
काठमाडौं । भारतमा आदिवासी समुदायबाट पहिलो पटक महिला राष्ट्रपति निर्वाचित भएकी छन् । उडिशा सरकारमा ‘क्लर्क’ पदबाट काम थालेकी मुर्मू शिक्षक, २०००-२००९ सम्म दुईपल्ट विधायक‚ मन्त्री, सन् २०१५ मा झारखण्डको राज्यपाल हुँदै भारतको १५औं राष्ट्रपति बनेकी हुन् । आदिवासी समुदायबाट भारतको सर्वोच्च पदमा पुग्ने उनी पहिलो व्यक्ति हुन् ।
सत्तारुढ भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनले पूर्वराज्यपाल रहेकी मुर्मूलाई उम्मेदवार बनाएको थियो । उनी कांग्रेस सहितको विपक्षी दलले राष्ट्रपतिमा अघि सारेको तृणमुल कांग्रेसमा रहेका पूर्वभाजपा नेता यशवंत सिन्हालाई भारी मतान्तरले पराजित गर्दै राष्ट्रपति चुनिएकी हुन् । उनलाई जितका लागि ५ लाख ४३ हजार २ सय १६ मतमूल्य चाहिएकोमा उनले ५ लाख ७७ हजार ७ सय ७७ मतमूल्य प्राप्त गरी विजयी भएकी हुन् ।
भाजपाले आदिवासी समुदायबाट त्यसमाथि महिलालाई अघि सारेपछि विपक्षी दलहरुलाई अप्ठ्यारो परेको थियो । भारतको संवैधानिक प्रावधानअनुसार केन्द्रीय सांसद र विधानसभा सदस्यहरुको कुल मत मूल्य १० लाख ८६ हजार ४ सय ३१ को ५० प्रतिशत कटाउने उम्मेदवार विजयी हुन्छन् । मुर्मूले ७२ प्रतिशत मत प्राप्त गरेकी छन् । उनका प्रतिद्वन्द्वी सिन्हाले २ लाख ६१ हजार ६२ मत मूल्य प्राप्त गरेका छन् ।
प्रारम्भदेखि नै भोटको संख्या सत्तारुढ दलसँग बढी थियो । तर, जितका लागि चाहिने ५१ प्रतिशत भने पुगेको थिएन । तर, मुर्मूको उम्मेदवारीले विपक्षी दलमा एकजुट्ता कायम रहन सकेन । विपक्षी गठबन्धनमा रहेका कतिपय दलले मुर्मूलाई खुलेर साथ दिन पुगे भने धेरै क्रस भोट पनि उनको पक्षमा भयो । विपक्षी गठबन्धनबाट आफ्नै दलबाट उम्मेदवार बनाएका तृणमुल कांग्रेसलाई पनि मुर्मूको उम्मेदवारीले अप्ठ्यारो बनाएको थियो । आदिवासी उम्मेदवारको विरोधमा लाग्न स्वयं तृणमुल कांग्रेसका अध्यक्ष ममता बनजीलाई समस्या परेको थियो । उनले आफ्ना उम्मेदवार सिन्हालाई पश्चिम बंगालमा चुनावी प्रचारका लागि आउनैमा रोक लगाइन् । त्यसले पनि सिन्हालाई अप्ठ्यारो पारेको थियो ।
राष्ट्रपति चुनावका लागि लोकसभा, राज्यसभा र विधानसभाका सदस्यहरु मतदाता हुन्छन् । भारतमा लोकसभा र राज्यसभामा निर्वाचित सांसदको संख्या ७ सय ७६ छ । त्यस्तै, ४ हजार ३३ जना विधायक छन् । सबै राज्यमा र केन्द्रमा १८ जुलाईमा मतदान भएको थियो ।सबैतिरबाट मतपेटिका दिल्लीमा ल्याइएपछि मतगणना गरिएको हो ।
को हुन् भारतकी नयाँ राष्ट्रपति?
राष्ट्रपति बनेकी ६४ वर्षीया द्रौपदी मुर्मू उडिशाकी हुन् । आगामी २५ जुलाईमा उनले शपथ ग्रहण गर्ने छिन् । सर्वोच्च अदालतका मुख्यन्यायाधीशबाट उनले शपथ लिने छिन् । भाजपाले यसअघि दलित समुदायकै कोविंद र त्यसअघि अटल बिहारी बाजपेयीको समयमा चर्चित वैज्ञानिक अब्दुल कलामलाई राष्ट्रपति बनाएको थियो ।
मुर्मू उडिशाबाट विधायक र उडिशा सरकारमा मन्त्रीसमेत भइसकेकी छन् । भाजपा गठबन्धनले उनलाई झारखण्डको राज्यपालसमेत बनाएको थियो । २० जुन १९५८ मा मयूरभंज जिल्लाको बैदापोसी गाउँमा जन्मिएकी उनी त्यहाँकी आदिवासीसमेत हुन् । उनको बुबा विरंचीनारायण टुडू आफ्नो पञ्चायतको मुखिया थिए । उनी झारखण्डमा करिब ६ वर्ष राज्यपाल रहेकी थिइन् । स्नातक गरेकी उनले आफ्नो राजनीतिक जीवनको सुरुवात उडिशा सरकारमा ‘क्लर्क’ पदबाट गरेकी थिइन् । उनी सिंचाइ र ऊर्जा विभागमा जुनियर सहायक भएर काम गरेकी थिइन् । त्यसपछि उनी शिक्षण पेशामा समेत आबद्ध भइन् । उनी भाजपाको टिकटबाट सन् २००० देखि सन् २००९ सम्म दुईपल्ट विधायक निर्वाचित भइसकेकी छन् ।
उनले उडिशाको मन्त्रिमण्डलमा समेत काम गरिसकेकी छन् । उनी दुई कार्यकाल विधायक र दुईपटक मन्त्री भइसकेकी छन् । सन् २००७ मा उनलाई उडिशामा सर्वश्रेष्ठ विधायकका रुपमा नीलकण्ठ अवार्ड प्रदान गरिएको थियो ।
उनी मयूरभंज जिल्लाको भाजपा अध्यक्ष समेत थिइन् । सन् २०१५ मा उनलाई मोदी सरकारको सिफारिसमा झारखण्डको राज्यपाल नियुक्त गरिएको थियो । उनका पति श्यामचरण मुर्मूको निधन भइसकेको छ । उनको तीन सन्तानमध्ये दुई जनाको असमयमै निधन भइसकेको छ । अहिले उनको एक जना विवाहित छोरी छन् ।
भारतका राष्ट्रपतिले मासिक ५ लाख रुपैयाँ तलब पाउँछन् । त्यसबाहेक अन्य भत्ताहरूको पनि व्यवस्था गरिएको छ । सन् २०१७ अगाडि राष्ट्रपतिको तलब डेढ लाखमात्रै थियो ।
राष्ट्रपतिले निःशुल्क स्वास्थ्य सुविधा, घर, बिजुली, टेलिफोनलगायत सुविधा पाउने गर्छन् । उनको सुरक्षामा ८६ जना विशेष अंगरक्षकको समूह तैनाथ हुन्छन् । उनको सवारीमा २५ वटा गाडीको पंक्ति हुन्छ । दिल्लीमा रहेको राष्ट्रपति भवन नै उनको आधिकारिक निवास हुन्छ । उक्त भवनमा २ सय जना सहयोगीहरू हुने गर्छन् । कार्यकालपछि पूर्वराष्ट्रपतिले मासिक डेढ लाख पेन्सन प्राप्त गर्छन् । त्यसबाहेक निजी कर्मचारी, घर, गाडी र सुरक्षाकर्मीलगायत सुविधा पाउँछन् ।
