
काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तहको चुनावको सुरक्षामा खटिएका ४ म्यादी प्रहरीको मृत्यु भएको छ । दुई जनाको लडेर मृत्यु भएको हो। एक जना मृत भेटिएको र अर्काले भने आत्महत्या गरेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक विष्णुकुमार केसीले जानकारी दिए ।
यही वैशाख ३ गते घरबाट कार्यक्षेत्रमा फर्किने क्रममा नुवाकोटमा भीरबाट लडेर बेलकोटगढी नगरपालिका १२ सतारेका २६ वर्षीय योगेन्द्र न्यौपानेको मृत्यु भएको हो । यस्तै वैशाख ८ गते सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ६ मा खटिएका ४० वर्षीय दुर्गासिंह बस्नेतको भीरबाट लडेर मृत्यु भएको हो । सोही नगरपालिका ७ स्थित मेलचौरमा प्रशिक्षणमा सहभागी हुने क्रममा चौतारा–नवलपुर सडक खण्डको डिलबाट खसेर मृत्यु भएको हो ।
हुम्ला सर्केगाड गाउँपालिका–६ घर भएका अन्दाजी ४५ वर्षीय जसबहादुर रोकाया वैशाख १५ गते सिमकोटको माथिल्लो बजारमा मृत भेटिएका हुन् । यस्तै, सिन्धुपाल्चोककी एक महिलाले विष खाएर आत्महत्या गरेकी हुन् ।





