माओवादी केन्द्रले बागमतीमा ५ वटा कमाण्ड बनायो

Avatar photo
Dhadingpost
चैत्र ३, २०७८

काठमाडौं । माओवादी केन्द्रले बागमती प्रदेशमा ५ वटा कमाण्ड बनाइएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै बागमती प्रदेशमा ५ वटा सहित २८ वटा चुनावी कमाण्ड बनाएको हो ।

बागमती प्रदेशमा ५ वटा कमाण्ड बनाइएको छ । चितवन र मकवानपुरको कमाण्ड नेकपा माओवादी केन्द्र बागमती प्रदेशका सह–इन्चार्ज नारायण दहाललाई दिइएको छ । धादिङ, नुवाकोट र रसुवाको दोस्रो कमाण्ड अर्का सह–इन्चार्ज हितबहादुर तमाङले तथा सिन्धुपाल्चोक, दोलखा र काभ्रेपलाञ्चोकको तेस्रो कमाण्ड केन्द्रिय सदस्य कृष्णप्रसाद सापकोटाले गर्ने भएका छन् ।

सिन्धुली र रामेछाप जिल्लालाई चौंथो कमाण्डमा राखिएको छ । चौंथो कमाण्डको जिम्मेवारी पार्टीका अर्का सह–इन्चार्ज सुर्य सुवेदीलाई तोकिएको हो । भक्तपुर, काठमाडौं र ललितपुरलाई पाँचौं कमाण्ड बनाइएको छ । पाँचौं कमाण्डको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा छलफल भइरहेको बताईएको छ ।

दुई महिने अभियानमा कमाण्डले संगठन परिचालन टिम गठन गरी घरघरमा पार्टी सदस्य र टोलटोलमा संगठन बनाउने माओवादीले जनाएको छ । यस्तै संगठन निर्माणमा वाइसियललाई पनि परिचालनगर्ने, सबै तहका कमिटीलाई पूर्णतादिने, जेष्ठ कम्युनिष्ट मञ्च, सल्लाहाकार कमिटी र परिषदहरु गठन गर्ने, केन्द्र, प्रदेश र स्थानीय तहमा आवश्यक विभागहरु बनाउने, संगठित सदस्यलाई पार्टी कमिटीमा संगठित गर्ने र नयाँ पार्टी सदस्यता वितरण गर्नेसम्मको योजना बनाएको माओवादी केन्द्र बागमती प्रदेश कमिटीले जनाएको छ ।