काउन्सिलको आग्रह, पत्रकार महासंघले सदस्यता वितरणमा कडाई गर्नुपर्यो

Avatar photo
Dhadingpost
साउन १८, २०७९

काठमाडौं। प्रेस काउन्सिल नेपालले पत्रकार महासंघलाई जथाभावी सदस्यता दिने काम नगर्न आग्रह गरेको छ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सदस्यता दिने प्रावधानलाई खुकुलो नबनाउन नेपाल पत्रकार महासंघलाई आग्रह गरेका हुन् ।

कुनै दलको केन्द्रीय कमिटीमा रहेकाहरुलाई पनि महासंघले सदस्यता दिँदा समस्या आएको दृष्टान्त पेश गर्दै अध्यक्ष बस्नेतले त्यसो हुन नदिन नेपाल पत्रकार महासंघलगायतका सम्बद्ध निकायहरु सचेत हुनुपर्ने बताए । उनले नेपाल पत्रकार महासंघको सदस्यता लिने तर सक्रिय पत्रकारिता नगर्नेहरुको कारण पनि नेपालको सञ्चार क्षेत्रमा समस्या देखिएको बताए ।

अध्यक्ष बस्नेतले सञ्चारकर्मीहरु आफू सचेत भएमात्रै अरुमाथि प्रश्न उठाउन सकिने पनि पटक–पटक दोहो¥याए । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले राज्यले समेत पत्रकारहरुलाई विवेक पु¥याएर स्वतन्त्र ढंगले काम गर्ने वातावरण बनाउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

नेपाल मतदाता अधिकार मञ्चले बुधबार काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पत्रकारको आवरणमा गैरपत्रकारबाट हुने विभिन्न खालका गतिविधिलाई रोक्न पनि महासंघले आफ्नो सदस्यता दिने काममा कडाई गर्नुपर्ने स्पष्ट पारे ।