
काठमाडौं । बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डे र एमालेका नेता महेश बस्नेतबीच शुक्रबार साँझ भएको भेटवार्ताले गठबन्धनमा एउटा तरंग पैदा गरेको छ ।
गठबन्धन दलहरुको सहमति अनुसार बजेट पछि राजेन्द्र पाण्डेले मुख्यमन्त्री नछाडेको भन्दै कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले हस्ताक्षर गरेपछि तालिएको बागमती प्रदेशको राजनीति पाण्डे र बस्नेत बीचको भेटले झनै तताई दिएको छ ।
नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेटी आफूले कुनै हालतमा मुख्यमन्त्रीबाट राजीनामा नदिने बताएका पाण्डेले एमालेको साथका लागि बस्नेतलाई भेटेका हुन् । समाजवादीलाई एमालेले मात्रै साथ दिएपनि पाण्डे सरकार बहुमतमा हुनेछ ।
नेपाली काँग्रेसका बागमती प्रदेशका सभापति समेत रहेका प्रदेश सांसद इन्द्र बानियाँका लागि मुख्यमन्त्री छाड्ने दबाब पाण्डे माथि थियो । बागमती प्रदेश सरकार बन्दा पाण्डे र बानियाँ आधा आधा अवधि मुख्यमन्त्री बन्ने भद्र सहमति थियो । तर, पाण्डे अहिले आएर बदलिएका छन् । उनले एमालेको साथ लिएर भएपनि सत्ता टिकाउने रणनीति बनाएका छन् ।
