आयोगको ६० बुँदे निर्देशन, चुनाव प्रचार प्रसारमा जर्सी, क्याप लगाउन नपाईने

Avatar photo
Dhadingpost
चैत्र २३, २०७८

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सहभागी हुने राजनीतिक दलहरुलाई ६० बुँदे निर्देशन जारी गरेको छ । उक्त ६० बुँदे अनुसार राजनीतिक दलले बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्रै चुनाव प्रचार प्रसार गर्न पाउने भएको छ ।

चुनाव प्रचार प्रसारका क्रममा दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी पा क्याप, भेष्ट टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याज, मास्क वा लकेट लगाउन वा बोक्न नपाइने निर्देशनमा उल्लेख छ ।

दलको झण्डा वा दल वा उम्मेदवारको चुनाव चिन्हको तोरण बनाइ सार्वजनिक प्रदर्शन गर्न वा गराउन पनि आयोगले रोक लगाएको छ । आयोगले खर्चको बिल भरपाई तथा बैंक वा वित्तीय संस्थामा रहेको खाताको विवरण पेश गर्न आदेश दिएमा सक्कल बिल भरपाई तथा बैंक वा वित्तीय संस्थाको खाताको विवरण पेश गर्नुपर्ने भएको छ ।

राजनीतिक दल वा उम्मेदवारले अनुमति लिएको सवारी साधान प्रयोग गरी मतदाताहरु ओसारपसार गर्न वा सम्बन्धित स्थान तोकी प्रयोग गर्ने गरी अनुमति लिएको सवारी साधन अन्य स्थानमा प्रयोग गर्न नहुने, राजनीतिक दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवारी साधन अन्य राजनीतिक दल वा उम्मेदवारलाई प्रयोग गर्न दिन वा अन्य उम्मेदवारले प्रयोग गर्न वा गराउन नहुने आयोगले जनाएको छ ।