जटिल बन्दै पशुमा बाँझोपन

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख ८, २०७९

काठमाडौं । पशुमा बाँझोपनको समस्या जटिल बन्दै गएको छ । देशव्यापी रूपमा २० प्रतिशत पशुमा बाँझोपन रहेको छ । प्रत्येक सय भैँसी र गाईमध्ये २० वटामा बाँझोपनको समस्या पाइएको भन्दै यसबाट बर्सेनि कम्तीमा एक अर्ब रुपियाँभन्दा बढीको क्षति भइरहेको छ ।

नेपालमा ७३ लाख गाई र ५१ लाख भैँसीको सङ्ख्या छ तर बाँझोपनको समस्या देखिँदा किसानको गोठ नै रित्तो हुने अवस्था उत्पन्न भएको छ । पशु चिकित्सकहरूका अनुसार पेटभर खान, सोतरमा सुत्न र नियमित रूपमा नाम्ले तथा जुकाको औषधि नपाउँदा पशुमा बाँझोपनको समस्या बढेको हो । पशुविज्ञ डा. लोकनाथ पौडेलले किसानले दुःखकष्ट सहेर हुर्काएका पशुमा बाँझोपनको समस्या देखिँदा त्यसले समग्र अर्थतन्त्रलाई असर पार्ने बताउँदै भन्नुभयो, “यसले दूध उत्पादनमा समेत असर पारिरहेको छ ।”

“दूध उत्पादन गर्ने भैँसी मासुका लागि प्रयोग गर्दा किसानले लाखौँ रुपियाँ नोक्सानी बेहोर्नुपर्छ,” पशुविज्ञ डा. पौडेलले भन्नुभयो, “यसको रोकथामका लागि कृषक र सरकारबीच समन्वय आवश्यक छ । खाना कसरी खुवाउने, गोठको सुधार कसरी गर्ने भन्नेबारेमा कृषकका लागि समुदायस्तरमै पुगेर ज्ञान दिनुपर्छ ।

” पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले पोषणयुक्त आहारमा ध्यान पु-याउन सके पशुमा हुने बाँझोपनको समस्या निराकरण हुने बताउनुभयो । सङ्घीय, प्रदेश र स्थानीय तहसँग समन्वय गरेर बाँझोपन घटाउने कार्यक्रम सञ्चालन भइरहेका छन् । “पशुलाई टन्न खुवाएर मात्र हुँदैन; शरीरमा आवश्यक पर्ने प्रोटिन, चिल्लो पदार्थ, खनिज पदार्थ, भिटामिन, कार्बाेहाइड्रेट मिलाएर खुवाउनुपर्छ,” उहाँले थप्नुभयो, “खाना खान नपाउने र समयमै नाम्ले तथा जुकाको औषधि खुवाउन नसक्दा बाँझोपनको समस्या बढिरहेको छ ।”

पशु प्राविधिक मणिप्रसाद सापकोटाले सन्तुलित खाना र औषधि खुवाउन सके बाँझोपनको समस्या कम हुने बताउँदै पशुमा गर्भधारण नहुने समस्या मात्र नभएर पटक–पटक राँगो र गोरु खोजिरहने, गर्भ तुहिने, ब्याउन नसक्ने जस्ता समस्या पछिल्लो समयमा बढिरहेको जानकारी दिनुभयो । नेपालमा अधिकांश पशुका गोठ राम्रा नभएको र कृषकले सरसफाइमा ध्यान नदिँदासमेत पशुमा सङ्क्रामक रोग फैलँदै गएको उहाँले बताउनुभयो । नेपालमा बर्सेनि १३ अर्ब रुपियाँ बराबरको भैँसी आयात हुने गरेको छ । गोरखापत्रबाट