बाघको आक्रमणबाट एक जनाको मृत्यु

Avatar photo
Dhadingpost
बैशाख १८, २०७९

चितवन । चितवनको खैरहनीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । कुमरोज सामुदायिक वनमा आज विहान ८ बजे घाँस काट्न गएका खैरहनी नगरपालिका–१३ बैरियाका ६५ वर्षीय नारायण दाहालको बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बाघले आक्रमण गरेको सूचना आएलगत्तै प्रहरी चौकी कुमरोज, इलाका प्रहरी कार्यालय खैरहनी, राष्ट्रिय निकुञ्ज तथा नेपाली सेनासमेतको टोलीले हात्तीसहित दाहालको खोजी गर्दा आक्रमण गरेको स्थलभन्दा एक किलोमिटर टाढा उनको शव भेटिएको थियो ।

यसअघि यही वैशाख १६ गते चितवनमै बाघको आक्रमणबाट एकजना माहुतेको पनि मृत्यु भएको थियो । १६ गते करिब साढे ५ बजे चितवनको भरतपुर महानगरपालिका–२३ स्थित चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत कसरा हात्तीसार केन्द्रमा कार्यरत कर्मचारी माहुते बाराको कोल्बी नगरपालिका–१ घर भएका करिब २२ वर्षीय रमेश चौधरी थारुको बाघको आक्रमणबाट मृत्यु भएको हो । फाईल तस्वीर