
काठमाडौं । काठमाडौंको जोरपाटीमा पानीका लागि बोरिङ खन्दा लेदोसहितको ग्याँस निस्किएको छ ।
सो ग्याँस निस्किदा वरिपरिका करिब पन्ध्र घरहरु प्रभावित बनेको स्थानीयले बताएका छन् । लेदोसहितको ग्याँसले घरका छत र भित्ताहरु ढाकिएका छन् ।
घरको बोरिङ खन्ने क्रममा बिहान करिब १० बजेतिर लेदो र ग्यास निस्किएको खानी तथा भूगर्भ विभागले जनाएको छ।विभागको ग्यास शाखा प्रमुख वरिष्ठ भूगर्भविद् पृथ्वीलाल श्रेष्ठका अनुसार जमिनमुनि जम्मा भएर बसेको मिथेन ग्यास ड्रिलिङ गर्ने क्रममा निस्केको हो।
पछिल्ला केही वर्षमा मात्र आफूले काठमाडौंमा यस्ता पाँच–सातवटा घटना देखेको बताउँदै उनले यसलाई सामान्य प्राकृतिक प्रक्रियाका रूपमा अर्थ्याएका छन्। ‘सामान्यतया पानीसँग ग्यास मिसिएर बसेको हुन्छ। जम्मा भएको ग्यास ड्रिल गर्दा निस्केको हो। त्यो ठूलो चापमा निस्कन्छ, आफैँ साम्य हुन्छ,’ उनले नयाँ पत्रिकासँग भने।
कति समयमा ग्यास निस्कन बन्द हुन्छ भन्ने कुरा ग्यासको मात्र कति छ भन्नेमा भर पर्ने उनको भनाइ छ। उनका अनुसार कुनै कारणले आगलागी हुन नदिए सो ग्यास खतरनाक भने हुँदैन। ‘आगो लाग्दा मात्र खतरनाक हुने हो। भान्साकै ग्यास पनि स्पार्क नगरी आगलागी हुँदैन। त्यसैले आगो लाग्न नदिँदा त्यस्तो खतरा हुँदैन,’ उनले भने। यद्यपि, त्यहाँ ग्यासको मात्रा कति छ यकिन गर्न नसकिने उनले बताए।
