
काठमाडौं । सरकराले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ कर घटाउन लागेको छ । मन्त्रालय स्रोतका अनुसार बजेटमा १० रुपैयाँ कर घटेर आउने छ । कुन कुन शीर्षकमा कर घटाउने भन्ने निर्णय भने हुन बाँकी छ । कर घटाउने प्रस्ताव भने मन्त्रिपरिषदमा आपूर्ति मन्त्रालयले लगेको हो ।
आपूर्ति मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति दिइसकेको छ । भन्सार र पूर्वाधार कर ५-५ रुपैयाँ घटाउने विषय अघि बढेको छ । स्थानीय निकायको निर्वाचन पछि मात्रै सरकारले दुई पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । सरकारले अहिले पेट्रोल प्रतिलिटरमा भन्सार शुल्क २५ रुपैयाँ २३ पैसा र पूर्वाधार शुल्कबापत थप १० रुपैयाँ भन्सार बिन्दुमै उठाउने गरेको छ । यस्तै, डिजेलमा १२ रुपैयाँ २ पैसा भन्सार शुल्क र पूर्वाधर बापत १० रुपैयाँ लिने गरेको छ ।
आर्थिक वर्ष २०७६/७७ मा पेट्रोलियम पदार्थको मूल्य ओरालो लागेको बेला तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले डिजेल र पेट्रोलमा १५ रुपैयाँ पूर्वाधार कर वृद्धि गर्ने निर्णय गरेका थिए । तत्कालिन समय गरिएको उक्त निर्णयले अहिले उपभोक्ता समस्यामा छन् ।
