
धादिङ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेकपा एकीकृत समाजवादीको संसदीयदलको बैठक बोलाएका छन् । कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले सरकार परिवर्तनका लागि हस्ताक्षर संकलन गरे पछि अफ्ठ्यारोमा परेको मुख्यमन्त्री पाण्डेले सरकार छाड्ने तयारीका लागि संसदीय दलको बैठक बोलाएको हुन सक्ने बताईएको छ ।
पाण्डेले शुक्रबार र शनिबार दुई दिन बस्ने गरी दलको बैठक बोलाएका छन् । शुक्रबार बस्ने बैठकमै सहभागी हुने गरी संघीय राजधानी काठमाडौं पुग्न सबै सांसदलाई सूचना गरिएको एकीकृत समाजवादी संसदीय दलका सचेतक मुनु सिग्देलले जानकारी दिइन् ।
सरकार छाड्नैपर्ने अवस्था सिर्जना हुन लागेपछि मुख्यमन्त्री पाण्डेले संसदीय दलको बैठक बोलाएका छन् । बागमती प्रदेशको नेतृत्व हस्तान्तरणको किचलो बढेपछि शुक्रबार केन्द्रमा शीर्ष नेताले पनि छलफल गर्दै छन् ।
पाण्डेको नेतृत्वमा सरकार गठन गर्दा समाजवादी, कांग्रेस र माओवादीबीच सरकार आधा-आधा सञ्चालन गर्ने, चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्ने सहमति भएको थियो । सहमति कार्यान्वयन गर्न पाण्डे अनिच्छुक देखिएपछि कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले लगातार दबाब दिएका थिए ।
