कानुन अधिकृत उमा तामाङ बताउँछिन् । खाडी देशमा भिजिट भिसाले समस्या बढाएको र यसअघि पनि धेरैको उद्धार गरिएको उनको भनाइ छ ।

रातिको उडानमा सेटिङ, दुई दिनमा एक सय १२ फकाईए
बुधबार र बिहीबार एक सय १२ जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको छ । उनीहरूको यात्रा र कागजपत्र शंकास्पद देखिएपछि फर्काइएको विमानस्थलस्थित प्रहरी प्रमुख डिआइजी श्यामलाल ज्ञवालीले बताए । जजिरा एयरबाट कुवेत हुँदै दुबई जान लागेका ३९ जना बुधबार बिहान फर्काइएका थिए । ग्रामीण क्षेत्रका ती महिला अध्यागमन र एयरलाइन्ससँग सेटिङ मिलाएर भिजिट भिसामा जान लागेको खुलेको थियो । बुधबार दिउँसो चिली जान लागेका दुई पुरुषलाई पनि प्रहरीले फर्काएको छ । चार–चार हजार अमेरिकी डलर लिएर उनीहरू चिली जान लागेका थिए । उनीहरू चिली हुँदै अवैध रूपमा अमेरिका जान लागेको प्रहरी आशंका छ ।

भिजिट भिसामा जाँदा आवश्यक कागजात नभएको र मानव बेचबिखनको आशंकामा कडाइ थालिएको डिआइजी ज्ञवालीले बताए । फर्काइएकाहरूमाथि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) तथा मानव बेचबिखन अनुसन्धान ब्युरोले छानबिन थालेको छ । यसमा ठूलो गिरोहको संलग्नता रहेको र उनीहरूले अध्यागमनका कर्मचारीलाई समेत सेटिङ मिलाउने प्रहरी आशंका छ । सुन तस्करीमा पक्राउ परेका व्यक्तिहरूले समेत अध्यागमनमै सेटिङ मिलाएर तस्करी गर्ने व्यक्तिलाई भिजिट भिसामा दुबई लैजाने गरिएको बताएका छन् । गत २९ साउनमा पक्राउ परेका कान्तिपुर ट्राभलका कर्मचारी सागर न्यौपानेले भन्सारमा यस्तो बयान दिएका छन् ।

‘रातिको उडानमा अध्यागमनमा सेटिङ हुने सूचना प्राप्त भएको छ,’ सिआइबीका एक अधिकारीले भने, ‘एकैजनासँग दुई लाख रुपैयाँसम्मको लेनदेन हुने रहेछ ।’ धेरै यात्रु नहुने समयमा उडान छानेर सेटिङ हुने गरेको स्रोत बताउँछ । बुधबार बिहान पनि त्यहीअनुसार एकैपटक ३९ महिलालाई कुवेत हुँदै दुबई लैजान लागिएको थियो । उनीहरूमध्ये सबै भिजिट भिसामा रोजगारीका लागि त्यहाँ जान लागेका थिए ।

भिजिट भिसामा गएका हजारौँ सर्वसाधारण युएईलगायत देशमा अलपत्र परेपछि गत माघमा गृह मन्त्रालयले कार्यदल गठन गरेको थियो । कार्यदलले दिएका सिफारिससमेत कार्यान्वयन भएका छैनन् । अध्यागमनमा सेटिङ मिलाउने गिरोहको पहुँच गृह मन्त्रालयसम्मै भएकाले पनि यसमा कुनै कारबाही हुन नसकेको बताउँछ । यस्तोमा एयरलाइन्स कम्पनीका कर्मचारीको समेत प्रमुख संलग्नता हुने गरेको छ । भिजिट भिसामा जानेहरूको हकमा सम्पूर्ण कागजपत्र हेरेर मात्र उनीहरूले बोर्डिङ पास दिनुपर्ने प्रावधान छ । तर, विमानस्थलमा कार्यरत एयरलाइन्सका कर्मचारीले मिलेमतोमा बोर्डिङ पास दिने गरेका छन् ।

भिजिट भिसामा नयाँ कार्यविधि, अनलाइनबाट पूर्वस्वीकृति
पर्यटक भिसा (भिजिट भिसा)मा विदेश जानेका लागि सरकारले नयाँ कार्यविधि बनाएको छ । अनलाइनमार्फत भिजिट भिसाको पूर्वस्वीकृति दिने गरी गृह मन्त्रालयले नयाँ कार्यविधि स्वीकृत गरेको हो ।

अध्यागमन विभागका प्रवक्ता अञ्जन न्यौपानेका अनुसार घुम्न तथा आफन्त भेट्ने प्रयोजनका लागि विदेश जानेहरूको आवश्यक कागजपत्र विभागको वेबसाइटमा अपलोड गरेपछि उनीहरूले इमेल÷एसएमएसमार्फत पूर्वस्वीकृति पाउनेछन् । यसका लागि सफ्टवेयर बनाउनेलगायतको तयारी भइरहेको उनले बताए ।

‘भिजिट भिसासम्बन्धी नयाँ कार्यविधि स्वीकृत भइसकेको छ,’ न्यौपानेले भने, ‘यसलाई अबको दुई महिनाभित्र कार्यान्वयन गर्ने योजना छ । अनलाइनबाटै पूर्वस्वीकृति दिने गरी सफ्टवेयर बनाउनेलगायतको पूर्वतयारी भइरहेको छ । यसले विमानस्थल पुगेर फर्किनुपर्ने समस्या धेरै हदसम्म समाधान हुन्छ ।’ पूर्वस्वीकृति पाएकालाई विमानस्थलस्थित अध्यागमन कार्यालयले रोक्न पाउनेछैन ।

नयाँ कार्यविधिमा घुम्ने प्रयोजनकै लागि विदेश जानेको हकमा वार्षिक न्यूनतम आय ६ लाख हुनुपर्ने प्रावधान राखिएको छ । साथै, ६ लाख आयको कर तिरेको हुनुपर्ने र तीन लाख रुपैयाँ बैंक ब्यालेन्स देखाउनुपर्ने प्रावधान राखिएको छ । विदेश घुम्न सक्ने हैसियत भएको व्यक्तिले न्यूनतम मासिक ५० हजार कमाउँछन् भन्ने आधारमा यो प्रावधान राखिएको गृहका एक अधिकारी बताउँछन् । आयसम्बन्धी कागजपत्र अनलाइनमै अपलोड गरेपछि विभागले त्यसमा अध्ययन गरी पूर्वस्वीकृति दिनेछ । भिजिट भिसाका लागि पूर्वस्वीकृति मागेको दुई–तीन दिनभित्रै निर्णय गर्ने गरी विभागले तयारी गरिरहेको छ । पूर्वस्वीकृति प्राप्त भएपछि मात्र टिकट काट्ने गरी यस्तो प्रावधान लागू गर्न लागिएको छ ।

नयाँ कार्यविधिमा विदेशमा आफन्त भेट्न जानेको हकमा पनि थप प्रस्ट पारिएको छ । परिवारकै आफन्तको हकमा मात्र त्यस्तो सुविधा दिने विभागको तयारी छ । विगतमा नाता प्रमाणीकरणलगायत नक्कली कागजपत्र पेस हुने गरेकोमा अब राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको तथ्यांक लिएर त्यसमार्फत जाँचबुझ गर्ने अध्यागमनको तयारी छ । व्यापारिक काम तथा उपचारलगायतको प्रयोजनका लागि विदेश जानेको हकमा भने पूर्वस्वीकृतिको प्रावधान राखिएको छैन ।

भिजिट भिसामा खाडी देश पुगेका हजारौँ नेपाली अलपत्र परेपछि गृह मन्त्रालयले गत माघमा सहसचिव फणीन्द्रमणि पोखरेलको नेतृत्वमा अध्ययन समिति बनाएको थियो । समितिले भिजिट भिसामा सबैभन्दा धेरै समस्या युएईमा रहेको औँल्याएको थियो । समितिको प्रतिवेदनअनुसार सन् २०२१ मा ७२ हजार ९४ नेपाली भिजिट भिसामा युएई पुगेका थिए  । युएई सरकारले भिजिट भिसालाई कामदार भिसामा सहजै परिवर्तन गर्ने भएकाले यसमा गिरोहहरू नै सक्रिय हुने गरेका छन् ।

ट्रान्जिट दुबई, इरानमा महिला तस्करी
भिजिट भिसामा दुबई लगिएकालाई त्यहाँबाट इरानदेखि अफ्रिकासम्म पुर्‍याइने गरिएको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन् । महिलालाई पछिल्लो समय इरान लैजाने धन्दा बढेको छ । इरानमा पुर्‍याइएका कतिपयको बिक्रीसमेत हुने गरेको पीडितले बताएका छन् । आफूले भनेको नमान्नेलाई मानवतस्कर समूहले युएईमा बन्धक बनाउने गरेका छन् । केही महिलालाई दक्षिण अफ्रिका, केन्यालगायत अफ्रिकी देशका डान्सबारमा काम गर्न भनेरसमेत दुबईबाट लैजाने गरिएको छ । माइती नेपालकी कानुन अधिकृत उमा तामाङ दुबई हुँदै महिलालाई अन्य देशमा पुर्‍याइने गरेको बताउँछिन् ।

भिजिट भिसामा १८ किसिमका गिरोह सक्रिय
गृह मन्त्रालयका सहसचिव फणीन्द्रमणि पोखरेल नेतृत्वको कार्यदलले भिजिट भिसामार्फत वैदेशिक रोजगारीमा पठाउने गिरोहमा १८ किसिमका व्यक्ति तथा संघसंस्थाको संलग्नता औँल्याएको थियो । सेटिङ मिलाउने बिचौलिया, ट्राभल एजेन्सी सञ्चालक र होटेल सञ्चालकहरू यसको पहिलो नम्बरमा छन् । त्यस्तै, म्यानपावरका सञ्चालक र एजेन्ट, स्वास्थ्य परीक्षण र अभिमुखीकरण तालिम दिने संस्था, पैसा सटही गर्ने व्यक्ति तथा संस्था, भिसा प्रोसेसिङको काम गर्नेहरू, भाषा प्रशिक्षक, परामर्श सेवा केन्द्र, वायुसेवा निगमसँग सम्बन्धित व्यक्तिहरू, इन्टर्नसिपका लागि विद्यार्थीलाई विदेश पठाउने संस्थाहरू संलग्न रहेको कार्यदलको ठहर छ । त्यस्तै, कलाकारलाई विदेशमा कार्यक्रम गर्ने, तीर्थयात्रीलाई घुमाउने, सहकारी तथा उपभोक्ता समितिका नाममा गैरसदस्यलाई विदेश लैजाने र विद्यार्थी भ्रमणको नाममा गैरविद्यार्थीलाई विदेश लैजाने समूह सक्रिय रहेको समितिको प्रतिवेदनमा छ । नवराज मैनालीको यो समाचार हामीले नयाँ पत्रिकाबाट लिएका हौं ।