साउने संक्रान्ति (लूतोफाल्ने दिवस)

Avatar photo
Dhadingpost
आइतवार, साउन १, २०७९

खेतको रोपाइँ मैजारो गरी असार भरीमा,
खुशीले नाच्दै साउनको पहिलो दिनको झरीमा ।
बालक बेला भोक न प्यास डुलिन्थ्यो वनमा,
लूतोलाई फाल्न चाहिने चीज संझेर मनमा ।।

कुकुरडाइनो, भलायो अनि कुरिलो रोजेर,
ल्याउँथ्यौँ घर अनेक नया फलफूल खोजेर ।
तुलसी मोठ अगाडी चोखो माटोले लिपेर,
पूजाको लागि अक्षेतासंगै फूलपाती टिपेर ।।

साँझको बेला दाउरा ल्याई आगनमा बालिन्थ्यो,
लूतोको नाउँमा अगुल्टो घुमाइ जोडले फालिन्थ्यो ।
भ्यागुतो गर्थ्यो ट्वार्र टुर्र करेसा बारीमा,
झ्याउँकिरी बास्थ्यो संगीत भरी बाँसको घारीमा ।।

रोपाईँ पछि हिलो र मैलो पखालून् भनेर,
पूर्खाले थाले यो राम्रो चलन बुद्धिले गमेर ।
छोडियो गाउँ, म कहाँ जाऊँ यी कुरा पाउन,
बाउसे गर्दै रोपाहारसंग असारे गाउन ।।

हलो र फाली, खेतका आली भएछ विरानो,
मेला र पर्म, लेक र बेसी भएछ पुरानो ।
शहर पस्यौं, न खेत रोप्छौं, न लूतो फाल्दछौं,
उहिलेको कुरा संझना गरी कहानी हाल्दछौं ।।
⁃ राममणि दुवाडी, नीलकण्ठ – ९, धादिड.