त्रिपुरासुन्दरी कार्यपालिकाको चुनाव नजिकियो, कांग्रेस र माओवादी नमिल्दा एमाले निर्णायक

Avatar photo
सन्जु श्रेष्ठ
सोमवार, जेष्ठ १६, २०७९

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यपालिकाको चुनावमा गठबन्धनका दलहरु नमिल्दा एमाले निर्णयक देखिएको छ । एमालेले कांग्रेस वा माओवादी जसलाई सहयोग गर्छ, उसैले कार्यपालिकामा बहुमत प्राप्त गर्ने देखिएको छ । स्थानीय तहको निर्वाचनका गठबन्धनबाट कांग्रेसका राजु उप्रेती अध्यक्षमा र उपाध्यक्षमा माओवादीका देवराज धरेल विजयी भएका थिए तर कार्यपालिकाको निर्वाचनमा यी दुई पार्टी नमिल्दा एमाले निर्णायक शक्तिका रुपमा देखिएको हो ।

दलित वा अल्पसङ्ख्यकबाट दुई जना र महिला ४ जना गरी ६ जना सदस्यका लागि हुने निर्वाचनमा १४ भोट रहेको माओवादीले ४ सदस्य माग्दै कांग्रेसलाई २ सदस्य दिने प्रस्ताव गरेपछि १३ भोट भएको कांग्रेसले उल्टै माओवादीलाई २ सदस्य दिएर ४ सदस्य आफु लिने जनाएको थियो । यी दुईको बेमेल भए सँगै १० भोट भएको एमाले निर्णायक बनेको छ ।

आज भएको उम्मेदवारी मनोनयनमा माओवादीबाट ६ जना नै उम्मेदवारी दिएका छन् भने कांग्रेसबाट ५ जना र एमालेबाट ३ जनाले उम्मेदवारी दिएका छन् । १७ गते उम्मेदवारी फिर्ताको समय, १८ गते चिन्ह प्रदान र १९ गते मतदानको कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत इन्द्र बहादुर खतिवडाले बताए ।

एमालेलाई रिझाउन लागेका त्रिपुरासुन्दरीका कांग्रेस र माओवादीका नेताहरु गठबन्धन जोगाउन अन्तिम सम्म वार्ता जारी राख्ने हामीलाई बताए । गठबन्धनको जिल्ला कार्यदलले कांग्रेसले यतिलिने माओवादीले यति लिने भनेर निर्णय आयो भने हामी मान्न तयार छौं जिल्लाबाट निर्णय नआउँदा गठबन्धन तोडिने संकेत देखिएको उनीहरु बताउँछन् । यता आजै बसेको गठबन्धनको बैठकले कार्यपालिका सदसयको निर्वाचनमा पनि गठबन्धन नै गरेर जानी सहमति गरेका छन् ।