
काठमाडौं । आज चैत शुक्ल अष्टमी, अर्थात चैते दशैं । दशैंको अवसरमा आज देवीको पूजा उपासना गर्दै चैते दशैं मनाईंदै छ ।
असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा लिइने दशैं हिन्दुधर्मावलम्बीहरुले वर्षमा दुइपटक मनाउने गर्दछन् । असोजमा मनाईंने दशैंलाई बडादशैको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाईंने दशैंलाई चैते दशैं ।
आजकै दिन मर्यादा पुरूषोत्तम प्रभू श्री रामचन्द्र आफ्नो १४ वर्षे वनवास सकाएर अयोध्या फिर्नुभएको मानिन्छ, आफ्नी श्रीमती सीताको अस्मिता रक्षार्थ अनि पापी रावणको दुस्साहस र असुरमुखी व्यवहारबाट संसारलाई जोगाउन भगवान श्री रामले रावणको वध गर्नुभएको थियो ।
यसरी रावणको वध गर्नकालागि देवी दुर्गाले रामलाई मद्धत गर्नुभएको थियो, आज राम अनि दुर्गा लगायत अन्य धेरै देवीदेवताको पूजा गरिन्छ । यी सम्पूर्ण कुराहरु वहाँको १४ वर्षे वनवास भित्रै भएको थियो र आज अर्थात चैते दशैंका दिन वहाँको सकुशल आगमन भएकोमा अयोध्यावासी लगायत सबैले असत्यमाथी सत्यको जितको रूपमा चैते दशैं मनाएका हुन् भन्ने सामाजिक मान्यता रहेका छन् ।
मुख्य दशैंमा झै चैते दशैंमा पनि दुर्गा पुजा गरी मिष्ठान्न भोजन चढाइन्छ । देवी मन्दिरहरूमा देवी भागवत पाठ पारायण तथा कालिका पुराणका देविस्त्रोतहरु पाठ गरिन्छ । घरमा उपलब्ध खाद्यान्न परिकारहरूलाई बनाई तुल्याई खाई रमाइलो गरी चैते दशैं मनाइन्छ । आज अशोकको फूल खाने गरिन्छ । फुल खादा रोगब्याधी नष्ट हुने आम विश्वास छ ।
छोरी चेली लगायत दिदि वहिनी अनि कर कुटुम्भहरूलाई बोलाएर खुवाउने चलन रहेको छ । माशांहारीरुले माछा मासु खाने चलन छ र यसकालागि जनावरहरु वली दिईन्छ भने शाहाकारीहरूले भने घिरौला, भाण्टा , कुभिन्डो या अन्य फलफूललाई खुट्टाको टेको लगाएर वली दिने चलन छ ।
