महराका स्वकीय सचिवद्वारा पार्टी परित्यागको घोषणा

Avatar photo
Dhadingpost
चैत्र ८, २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिवले पनि माओवादी पार्टी त्यागेको घोषणा गरेका छन् । माओवादी केन्द्र घोराही उपमहानगर कमिटीको अध्यक्षसमेत रहेका प्रमोद शर्माले पार्टीप्रति असन्तुष्टि जनाउँदै माओवादी त्यागेको घोषणा गरेका हुन् ।

उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘आजको मितिदेखि म नेकपा माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहने गरी आफूले प्राप्त गरेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु ।’ उनले अबदेखि एक स्वतन्त्र नागरिकको रुपमा देश र जनताको लागि सामाजिक भूमिका निर्वाह गर्ने बताएका छन् ।

सोमबार गरिएको दाङ जिल्लाको जिम्मेवारी बाँडफाँडमा असन्तुष्टि जनाउँदै उनले माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएको समाजिक संजाल फेसवुकमार्फत सार्वजनिक गरेका छन् ।

उनी माओवादी वृतमा भद्र र शालीन नेताका रूपमा परिचित छन् । उनका जेठा दाइले माओवादी युद्धमा ज्यान गुमाएका थिए । उनका सबै परिवार पूर्णकालीन माओवादी हुन् । डेरी व्यवसाय गरेर बसेकी उनकी श्रीमती सीता चौधरीलाई माओवादीले यसअघि घोराही उपमहानगरमा उपमेयरमा चुनाव लडाएका थियो । तर, उनी पराजित गरेकी थिइन् ।

माओवादी स्रोतका अनुसार शर्मा दाङ जिल्ला कमिटीको सचिवका आकांक्षी थिए । तर, माओवादीले विश्वराज आचार्यलाई सचिव बनाएपछि उनी असन्तुष्ट थिए ।