काठमाडौं । क्रिप्टो करेन्सी/BTC बिट क्वाईनबाट बित्तिय कारोबार गर्ने गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
काठमाडौंको मिनभवनबाट उक्त आरोपमा पर्वत फलेबास ११ कर्नास घर भई पोखरा बस्ने राजन भट्टराई, सुनसरी ईटहरी ४ घर भई ईटहरी बस्ने बिशाल श्रेष्ठ र काठमाण्डौ ११ थापाथलीका दिपेनराज श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ व्यक्तिहरुमध्येका राजन भट्टराईले हालसम्म ९७५ जना ब्यक्तिहरुसंग १९२६ पटक कारोबार गरेको, मंसिरदेखि पुससम्म लगभग २६,००,०० । कारोबार गरेको र अन्य दुई व्यक्तिहरुले समेत कारोबार गरेको देखिन आएको प्रहरीको दावी छ । उनीहरुलाई प्रहरीले बैंक तथा बित्तिय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम कारबाहीको तयारी गरेको छ ।
नेपालमा Crypto Currency को कारोबार गर्ने गराउने कार्य कानुन बिपरित रहेको र यस्तो कार्य गर्ने गराउने सबैलाई कानून बमोजिम सजाय हुने भएकोले यस्तो कार्य नगर्न, नगराउन समेत प्रहरीले आव्हान गरेको छ ।
के हो बिटक्वाइन ?
बिटक्वाइन डिजिटल करेन्सी हो । यसलाई क्रिप्टोकरेन्सी पनि भनिन्छ । यसको कुनै रङ वा भौतिक रुवरुप हुँदैन । यसलाई मात्र प्राविधिक रुपमा कुनै कम्प्युटर तथा इन्टरनेटमा राख्न सकिन्छ । यसलाई नियन्त्रण गर्ने कुनै देश तथा संस्थान नहुने हुँदा बिटक्वाइनद्वारा केही समान खरिदबिक्री तथा पैसा आदानप्रदान गर्न बैंक जस्तो तेस्रो पक्षको आवश्यकता पर्दैन । जसले गर्दा भुक्तानी प्रणाली सजिलो तथा सस्तो पर्न जान्छ।
यसको कारोबारमा कुनै सीमा हुँदैन र यसको कारोबार इन्टरनेटबाट हुने हुँदा संसारको जुनै कुनाबाट पनि कारोबार गर्न सकिन्छ ।
कसरी काम गर्छ ?
जसरी तपाईंले पैसा राख्न बैंकमा खाता खोल्नुहुन्छ, त्यस्तै यसका लागि पनि एउटा बिटक्वाइन एकाउन्ट खोल्नुपर्दछ । जसलाई बिटक्वाइन वालेट भनिन्छ। यसमा तपाईंको एकाउन्ट नम्बर र डिजिटल सिग्नेचर हुने गर्छ ।
संसारमा जति पनि बिटक्वाइनका प्रयोगकर्ता हुन्छन्, सबैको कारोबार एउटा लेजरमा राखिएको हुन्छ। त्यसमा तपाईंको नाम र जम्मा रहेको बिटक्वाइन हुन्छ । मानौं श्याम भन्ने मान्छेले रामलाई १ बिटक्वाइन पठायो भने संसारका सबै बिटक्वाइन प्रयोगकर्ताको लेजरबाट श्यामको खाता बाट १ बिटक्वाइन घटेको र रामको खातामा १ बिटक्वाइन बढेको तुरुन्तै देख्न सकिन्छ । यसले गर्दा कुनै मान्छेले एउटै बिटक्वाइन २ जनालाई पठाउन पाउँदैन । कुनै २ व्यक्तिबीच बिटक्वाइनको कारोबार हुँदा सो कारोबार सही हो होइन, सो कारोबार गर्ने व्यक्ति आधिकारिक हो होइन भनेर जाँच्नका लागि बिटक्वाइन माइनर (अत्याधुनिक कम्प्युटर) प्रयोग गरिएको हुन्छ । यसले दुई व्यक्तिबीचको कारोबारलाई प्रमाणित गर्ने काम गर्छ। सो कारोबार प्रमाणित भएसँगै बिटक्वाइनको कारोबार सम्पन्न हुन्छ ।
कसरी कमाउने/खर्च गर्ने ?
बिटक्वाइनलाई कमाउने तथा खर्च गर्ने उपाय धेरै छन् । तपाईं आफ्नो खातामा बिटक्वाइन थप्न सक्नुहुन्छ, यसका लागि अरु बिटक्वाइन प्रयोगकर्ताबाट पैसा तथा कुनै सामानबाट साट्न सक्नुहुन्छ । कुनै सामान खरिद गर्न तपाईंले बिटक्वाइनको प्रयोग गर्न सक्नुहुन्छ ।
बिटक्वाइन कमाउने सबैभन्दा उत्तम तरिका भनेको तपाईंले आफ्नै बिटक्वाइन माइनर (अत्याधुनिक कम्प्युटर) खरिद गरेर सञ्चालन गर्नु हो । कसैले बिटक्वाइनको कारोबार गर्दैछ भने सो कारोबारलाई प्रमाणित गर्नका लागि सम्बन्धित कारोबारको एउटा जटिल गणितीय हिसाब हल गर्नुपर्ने हुन्छ । त्यो अत्याधुनिक कम्प्युटरले मात्रै क्षमता राख्दछ । त्यस्ता अत्याधुनिक कम्प्युटरले धेरै विद्युत खपत गर्ने गर्छ । तपाईंको बिटक्वाइन माइनरले कसैको बिटक्वाइन कारोबार प्रमाणित गरेबापत केही बिटक्वाइन कमाइ गर्नुहुनेछ ।
यो कानुनसम्मत कि गैरकानुनी ?
बिटक्वाइनका केही सबल पक्ष हुँदाहुँदै पनि यसका केही चुनौती पनि छन् । बिटक्वाइनको कारोबार नियन्त्रण गर्ने कुनै निकाय नहुँदा यसको प्रयोग धेरैजसो गैर कानुनी काम जस्तै: कर छली, सम्पती शुद्धीकरण, आतंकवादी तथा ह्याकिङ गतिविधि भइरहेको छ । जसले गर्दा देशको अर्थतन्त्रमा नकारात्मक असर देखिन जान्छ । त्यसैले संसारका धेरै देशमा बिटक्वाइनको कारोबार गैरकानुनी मानिन्छ भने युएस, क्यानडा, अस्ट्रेलिया, युरोपियन युनियन जस्ता देशमा भने यसको कारोबार कानुनसम्मत मानिन्छ ।
नेपालमा पनि राष्ट्र बैंकले गैरकानुनी घोषित गरेको छ । यो यस्तो व्यवसाय हो जसमा अत्यधिक जोखिम हुन्छ साथसाथै अत्यधिक मुनाफा पनि। हाल १ बिटक्वाइनको बजार मूल्य लगभग ११ हजार डलर रहेको छ । यसको मूल्य स्थिर नभई निकै तलमाथि हुने गरेको छ ।