
काठमाडौं । प्रहरी प्रधान कार्यालयका अनुसार मंगलबारदेखि म्यादी प्रहरी छनोट प्रक्रिया सुरु हुनेछ। करिब चार दिनमा छनोट प्रक्रिया सकिनेछ । छनोटमा परेकाहरू स्वतः म्यादी प्रहरी हुनेछन् । उनीहरूलाई चैत २८ गतेदेखि तालिम दिइनेछ भने सोही दिनदेखि नियुक्ति प्रदान गरिनेछ । उक्त तालिम १० दिनको हुनेछ। सामान्य तथा आधारभूत सुरक्षा तालिम म्यादी प्रहरीलाई दिइनेछ । तालिम नजिकको प्रहरी कार्यालयबाट दिइनेछ ।
म्यादी प्रहरीको कार्यअवधि तालिम सुरु भएको दिनदेखि ४० दिनसम्मको हुनेछ । त्यही दिनदेखि नै उनीहरूलाई तलब–सुविधा दिइनेछ । तालिम सकिएलगत्तै वैशाख ९ गते बिहानदेखि म्यादी प्रहरीलाई फिल्डमा खटाइनेछ । छनोट गरेकै प्रहरी कार्यालयले म्यादी प्रहरीको कार्यक्षेत्र तोक्ने नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिए । उनका अनुसार कुन ठाउँमा कति म्यादी प्रहरी राख्ने भन्ने निर्णय निर्वाचन आयोगले मतदान केन्द्रको निधो गरेपछि मात्रै निर्क्योल हुनेछ ।
निर्वाचनमा अधिकांश सुरक्षाको जिम्मा नेपाल प्रहरीकै रहनेछ । त्यस्तै नेपाली सेना र सशस्त्र प्रहरी पनि निर्वाचनको सुरक्षामा खटिनेछ । करिब ७० हजार हाराहारी नेपाली सेना, ६२ हजार नेपाल प्रहरी, २१ हजार सशस्त्र प्रहरी र एक लाख म्यादी प्रहरी गरी करिब साढे दुई लाख सुरक्षाकर्मी निर्वाचनको सुरक्षामा खटिनेछन् ।
प्रहरीले एक मतदान केन्द्रबराबर तीनजना प्रहरी र आठजनासम्म म्यादी प्रहरी खटाउनेछ । तर, सुरक्षा चुनौती र अति संवेदनशील क्षेत्रमा सुरक्षा प्रबन्ध थप चुस्त पारिनेछ । ‘नेपाल प्रहरी मात्रै निर्वाचनमा खटिँदा सुरक्षा अवस्था अपुग हुन्छ, त्यसकारण म्यादी र नेपाल प्रहरी मिलाएर परिचालन गरिन्छ,’ प्रहरी प्रवक्ता केसीले भने, ‘कतिपय ठाउँमा हामीले सोचेभन्दा पनि बढी सुरक्षा चाहिन सक्छ, त्यस्तो अवस्थामा हामीले सुरक्षा तयारी पनि गरिराखेका हुन्छौँ ।’ उनका अनुसार भारतीय सीमा क्षेत्रका मतदान केन्द्रहरूमा बढी सुरक्षाकर्मी परिचालन गरिनेछ ।
