`ए बतास´

Avatar photo
Dhadingpost
शनिबार, बैशाख १०, २०७९

ए बतास ! धेरै साउती गरेर नबसेस्-
तिमीले त सारा मरुभूमि एकै सासमा नाघ्नु छ
विराट ठिङ्ग पहाडमा ठोकिँदै-
आफ्ना वेदनालाई लुकाउनु छ
वरिपरि हुनेछु म त सधैं तिमीले देख्न पाउदैनौ
सामीप्यले घेर्नेछु म त सधैं तिमीले छेक्न पाउदैनौ
कहिले भूत र भविस्यको दुई किनारमा
कहिले आफ्नै अस्तित्व जोगाउने आशमा
जबसम्म तिम्रो उपस्थिति व्यर्थ लाग्दैन
जबसम्म तिम्रो रुप भयानक हुरी बन्दैन
उदाङ्गो पार्नु पापले भरिएका धुरीहरु
बचाइ राख्नु धर्मले जलेका खाँबोहरु
नछेकोस् मिहिनेतले कोरेका साना गोरेटोहरु
ननिभोस् दियो आमाको बलेँसीमा बलेका रहरहरु
छरेर पुष्परेणुहरु सपनाको बगानमा
भरेर पौरख देवले चुमेका हातमा
फर्काइ देऊ परदेशका सपूतलाई
बोलाइ देऊ विकट माइतीका चेलीलाई
कुर्दै छन् बा पिढीमा उनैलाई नै हेरी हेरी
भरिदेऊ आमाको काख लालाबालाले फेरि फेरि
ए बतास नचल्नु अब बेस्सरी…।।।
-मनिष प्रजा