
काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा २ वा सो भन्दा बढी दलले एउटै निर्वाचन चिन्ह लिन पाउने जनाएको छ ।
‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४९ बमोजिम २ वा सोभन्दा बढी दलले एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिने प्रयोजनको लागि दल दर्ताको निवेदन दिँदा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१३ बमोजिमको ढांचामा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ’ आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संयुक्त रुपमा उम्मेदवारी दिँदा सम्बन्धित उम्मेदवार कुन दलमा आवद्ध हो भन्ने खुलाउनुपर्नेछ । यसरी संयुक्त निर्वाचनमा गएपछि सबैभन्दा बढी सिट प्राप्त गर्ने दलको नाममा एउटा मात्र संसदीय दल गठन हुनेछ । जुनसुकै दलबाट उम्मेद्वार भएपछि अरु सांसदहरु त्यही ठूलो दलको सांसद भएको मानिनेछ ।
हालसम्म कुनैपनि दल वा गठबन्धनले यसरी निर्वाचनमा जाने निर्णय भने गरिसकेका छैनन् । ३१ साउनभित्र निर्णय नगरे उनीहरुले यस्तो सुविधा पाउदैनन् । अनुसुचि १३ मा एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिने प्रयोजनको लागि दल दर्ताको निवेदनको ढाँचा तोकिएको छ । उक्त ढाँचा अनुसार निवेदन दिनुपर्ने आयोगको विज्ञप्तिमा उल्लेख छ ।

