टिकट पाइन !!

Avatar photo
Dhadingpost
सोमवार, बैशाख १२, २०७९

मैले टिकट पाइन!!
सखारै उठेर नेताको दरबार धाइन
जनताको गीत गाएँ
नेताको भजन गाइन
त्यसै मैले टिकट पाइन ।

जन प्रतिनिधिहरूलाई खबरदारी गरेँ
जनताको काम गरेँ
आफ्नै कमाइले पार्टीलाई लेबी तिरेँ
कमिसन खुवाइन खाइन
त्यसैले टिकट पाइन ।

निष्ठाको राजनीति गरेँ
सिद्धान्तलाई शीरमा राखेँ
आदर्शको च्यादर ओढेँ
नीतिको पछि लागँ
नेताको पछि लागिन
त्यसैले मैले टिकट पाइन ।

पराक्रम गर्ने अठोटका साथ
अहोरात्र पार्टी निर्माणमा लागेँ
संगठनमा समाहित भएँ
पार्टीको दस्तावेज बोकेँ
नेताको झोला बोकिन
हो हजुर अघिल्लो चुनावमा
साच्चै मैले टिकट पाइन ।

बार बर्षमा खोलो फर्कन्छ भन्छन्
तर सत्य कुरा खोला कहिल्यै फर्कदैन
आफ्नै गतिमा बग्छ
कङ्क्रिटको ब्यारेज त भत्काउँछ
भने तिम्रो स्याउलाको बाँधले के छेक्छ?
मैलै नदीको धार फेरेको हैन
तिमी गतिहीन भएर किनारा लागेका हौ
सम्म ठाउँपाएर ताल परेका हौ ।

तिमीले तालमा पानी धैरै देख्यौ होला
तर स्थीर ताल भन्दा गतिशील नदीमा उर्जा हुन्छ
स्थीर ताल त घामले सुक्न सुक्छ,
नदीको भंगालोले पुरिन सक्छ
तर नदीको धार सानै भए पनि
उसँग चट्टान खियाउनने दम हुन्छ ।
केशव दुवाडीको फेसबुकबाट