बागमती प्रदेश सरकारले हेमोफिलियाका विरामीहरुका लागि १ करोडको औषधि दियो

Avatar photo
Dhadingpost
साउन २२, २०७९

हेटौंडा । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका हेमोफिलियाका विरामीहरुका लागि एन्टी हेमोफिलिक फ्याक्टर उपलब्ध गराएको छ ।

बागमती प्रदेशमा २० महिलासहित २ सय ५० जना हेमोफिलियाका विरामीहरुलाई निशुल्क रुपमा करिब एक करोड रुपैंया बराबरको एन्टी हेमोफिलिक फ्याक्टर औषधि वितरण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

औषधि हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री निमा लामाले बागमती प्रदेश सरकारबाट प्राप्त सहयोगको औषधी होमोफिलियाका विरामीका लागि सहजै रुपमा उपलव्ध गराउन हेमोफिलिया सोसाइटीलाई आग्रह गरे । उनले प्रदेश सरकार यस्तै खाले अन्य रोगका विरामीहरुको लागि औषधि र उपचारको व्यवस्था गर्न प्रतिवद्ध रहेको बताए । उनले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले औषधि एवम् उपकरण र औषधि खरिदका लागि बजेट विनियोजन गरिसकेकाले खरिद प्रक्रिया अघि बढेको बताए ।

देशभर हेमोफिलियाका ७ सय ८० छन् भने औषधि अभावमा गत वर्ष ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।