
जनकपुरधाम । सर्लाहीमा सेप्टिक ट्यांकीभित्र एक बालकको शव फेला परेको छ । पछिल्लो ५ दिनयता हराइरहेका मलंगवा नगरपालिका–१२ गम्हरियाका १० बर्षीय आकाश ठाकुरको शव सेप्टिक ट्यांकीभित्र फेला परेको हो ।
बिहीबार बिहान छिमेकी जगदिश ठाकुरको घरमै टाँसिएर रहेको शौचालयको सेप्टिक ट्यांकीभित्र बालकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधव प्रसाद बूढाथोकीले जानकारी दिए ।
बालकको हत्या गरी शव बोराभित्र हालेर सेप्टिक ट्यांकीमा फालिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । २० चैतमा गाउँमै आयोजना गरिएको भोज खान जाँदा हराएका आकाश राति अबेरसम्म घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । खोजी गर्दै जाँदा प्रहरीले बालकको शव फेला पारेको हो ।
