
धादिङ । धादिङको सिद्धलेक गाउँपालिका ५ र त्रिपुरासुन्दरी गाउँपालिका १ मा मंगलबार साँझ भएको हिंसात्मक घटनाको नेकपा एमाले धादिङले भत्सर्ना गर्दै विज्ञप्ती जारी गरेको छ ।
एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीले एक विज्ञप्ती जारी गर्दै बैशाख २७ गते सिद्धलेक गाउँपालिकामा र त्रिपुरासुन्दरी गाउँपालिकामा गठवन्धन घटकको उच्छृङखल समूहले भौतिक आक्रमण गर्दा आफ्ना कार्यकर्ताहरु घाईते भएको जनाएका छन् ।
विज्ञप्तीमा भनिएको छ, परमादेशी गठनबन्धको उच्छृङखल समुहको आक्रमणबाट सिद्धलेक गाउँपालिका वडा न ५ पोखरी सिरानधारामा युवा संघ नेपाल जिल्ला कमिटी धादिङका सदस्य राजेश श्रेष्ठ र शिव श्रेष्ठ लगायतका कार्यकर्ताहरु गम्भिर घाइते भने त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ डाँडागाउँमा घरदैलो अभियानका क्रममा त्रिपुरासुन्दरी १ का नेपाली काँग्रेसका उम्मेदवार साधुराम भनिने भिमप्रसाद भट्टको नेत्तृत्वमा भएको आक्रमणकारीको जत्थाले वडा नम्बर १ का २५ बर्षका हरी श्रेष्ठ, २६ बर्षका रामशरण श्रेष्ठ, ३५ बर्षका लेकबहादुर विक गम्भिर घाइते छन् भने अन्य १० जना कार्यकर्ता घाइते छन् । यसैगरि त्रिपुरासुन्दरी ७ का शिशिर दनै सख्त घाइते भएको उल्लेख गरिएको छ ।
शान्तिपूर्ण रुपमा निर्वाचनमा भाग लिन पाउने नागरिकको अधिकार सुनिश्चित गर्न नेकपा एमाले सम्वन्धित पक्षसंग जोडदार माग गर्दछ । यस्ता आपराधिक क्रियाकलाप बन्द गर्न र अपराधिहरुलाई तत्काल नियत्रणमा लिइ कानुनी कारवाही गर्न समेत विज्ञप्ती मार्फत नेकपा एमाले धादिङ माग गरेको छ ।

