बागमती प्रदेशसभाको बैठक प्रि बजेट पेश भएर स्थगित

Avatar photo
Dhadingpost
जेष्ठ १३, २०७९

हेटौंडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले आगामी आर्थिक वर्षको लागि प्रि बजेट पेश गरेलगत्तै सभामुख सानुकुमार श्रेष्ठले आजको प्रदेश सभाको बैठक स्थगित गरेका छन् । सभामुख श्रेष्ठले अर्को बैठक भोलि विहान ११ बजेको लागि आह्वानसमेत गरेका छन् । भोलि बस्ने बैठकमा प्रि बजेटमाथि छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ । आजै बसेको प्रदेशसभाको पहिलो बैठकमा ५ वटा अध्यादेश पनि पेश भएको थियो ।

सरकार संचालनका क्रममा अत्यावश्यक ऐनहरुलाई अध्यादेशमार्फत् ल्याएका कारण सदनमा पेश गरिएको हो । प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद खनालले विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश र स्वास्थ्यमन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश सभामा पेश गरेका हुन् ।

त्यसैगरी, युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले प्रदेश युवा परिषद् ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश पेश गरे । त्यस्तै प्रदेश निजामती सेवा अध्यादेश २०७८ र स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०७८ संसदमा पेश गरिएको छ । सदनमा पेश भएका अध्यादेशशरु सदनबाट पास गर्नुपर्ने व्यवस्था रहेको छ । आजै बसेको दोस्रो बैठकमा अर्थमन्त्री शालिकराम जम्कट्ेलले आगामी आर्थिक वर्षको प्रि बजेट समेत पेश गरेका थिए ।