
धादिङ । बुधबार पनि बञ्चरेडाँडाका स्थानीयले फोहोर फाल्न अवरोध गरेपछि फोहोर नफाली टिपरहरू काठमाडौं तर्फ नै फर्किए । स्थानीय र प्रहरी बीच झडप भएपछि करिब डेढ सय टिपर फोहोर विसर्जन नगरी काठमाडौं फर्किएका हुन् ।
सोमबार काठमाडौं महानगर, सहरी विकास मन्त्रालय र काठमाडौं, धादिङ र नुवाकोटका जनप्रतिनिधिबीच सहमतिपश्चात् मंगलबारदेखि फोहोर उठाउने भनिएको थियो । उक्त सहमितसँगै काठमाडौंको फोहोर बञ्चरेडाँडामा लगिएको थियो ।
तर, स्थानीयले बुधबार अवरोध गरेपछि प्रहरी नै त्यहाँ पुगेर फोहोर व्यवस्थापन गर्न अघि खटिएको थियो । तर, स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । त्यसपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो ।
काठमाडौं महानगरपालिकाका ल्यान्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठका अनुसार प्रहरीको उच्च सुरक्षाबीच लगिएको फोहोर बोकेको गाडी स्थानीय वासिन्दाको अवरोधपछि फिर्ता भएको हो ।
केही गाडीले ल्याण्डफिल साइटमा फोहोर खसाले पनि स्थानीय वासिन्दाले गाडीमा ढुंगामुढा गर्न थालेपछि धेरैजसो गाडी फोहोरसहित फिर्ता गरिएको हो ।
स्थानीय वासिन्दाले ढुंगा मुढा गर्दा केही प्रहरी घाइते भएका छन् । प्रहरीले सुरक्षा दिन नसकेपछि फोहोर बोकेका सवारीलाई काठमाडौं नै फर्काइएको श्रेष्ठले बताए । प्रहरीले तनाव भएपछि स्थिति नियन्त्रणमा लिन ३ राउण्ड हवाइ फायर गरेको स्थानीयबासीले बताएका छन् ।
