चार कम्युनिष्ट पार्टीद्वारा भदौ ७ गते नेपाल बन्द आह्वान

Avatar photo
Dhadingpost
भदौ ४, २०७९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका महासचिव आहुति र नेपाल माओवादी समाजवादीका अध्यक्ष कणजीत बुढाथोकीले संयुक्त विज्ञप्ति प्रकाशित गर्दैै भदौ ७ गते नेपाल बन्दको घोषणा गरेका हुन् ।

वर्तमान सरकारले राष्ट्रघाति एमसीसी सम्झौता, नेकपासंग भएको तीन बुँदे सहमति कार्यान्वयन नगरेको, विप्लव लगायतका नेता कार्यकर्ता विरुद्ध पक्राउ पुर्जी जारी गरेको र भ्रष्टाचार विरुद्ध संघर्षको कार्यक्रम गरेको छ । कार्यक्रमको अन्तिम दिन नेपाल बन्द आह्वान गरिएको हो ।

संघर्षका कार्यक्रम अन्तर्गत भदौ १ गते देशभरका प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने, भदौ ४ गते देशव्यापी विरोधसभा, भदौ ६ देशव्यापी मशाल जुलुस प्रदर्शन र भदौ ७ गते नेपाल बन्द आह्वान गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

राज्य आतंक, राष्ट्रघाति र जनघाति सरकारका गलत गतिविधि सच्याउन, सुधार गर्न र रोक्न आफूहरुसंग जनजागर, जनहस्तक्षेप, र जनसंघर्षको विकल्प नभएको भन्दै विज्ञप्तिमा राज्य गलत बाटोमा हिंडिरहेकोले संघर्षको कार्यक्रम घोषणा गरिएको उल्लेख छ ।