
हेटौंडा । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्काले प्रदेश सरकारले आगामी ५ वर्षको अवधिमा काठमा आत्मनिर्भर हुने नीति अनुसार काम गरिरहेको बताएका छन् । बुधबारको प्रदेशसभाको बैठकमा सरकारको विनियोजित बजेटमाथि संसदमा उठेका प्रश्नको जवाफ दिँदै सो कुरा बताएका हुन् ।
बागमती प्रदेश सरकारले पहिलो पटक ढलेका काठ संकलन गरी प्रयोगमा ल्याउने र दोस्रो चरणमा खडा अवस्थामा सुकेका रुखहरूको व्यवस्थापन गर्ने नीति लिएको उनको भनाई छ । उपयुक्त विधिबाट संकलित काठहरूलाई फर्निचर उद्योगहरुमा बिक्री गरी राजस्व संकलन गर्ने र काठ तथा फर्निचर उद्योगहरुमा कार्यरत कर्मचारीहरुलाई तालिम प्रदान गर्ने सरकारको योजना रहेको उनले बताए ।
दिगो वन विकासको नीति अनुसार वन संरक्षण कार्य संचालन गर्ने, वन पाठशाला संचालनको योजना सरकारले ल्याएको उनले बताए । उनले वनलाई उत्पादन तथा कृषि, पर्यटनसँग जोडेर आत्मनिर्भर हुने सरकारको तयारी रहेको बताए ।
