
काठमाडौं । भारतमा जारी साफ यू-२० च्याम्पियनसिप फुटबलबाट प्रतियोगिताको फाईनल खेल्ने नेपालको लक्ष्य अधुरै रहेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा मंगलबार साविक विजेता भारतले माल्दिभ्सलाई १(० गोल अन्तरले हराएसँगै नेपाल फाईनल पुग्न रोकिएको हो ।
अब भारतले उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । बंगलादेश शीर्ष स्थानमा रहदै फाइनल पुगेको हो । नेपालले मंगलबार जित्ने पर्ने खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेलेको थियो ।
लिग चरणको अन्त्यमा बंगलादेश ४ खेलमा १० अंक जोड्दै शीर्षस्थानमा रहयो । भारतले ४ खेलमा ९ अंक जोड्दै दोस्रो स्थानमा रहेर फाइनलमा स्थान बनायो । नेपाल भने ४ खेलमा ७ अंकसहित तालिकाको तेस्रो स्थानमा रहयो । माल्दिभ्स ४ खेलमा २ अंकसहित चौथो तथा १ अंक जोडेको श्रीलंका पुछारमा रहयो । अब शुक्रबार हुने फाइनलमा बंगलादेश र भारत खेल्नेछन् ।

नेपालले यस प्रतियोगिताबाट थाहा पाएको कमजोरी एएफसी च्याम्पियनसिपको लागि सुधार गर्न प्रयोग गर्ने प्रशिक्षक बालगोपाल साहुखलले बताए । ‘समग्रमा भन्नुपर्दा हामीले आफ्नो खेल्ने शैली विकास गर्न खोजेका थियौं । हामी बल राखेर खेल्न चाहन्थ्यौं । हामीले सुरुवाती दुई खेलमा राम्रो लय समातेका थियौं । तेस्रो खेलले हामीलाई शारीरिक पक्षमा निकै मिहिनेत गर्नुपर्ने बुझायो । केही रणनीतिक पक्षमा पनि काम गर्न बाँकी छ । अब हामीले एएफसी छनोटका लागि खेल्दा यसमा ध्यान दिएर टोलीलाई थप बलियो बनाउन ध्यान दिनेछौं,’ उनले भने।

